|

डडेल्धुरा : सुदूरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ।

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्ण रूपमा रोक लगाएको छ। आइतबार एक अपिल जारी गर्दै नगरप्रमुख भीमबहादुर साउदले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाएको जानकारी गराएका हुन्। 

नगरपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिने नगरप्रमुख साउदले जानकारी दिए। नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नगरपालिकाभित्रका एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँमा जान रोक लगाएको हो। 

‘नेपाल सरकारले देशभर लकडाउन गरेको समयमा यस परशुराम नगरपालिका र वडा कार्यालयहरूबाट थप बनाउन लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को वस्ती र एक घरबाट अर्को घरमा समेत आवतजावत गर्न पूर्ण निषेध गरेका छौं,’ नगरप्रमुख साउदले भने,‘कहीँ कतै नियमको उल्लंघन गरेको पाइएको कडाभन्दा कडा कारबाही गरिनेछ।’

शनिबार सुदूरपश्चिममा एकैसाथ तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएपछि गाँउपालिकाले सजकता अपनाएको नगरप्रमुख साउदले बताए। शनिबार कैलालीमा एक महिला र एक पुरुष गरी दुई जना र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

उनीहरूमध्ये दुई जना भारतबाट आएका व्यक्ति हुन् भने एक जना सातौं संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजू हुन्। नेपालमै पहिलो एक जनामा स्थानीय संक्रमण देखिएपछि यहाँका सबै क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.