|

काठमाडौं : स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद्यार्थी संगठनहरु चुनावी रणनीति बनाउन ब्यस्त छन्। उनीहरु स्ववियू चुनावका बेला विद्यार्थीको मन जित्ने नारा र आफूले उठाउने मुद्दाका विषयबारे आन्तरिक छलफल गरिरहेका छन्। प्रमुख राजनीतक दलसम्बद्ध विद्यार्थी संगठनहरुले केन्द्रबाट नै स्ववियू चुनावको घोषणापत्रको तयारीमा गरेका छन्।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियू, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन्। जसका लागि उनीहरुले केन्द्रीय तहबाट नै स्ववियू परिचालन समिति बनाएका छन्, भने कोही त्यसको अन्तिम चरणमा पुगेका छन्।

चुनावी एजेण्डा : राष्ट्रियता र जागिर

स्ववियू चुनावमा हरेकजसो संगठनले शैक्षिक मुद्दालाई प्राथमिकता दिएका छन्। उनीहरुले शिक्षालाई निशुल्क बनाउनेदेखि वैज्ञानिक शिक्षाको कार्यान्वयनको माग अगाडि सारेका छन्। त्यस्तै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकारलाई दबाब दिने जस्ता विषय पनि चुनावी मुद्दा बनेका छन्। 

त्यस्तै यसपटकको स्ववियू चुनावमा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रियताको मुद्दालाई पनि उठाएको छ। माघ १७ गतेको अनेरास्ववियू केन्द्रीय समितिको  बैठकले सबै क्याम्पसमा राष्ट्रिय झन्डा फहराउने निर्णय नै गर्‍यो। प्रवक्ता सुदीप शर्मा भन्छन्, 'अहिले राष्ट्रियता कमजोर भएको अवस्थामा राष्ट्रियतालाई आधार बनाएर जानुपर्छ भनेर राष्ट्रिय झन्डालाई प्रयोग गरिएको हो।' अनेरास्ववियुले स्ववियु चुनावमा आर्थिक र शैक्षिक जोनका कुरालाई मुख्य जोड दिने शर्माले बताए। 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने शैक्षिक गुणस्तर सुधारसँगै लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने विषय पनि स्ववियू चुनावको एजेण्डा हुने बताउँछन्। 'शिक्षा महंगो भएर सबैले लिन सक्ने अवस्था छैन। यो व्यवहारिक पनि छैन', उनी भन्छन्, '१२ कक्षा पास गरेको र ब्याचलर सिध्याएकाले जीवन निर्वाहका लागि के गर्ने कुनै निधो गर्न सक्दैनन्।' 

नेविसंघले पाठ्यक्रम परिवर्तनका लागि दबाब दिने महामन्त्री काफ्ले बताउँछन्। उनले भने, 'वर्षौं पुरानो पाठ्यक्रम चलिरहेको छ। पाठ्यक्रममा अपडेट भएको छैन।' यसका साथै नेविसंघले त्रिविलाई शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न दबाब दिने र भौतिक सुधारका लागि पहल गर्ने उनले बताए।

अखिल (क्रान्तिकारी) ले भने माघ ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित संगठनका पूर्व नेता र हालका केन्द्रीय पदाधिकारीको बैठक बसेर सबै क्याम्पसका संगठनहरुलाई एजेन्डा र नारा सहितको सर्कुलर जारी गरेको छ।

सर्कुलरमा 'संघीय प्रदेशको आवश्यकता र विशेषता अनुरुपको संघीय शिक्षा नीतिको बहस सञ्चालन गर्ने', उल्लेख गरेको छ। 'त्रिविले जारी गरेको शैक्षिक क्यालेण्डर लागू गर्न दवाब दिने र पूर्वाधार बिनाको सेमेष्टर प्रणाली विस्तारमा रोक लगाउने' क्रान्तिकारीको योजना छ। उसले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘पार्ट–टाइम जब’ को व्यवस्थाको माग गरेर विद्यार्थीको ध्यान आफूतिर तान्ने कोशिस गरेको छ। 

अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा उम्मेदवार चयन उपसमिति गठन गरेको उल्लेख गरेको छ। स्ववियू निर्वाचन तयारीका लागि आवश्यक पर्ने विभिन्न उपसमिति पनि बनाएको छ। उसले आफ्ना सबै कमान्डरहरुलाई सम्बन्धित क्याम्पसमा पठाइसकेको बताएको छ।

