साना नाकामा पनि सशस्त्र प्रहरीको निगरानी

|

दाङ : कैलालीका कोरोना संक्रमित युवासंगै आउने दाङका १० जना युवा सम्पर्कमा आएका छन्। लकडाउनको समयमा गौरीफन्टा नाका हुँदै दाङ आउने युवाहरु सम्पर्कमा आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

दाङका दशजना युवा पनि कैलालीका कोरोना संक्रमित युवासंगै भित्रिएको भन्ने समाचार आएपछि सम्बन्धित पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन्। सम्पर्कमा आएका उनिहरुलाई दाङको बेलझुण्डीको कोरोना विषेश अस्पतालमा लैजाने तयारी भइरहेको उनले बताए।

गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका ४ का ६ जना, लमही नगरपालिका ५ का २ जना र राजपुर गाउँपालिका ६ का २ जना रहेका छन् । त्यसैगरी दाङका सीमावर्ती क्षेत्रका थप ४ नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन्। सीमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्त्र प्रहरी बल खटाइएको प्रमुख जिल्ला रिजालले बताए।

लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ नाका अनिनिश्चितकालका लागि बन्द गरिएका थिए। स-साना नाकाहुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै ती नाकामा सशस्त्र प्रहरी खटाइएको उनले बताए।

छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसँगै सशस्त्र प्रहरी बल खटिएका हुन्। त्यसैगरी दाङमा आइसोलेसनबाट सबैजनाको डिस्चार्ज गरिएको छ। कोरोना भाइरसको लक्षण देखिएकालाई आइसोलेसनमा राखिएको थियो। ति मध्ये सबैको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

शनिबारसम्म दाङको बेलझुण्डी कोरोना बिशेष अस्पतालमा ४ जना थिए। ति मध्ये ३ जनाको शनिबारनै रिपोर्ट आएको थियो। एकजनाको आउन बाँकी थियो। ति एकजनाको पनि आइतबार रिपोर्ट आएपछि सबैलाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले बताए।

 दाङमा २८ जना आइसोलेसनमा भर्ना भएका मध्ये २० जनाको रिपोर्ट नेगिटिभ आएको थियो। अन्य सातजनालाई लक्षण नै नदेखिएपछि डिस्चार्ज गरिएको हो, भने अर्का एक जनाको अन्य समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो। 

दाङमा कोरोना बिशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनको व्यबस्था गरिएको छ। यसैबीच दाङमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्‍वारेन्टाइनमा २० जना रहेका छन्। संक्रमित देशबाट आएकाहरुलाई सम्बन्धित स्थानीय तहले क्‍वारेन्टाइनमा राख्दै आएका छन्। सोही अनुसार आईतबार मात्रै दाङको राजपुर गाउँपालिकामा ४ जनालाई क्वारेन्टाईनमा राखिएको छ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ११ जना, बबई गाउँपालिकामा २ जना, घोराही उपमहानगरपालिकामा ३ जनालाई राखिएको छ। उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राख्ने र कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गर्ने गरिन्छ। त्यही अनुसार दाङको बबई गाउँपालिकाले शनिबार १३ जनालाई डिस्चार्ज गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.