|

म्याग्दी : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा 'लकडाउन' घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसेवीहरु खटायो।

म्याग्दीको रघुगंगा गाउँपालिकाले पहिलो पटक लकडाउनलाई प्रभावकारी बनाउन र विदेशबाट आएकालाई 'क्वारेन्टाइन'मा राख्न गाउँपालिकाका ८ वटै वडामा 'क्वारेन्टाइन' निर्माण गरेर स्वयंसेवीमार्फत विदेशबाट आएकालाई क्वारेन्टाइमा ल्याउन थालेपछि जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सोही मोडेल अपनाइयो।

अहिले रघुगंगा गाउँपालिकाको सोही मोडेलको चर्चा देशभर भइरहेको छ। देशका अन्य प्रदेशहरुमा पनि स्वयंसेवक खटाउन थालिएको छ। यसैबीच रघुगंगा गाउँपालिकाले पुनः अर्को अभियान शुरु गरेको छ : त्यो हो 'क्वारेन्टाइन'मा बसेर घर फर्किन लागेकालाई सम्मान गर्ने अभियानज्ञ

रघुगंगा गाउँपालिकाले गाउँपालिकाका आठवटै वडामा रहेका क्वारेन्टाइमा बसेर १४ दिन पुरा गरी घर फर्किन लागेकालाई सम्मानपत्र दिएर सम्मान गरेको छ। घरमा गएर पनि सुरक्षित बस्न र गाउँमा कोरोना सम्वन्धि जनचेतना विस्तार गर्न प्रोत्साहित गर्ने उद्देश्यले सम्मान सहित विदाई गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए।

गाउँपालिकाले चैत २३ गते 'क्वारेन्टाइन'मा बसेका २८ जनालाई सम्मानपत्रसहित बिदाइ गरेको छ। शुरुमा 'क्वारेन्टाइन'मा आउन नमानेका व्यक्तिहरु स्वयंसेवीको मद्दतमा क्वारेन्टाइनमा आएर १४ दिन पुरा गरि फर्किँदा उत्साहित र थप जिम्मेवार बनेका गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

१४ दिन 'क्वारेन्टाइन'मा बसेर घर फर्किँदै गरेका रघुगंगा गाउँपालिका-१ बेगका एक युवाले विदेशबाट आएका सम्पूर्णलाई 'क्वारेन्टाइन'मा बस्न र आफूलगायत आफ्नो परिवार, समाज र देशलाई नै कोरोना संक्रमण मुक्त बनाउन सहयोग गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.