|

चीनमा कोरोनाभाइरस (कोभिड–१९) का कारण निधन भएकाहरूको सम्झना गर्दै शनिबार राष्ट्रिय शोक कार्यक्रमको आयोजना गरिएको छ। कोरोनाभाइरसका कारण ज्यान गुमाएकाको स्मृति गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभर तीन मिनेट मौनधारण गरिएको छ।

चीनले हरेक वर्ष अप्रिल ४ लाई स्वर्गीयजनको सम्झना गर्ने परम्परागत छिङमिङ पर्वमा देशभर विभिन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको स्मरण रहँदै आएकोमा यस वर्ष वुहान लगायत देशका विभिन्न भागमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउने नागरिक, स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा रहेर काम गर्ने क्रममा ज्यान गुमाउने व्यक्तिप्रति पनि सम्मान गरिएको हो।

चीनमा कोरोना भाइरसका कारण तीन हजार ३२२ जनाकोे मृत्यु भएको छ भने ८१ हजार ६३९ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन्। मुख्यभूमि चीनमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको संख्या १९ रहेको छ भने चार जनाको मृत्यु भएको छ।  उनीहरू सबैको स्मृति दिवस शनिबार रहेको थियो।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे चीनभर सर्वसाधारणहरू उभिएर तीन मिनेट मौनधारण गरेका छन्। गन्तब्यमा रहेका यातायातका साधन कार, रेल तथा पानीजहाजले साइरन बजाएर मृतकप्रति श्रद्धा व्यक्त गरे। 

कोरोनाभाइरसका साथै अन्य विपत्तिमा ज्यान गुमाएका नागरिकको सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा चिनियाँले कतिपय स्थानमा समूहमा भेला भई राष्ट्रिय झण्डामुनि छातिमा सेतो फूल टाँसेर मृतात्माप्रति श्रद्धा पनि व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.