प्रिपेडमा पनि सुरु भयो फोरजी सेवा

|

काठमाडौं : शनिबार नेपाल टेलिकमले १३ औ वार्षिक उत्सव मनायो। कम्पनीमा परिणत भएयताको १३ औं वार्षिक उत्सव भएपनि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीको सेवा सुरु भएको १०० वर्ष पुगेको छ। त्यसैले १३ औं वार्षिक उत्सवको स्तम्भमा 'सेवामा समर्पित १०० वर्ष' लेखिएको स्टिकर टाँसिएको ५।

यसै अवसरमा टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिकालाई हरियाली मार्ग निर्माणको लागि ४० लाख रुपैयाँ प्रदान गर्‍यो। दुई सय २६३ जना कर्मचारीलाई दीर्घ सेवा पदक दिइयो।

वार्षिक उत्सवको अवसरमा शुभकामना दिने सबैजसोले नेपाल टेलिकम माथि यसको सेवाको गुणस्तरबारे प्रश्न उठाए। सूचना तथा सञ्‍चार मन्त्री, मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा लेखा समितिका सभापति लगायतले गुणस्तरीय सेवा दिन नसक्दा नेपाल टेलिकमको साख बिग्रने चिन्ता व्यक्त गरे। 

सूचना तथा सञ्‍चार मन्त्री सुरेन्द्रकुमार कार्कीले विभिन्न सेवामा टेलिकमको प्रतिस्पर्धी नहुँदा पनि सेवा प्रभावकारी नभएको बताए। 'केही कुरामा नेपाल टेलिकम अगाडि गएको छ तर प्रतिस्पर्धीहरुको खुट्टा बाँधेर एक्लै दौडिएका कारण पनि उ अघि छ तर यो कहिलेसम्म सम्भव हुन्छ? मन्त्री कार्कीले भने। नागरिकले सेवा उपयोग गरेर मात्र टेलिकम धनी हुन सक्ने भएकोले सेवा गुणस्तर सुधार्न ध्यान दिन आग्रह गरे। टेलिकम सरकारी संस्था भएको कारण पनि टेलिकम अन्य दूरसञ्चार कम्पनीको तुलनामा बढी जिम्मेवारी हुने पनि मन्त्री कार्कीले बताए। 

अस्पताल र स्कुलमा समेत टेलिकमको नेटवर्कले काम नगरेको उदाहरण दिँदै मन्त्री कार्कीले टेलिकमकै कारण गलत सूचना प्रवाह भएको प्रति गम्भीर हुन समेत आग्रह गरेर। त्यस्तै स्कुल, अस्पतालको ग्राउण्डमा सित्तैमा वाइफाई सेवा पुर्‍याउन पनि उनले नेपाल टेलिकमलाई निर्देशन दिए। 

नेपाल टेलिकम संचालक समितिका अध्यक्ष समेत रहेका सञ्‍चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि टेलिकमको सेवाको गुणस्तरमा असन्तुष्टी व्यक्त गरे। 'मैले अरु कम्पनीका सिमहरु प्रयोग गरेको छैन तर बोल्दै जादा फोन नबुझिने/काटिने,नेट नचल्ने जस्ता कमजोरी टेलिकमका छन्' गुरुङले भने। काठमाडौं र पोखरामा मात्रै फोर जी सेवा सञ्चालन गरेकोमा पनि गुरुङ सन्तुष्ट थिएनन्। 'फाइभ जीको कुरा गर्ने समय आइसक्यो हामी केही सीमित ठाउँमा मात्रै फोरजी चलाइरहेका छौँ, के हाम्रा ग्राहक त्यति मात्रै हुन्?' उनले प्रश्न गरे। सचिव गुरुङले तत्काल देशैभर फोरजी सेवा सञ्चालन गर्न र त्यही प्रविधिबाट फाइभ जी एकैपटक सबैलाई दिन सक्ने गरी तयारी गर्नुपर्ने बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झाले टेलिकमले लिने शुल्क र टेलिकमको सेवा प्रति सुन्तुष्ट हुन सक्ने अवस्था नभएको बताए। उनले टेलिमकको अन्य दूरसञ्चार कम्पनीसँगको प्रतिस्पर्धी क्षमतामाथि समेत प्रश्न उठाए।  'प्रतिस्पर्धी कम्पनीले ९ मिनेटमा निर्णय लिन सक्छन् तर टेलिकमले त्यहि निर्णय लिन ९ महिना लाग्छ कसरी हुन सक्छ प्रतिस्पर्धा?' झाले प्रश्न गरे। सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले समेत गुणस्तरिय सेवा र नवीनतम प्रविधिको प्रयोगमा ध्यान दिन आग्रह गरे।

यस्ता छन् टेलिकमका योजना

वार्षिक उत्सवका अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कमनी राजभण्डारीले टेलिकमले अघि बढाएका केही कामबारे जानकारी गराइन्। शनिबारदेखि टेलिकमले काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई पनि फोर जी सेवा सञ्चालन गरेको छ। यसअघि गत महिना पोस्टपेड ग्राहकलाई मात्र यो सुविधा उपलब्ध थियो। प्रबन्ध निर्देशक राजभण्डारीले देशैभर फोरजी सेवा दिने गरी काम सुरु गर्ने पनि जानकारी दिइन्। 

टेलिकमले पहाडी जिल्लाहरुमा एक्सचेन्ज बिटीएस रेप्टरहरुमा अप्टिकल फाइवर मार्फत ट्रान्समिसन विस्तार गर्न १०० किमि एडिएसएस फाइवर आयोजना कार्य अघि बढाएको छ। अन्तर्राष्ट्रिय व्याण्डविथको लागि चीनको टेलिकमसँग गरिएको सम्झौता अनुसार रसुवागढी नाकाबाट अप्टिकल फाइवर मार्फत सेवा सुचारु गर्ने कार्य सुरु गरेको पनि वार्षिक उत्सवको अवसरमा जानकारी दिइयो। 

त्यस्तै मोबाइलबाट एम कमर्श, इ लर्निङ जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने पनि टेलिकमको योजना छ। कम्पनीमा रणनीतिक साझेदार भित्र्याउनको लागि आगामी एक वर्ष भित्र बोलपत्र आह्वान गर्ने राजभण्डारीले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.