साझा एजेन्डा :  संविधान कार्यान्वयन

अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा भएकाले प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनले संविधान कार्यान्वयनलाई  पनि स्ववियू चुनावको एजेण्डा बनाएका छन्। नेविसंघका महामन्त्रीले काफ्लेले नेपालले प्राप्त गरेका लोकतान्त्रिक उपलब्धीलाई जोगाउन आफ्नो संगठन लाग्ने बताए। नेविसंघले 'शिक्षाको पुनःसंरचनाको लागि संविधान कार्यान्वयन, सामाजिक रुपान्तरणको लागि नेविसंघलाई मतदान' भन्ने नारा नै तय गरेको छ। 

अनेरास्ववियुको एजेन्डामा पनि संविधान कार्यान्वयनको कुरा परेको छ। 'राष्ट्रिय एकता र समृद्धिको लागि संविधानको कार्यान्वयन' अनेरास्ववियुको मुख्य नारा छ।

अखिल (क्रान्तिकारी)ले संविधानले दिएका अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने उल्लेख गरेको छ। 'नयाँ संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीलाई लागू गर्न अभियान चलाउने' अखिल क्रान्तिकारीको सर्कुलरमा भनिएको छ। 

आउँदैछन् घोषणापत्र

अनेरास्ववियू र नेविसंघले स्ववियू निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्र जारी गर्ने भएका छन्। अनेरास्ववियूले घोषणापत्र तयार गर्न उपाध्यक्ष रश्मी आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाएको छ। संयोजक रश्मीले घोषणापत्र तयार भइसकेको र प्रेसमा छापिने तयारी भएको बताए। 

त्यस्तै नेविसंघको भने केन्द्रीय समिति नै घोषणापत्र बनाउनमा जुटेको छ। महामन्त्री काफ्लेका अनुसार विभिन्न क्याम्पसहरुबाट संगठनको स्थितिका बारेमा रिपोर्टिङ भइरहेकोले ती कुरा समेटिएको घोषणापत्र अबको केही दिनमै जारी हुनेछ।

अनेरास्ववियू क्रान्तिकारीले उपाध्यक्ष मदन अर्यालको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ। समितिले अबको तीन दिनमा घोषणा पत्र तयार पार्ने अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए। 'घोषणा पत्रमा शैक्षिक ऋण, विद्यार्थीलाई रोजगारी, विश्वविद्यालय स्वायत्त हुनु हुदैन, सेमेष्टर प्रणालीमा सुधार नगरी विस्तार गर्न नहुने जस्ता विषय समेटिन्छन्' उनले भने ।

अलमलमा १० संगठन

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय १३ विद्यार्थी संगठन दर्ता भएको भएका छन्। जसमध्ये ३ संगठन चुनावमा लागेका बेला साना दलसम्बद्ध १० संगठन भने कसैले चुनावमा भाग नलिने घोषणा गरेका छन् भने कुनैले भाग लिने तर आफ्ना केही माग अघि सार्दै निर्वाचनमा भने भाग लिने बताएका छन् ।

पढ्नुस् : एक दिन भए पनि स्ववियु चुनाव सार्न १० विद्यार्थी संगठनको माग

प्रमुख ३ संगठन स्ववियू निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न तामझामसाथ लागिपरेका बेला साना संगठनहरु भने अलमलमा देखिएका छन्। नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकटको अखिल (क्रान्तिकारी), संघीय विद्यार्थी युनियन, नेपाल विद्यार्थी मञ्च, तराई मधेस विद्यार्थी फ्रन्ट, समाजवादी विद्यार्थी संघ, विद्यार्थी मञ्च र नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट स्ववियु चुनावलाई लिएर अलमलमा परेका छन्।

यी मध्ये विप्लव नेतृत्वको माओवादीको विद्यार्थी संगठनले पार्टीको महाधिवेशनको मिति र स्ववियू मिति जुधेकोले भाग नलिने बताएको छ। नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठनले पनि भाग लिने वा नलिने निश्चित नभएको बताएको छ। यसबारेमा माघ २४ गते बस्ने राष्ट्रिय भेलाले निर्णय गर्ने अखिल क्रान्तिकारीका संयोजक सेवन्तराज भण्डारीले बताए। उनले क्याम्पसहरुमा फर्जी विद्यार्थी भर्ना गराएकाले त्यस विषयमा त्रिविले पुनर्विचार नगरेमा भाग नलिने दावी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.