पीडित भन्छन् : राहतबारे प्रश्‍न गर्दा कुटाई खाएँ

|

सुशील सुवेदी 

स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ। लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने परिवारलाई धौधौ परेको छ। 

यिनै विपन्‍नका नाममा राहत वितरण अभियान नै चलेको छ देशभरी। स्याङ्जामा राहत वितरण गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले उल्टै सर्वसाधारणलाई कुटेर फर्किएका छन्। 

चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरी सँगै गएका समूहले वडा नं. ६ का सुमन बिकलाई कुटपिट गरेका हुन्। 

वडा नं ६ को मोहमी गाउँमा गरिएको राहत वितरण प्रकृयामा चित्त नबुझेपछि बिकले आपत्ति जनाएका थिए। उनले स्थानीय सरकारको रहात वितरण गर्ने शैलीमाथि प्रश्न गरेका थिए। 

‘मैले नराम्रो कुरा गरेको थिइनँ। २५ किलोका एक बोरा चामलले गाउँको ५ परिवारलाई कसरी पुग्छ भनेको थिएँ’, उनले भने, ‘मेयर सा’बसँग आएका युवाहरुले कुटे।’ कुटपिटबाट उनको ओठमा चोट लागेको छ । 

राहत वितरणमा अवरोध गर्न आएपछि सम्झाइ बुझाइ मात्र गरिएको दाबी मेयर गिरीले गरेका छन्। उनले कसैलाई हात नहालेका बताए। 

‘विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उनले भने, ‘हात चाहिँ हालेका छैनन्।’ उनले त्यहाँ कुटपिटको घटना नभएको दाबी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.