|

म्याग्दी : कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको दुईसाता लामो लकडाउनले ज्याला मजदुरी गर्नबाट वन्चित भएकालाई जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण सुरु गरेका छन्।

लकडाउनले मजदुरी गर्न नपाएपछि समस्यामा परेका, विपन्न र अपांगता भएकालाई राहत वितरण सुरु गरिएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका ५ झीँ र ६ पाखापानीमा शनिबार खाद्यान्न सामग्री बितरण गरिएको छ। 

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको सहयोगमा लकडाउनको कारण समस्यामा परेका बिपन्न परिवारलाइ खाद्यान्न वितरण गरिएको रघगंगा ६ का वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिए।

गाउँपालिकाको वडा नं ५ र ६ का अध्यक्ष, र पाखापानी प्रहरी चौकीको समन्वयमा ५५ बोरा चामल, ११० किलो दाल, ५५ किलो नुन र ५५ पोका तेल वितरण गरिएको अध्यक्ष शेरपुजाले जानकारी दिएका छन्।

राहत बितरण गर्दै गाउँपालीकाका अध्यक्ष भण्डारीले दैनिक मजदुरी गर्ने परिवारलाइ लकडाउनले समस्यामा पारेको हुँदा खाद्यान्न अभावको महशुस गरी व्यक्तिगत रुपमा सो सहयोग उपलब्ध गराएको बताए। यसअघि गाउँपालिकाको सबै वडामा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न भनी अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा ४ लाख उपलब्ध गराउने घोषणा गरेका थिए।

खाद्यान्न बितरण टोलीमा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु केबी भण्डारी, ओम छन्त्याल, रघगंगा ७ का वडा अध्यक्ष गमान छन्त्याल, गाउँपालिकाका जिन्सी स्टोर प्रमुख दयाराम पौडेल, पुर्व गाबिस सचीब बल बहादुर खत्री लगाएत सहभागी भएका थिए।

बेनी नगर पालिका पनि राहत बाड्दै

बेनी नगरपालिका ८ ले वडाभित्रका विभिन्न स्थानमा विपन्न, मजदुर र अशक्त गरी ६३ घरधुरीलाई प्रति परिवार चामल २५ केजी, खाने तेल २ लिटर, चिनी २ केजी नुन २ केजी, साबुन ४ पिस, दाल ३ केजी वितरण गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले बताए। उनका अनुसार वितरण गरिएकामा ६ घरपरिवारलाई आधा प्याकेज र ५७ परिवारलाई प्याकेज वितरण गरिएको बताए।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार परिवारभित्रको सदस्य संख्याको आधारमा वितरण गरिएको बताए। राहत वितरणमा वडा सदस्य हिरा पुन, हिमबहादुर भण्डारी र भिमकुमारी विकको उपस्थिति रहेको थियो।

बेनपा ७ राहत लिएर घरदैलोमै

लकडाउनका कारण राहत वितरणमा अनावश्यक भीडभाड हुने जोखिमलाई मध्यनजर गरी अध्यक्ष श्रेष्ठले मापदण्ड अनुसार संकलन गरिएको विवरण लिएर घरदैलोमै पुगेका थिए। शुक्रबार र शनिबार गरी वडाले १ सय २० जनालाई राहत वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए।

‘बसेको ठाउँमै राहत पुगेपछि उत्साहित हुनुहुन्छ। उहाँहरूलाई घरभित्रै बस्न अनुरोध समेत गरेका छौं’ श्रेष्ठले भने। बेनीबजारमा दैनिक ज्याला मजदुरी गर्नेहरू भोक भोकै बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी यसअगाडि वडामार्फत लायन्स क्लव बेनी पिस सिटीले ५० बोरा चामल हस्तान्तरण गरेको थियो। वडा अध्यक्ष श्रेष्ठसँगै सदस्य टकसरा राना र सर्मिला किसानले नगरपालिकाको सवारीसाधनमार्फत राहत वितरण गरेका थिए।

नगरपालिकाले प्रभावितले नागरिकताको फोटोकपी र तस्बीरसहित आवेदन फारम संकलन गरी वडामा गठन हुने छानविन समितिले छनोट गरेर राहतका लागि नगरपालिकाबाट अनुमोदन भएकालाई वितरण गरेको थियो।

गाउँपालिकामा समेत धमाधम राहत वितरण

जिल्लाको धवलागिरी गाउँपालिका २ बाट राहत वितरण सुरु गरेको छ। गण्डकी प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार राहत वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बताइन्। उनका अनुसार लुलाङमा सकिएलगत्तै वडा नं ७ ताकमको मच्छिम गाउँमा समेत वितरण गरिएको बताए।गाउँपालिका भित्रका सबै वडामा वितरण गरिने छ। यता मालिका गाउँपालिकाले समेत वितरण सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.