आयात रोकियो, अब उत्पादनमा जोड दिऊँ

|

औषधि ढुवानीमा देखिएको समस्या तत्काल समाधान गर्न हामीले राज्यलाई पटक पटक घच्घच्याइरहेका छौँ। तर पनि राज्यले सम्बोधन गरेको छैन। एम्बुलेन्समा हालेर औषधि वितरण गरिरहेका छौँ। ढुवानी सेवा खोलीदिन हामीले सरकारसँग आग्रह गरेका छौँ। लकडाउनका समयमा ढुवानी सेवा बन्द हुँदा औषधि आयतमा समस्या भएको हो। 

विषेशगरी ज्वरो, रुघा, खोकीकै औषधि बढी खरिद भएको छ। सुगर,प्रेसर र दम रोगका बिरामीले पनि अत्यधिक मात्रामा औषधि राखेका छन्। औषधिको माग धेरै भएर दुई हप्ताअघि हामीलाई चाप थेग्न मुस्किल परेको थियो। कालोबजारी बढेकोतर्फ उपभोक्ता आफैं चनाखो हुनुपर्छ। स्वाथ्य सामाग्रीमा कालोबजारी वा गुणस्तरहीन सामानको उत्पादन भएमा राज्यले तुरुन्तै कारवाही गर्न सक्नुपर्छ। वाणिज्य विभाग वा जिल्ला प्रशासन कार्यलयले यसतर्फ ध्यान दिनुपर्छ। 

नेपाल औषधि व्यावसायी संघले अत्यावश्यक औषधि मौज्दात रहेकोले तत्कालै अभाव नहुने जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक लकडाउन भएका बेला चाहिने अत्यावश्यक औषधि मौज्दात रहेको संघले जनाएको छ। संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले ज्वरो, रुघाखोकीदेखि आकष्मिक बिरामीका लागि चाहिने स्लाइन पानीसहितका औषधि आगामी दुईदेखि तीन महिनासम्मलाई पुग्ने गरी मौज्दात राखिएको बताए। 

श्रेष्ठले आकस्मिक बिरामी, सुत्केरी र दीर्घरोगका बिरामीलाई औषधिमा कुनै समस्या नपरेको बताए। लकडाउन भएदेखि आयात र आन्तरिक उत्पादन प्रभावित बनेको छ। यस्तो अवस्थामा पनि औषधिको अभाव हुन नभए पनि ढुवानी र वितरणमा केही समस्या परेको श्रेष्ठले बताए। यसै सन्दर्भमा थाहासञ्चार नेटवर्ककी इश्वरी बरालले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश। 

कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन मुलुक लकडाउनमा छ। यस्तो अवस्था आवश्यक औषधि कसरी ब्यवस्थापन गरिरहनुभएको छ ? 

औषधि अतिआवश्यक र संवेदनशील वस्तु हो। मुलुक लकडाउन हुनुअगाडि नै केही औषधिको जोहो गरेका थियौँ।  लाइफसेभिङ लगायत अतिआवश्यक औषधि अरु देशबाट खरिद गरेर मौज्दात राखेकाले तत्कालै अभाव देखिने अवस्था छैन। चीनमा कोरोना भाइरसको संक्रमण देखिनासाथ नेपालमा पनि यसको संक्रमणको जोखिम देखिन सक्ने आँकलन गर्दै औषधिको जोहो गरेका थियौँ। अहिले त्यही औषधिले बिरामी र उपभोक्ताको माग धानेका छौँ। औषधि अभाव होला भनेर अहिले नै नेपालमा आत्तिहाल्नुपर्ने अवस्था छैन। 

कस्ता प्रकारका औषधिको माग बढी छ अहिले ? 

चीन लगायत युरोप र खाडी देशमा कोरोना संक्रमणका कारण मानिसको ज्यान जान थालेपछि नेपालमा पनि यसको मानसिक असर देखिन सुरु गरेको थियो। फलस्वरुप उपभोक्ता, बिरामी र नियमित औषधि प्रयोग गर्दै आएकाहरुले अत्तालिएर एकैपटक धेरै खरिद गरेका थिए। विषेशगरी ज्वरो, रुघा, खोकीकै औषधि बढी खरिद भएको छ। सुगर, प्रेसर र दम रोगका बिरामीले पनि अत्यधिक मात्रामा औषधि राखेका छन्।

औषधिको माग धेरै भएर दुई हप्ताअघि हामीलाई चाप थेग्न मुस्किल परेको थियो। तर बिस्तारै चाप घटेको छ, तर औषधि किन्ने क्रम भने रोकिएको छैन। यी लगायत अत्यावश्यक औषधिको त आवश्यकता हेरेर माग भइरहेको छ। धेरै औषधि पसलहरु खुलिरहेका छन्। हामीले अहिले पनि आफू सुरक्षित रहँदै सेवा दिइरहेका छौं तर मुलुक लकडाउन भएकाले अत्यावश्यक र इमर्जेन्सी बाहेकका औषधिको माग र प्रयोग घटेको छ। 

तपाईंले औषधि अभाव छैन भन्नुभयो तर उपभोक्ताले मास्क र सेनिटाइजर नपाएको गुनासो गरेका छन् नी ?

मास्कको अभाव छ। बजारमा सजिलै पाइएको छैन, मैले स्वीकारेको छु। तर औषधिको हकमा कुरा गर्ने हो भने अहिले नै अभाव भएको छैन। यसरी नै मुलुक लामो समयसम्म लकडाउन हुने हो भने चाहिँ समस्या पर्न सक्छ। भारतबाट औषधि आउन छाडिसकेको छ। यसले इमर्जेन्सी वार्डमा भर्ना हुने बिरामीलाई औषधि अभाव हुन सक्ने अवस्था पनि आउन सक्छ। निजी क्षेत्रले काठमाडौं, विराटनगर लगायत स्थानमा मास्क उपत्पादन र विक्री वितरण गरेका छन्। तर यो उत्पादनले मात्रै पनि नपुग्ने अवस्था छ। भारत, चीन लगायत मुलुकबाट मास्क आयत बन्द भएको छ। यस्तो अवस्थामा नेपालमै निजी क्षेत्रले उत्पादनमा तदारुकता देखाउन सक्नुपर्छ। सेनिटाइजर पनि अभाव छ। मितब्ययी ढंगले प्रयोग गर्न सल्लाह दिन्छु। 

महामारीको मौका छोपेर मास्क, सेनिटाइजर उत्पादन र बेच्ने होडबाजी चलेको छ। यिनीहरुको गुणस्तमा पनि त प्रश्न उठन थालेको छ नी? 

यो त राज्यले अनुगमन गर्ने बिषय हो। हामीले उपभोक्ताको माग र स्वाथ्यलाई ख्याल गरेर उत्पादन गरेका छौँ। आपत्को समयमा राज्यको यतातिर ध्यान नगएको पनि हुन सक्छ। कालोबजारी बढेकोतर्फ उपभोक्ता आफंै चनाखो हुनुपर्छ। स्वाथ्य सामाग्रीमा कालोबजारी वा गुणस्तरहीन सामानको उत्पादन भएमा राज्यले तुरुन्तै कारवाही गर्न सक्नुपर्छ। वाणिज्य विभाग वा जिल्ला प्रशासन कार्यलयले यसतर्फ ध्यान दिनुपर्छ। 

औषधि ढुवानी र वितरणमा पनि समस्या देखिएको बताउनुभयो? यसलाई कसरी ब्यवस्थित बनाउन सकिएला? 

पक्कै पनि औषधि ढुवानीमा निकै समस्या परेको छ। एक प्रदेशबाट अर्को प्रदेशमा, एक ठाउँबाट अर्को ठाउँमा औषधि लैजान अप्ठेरो परेको छ। औषधि ढुवानी प्रभावित मात्रै नभई ठप्प नै भएकाले हामीलाई निकै समस्या परेको छ। औषधि ढुवानीमा देखिएको समस्या तत्काल समाधान गर्न हामीले राज्यलाई पटक पटक घच्घच्याइरहेका छौँ। तर पनि राज्यले सम्बोधन गरेको छैन। एम्बुलेन्समा हालेर औषधि वितरण गरिरहेका छौँ। ढुवानी सेवा खोलीदिन हामीले सरकारसँग आग्रह गरेका छौँ। लकडाउनका समयमा ढुवानी सेवा बन्द हुँदा औषधि आयतमा समस्या भएको हो। 

कोरोना भाइरसको संकट विश्वव्यापी छ। हाम्रो देश औषधिमा परनिर्भर छ। बाहिरबाट आयत गरिने औषधि नेपालमै उत्पादन गर्न सम्भव छ की छैन ? 

४० प्रतिशत औषधि नेपालमै उत्पादन हुँदै आएको छ। बाह्य मुलुकबाट ६० प्रतिशत औषधि आयात गर्नुपर्ने बाध्यता छ। त्यसमा पनि भारतबाट मात्रै करिब ९० प्रतिशत औषधि ल्याउनुपर्ने हुन्छ। यो बाध्यता र अवस्थालाई चिर्दै नेपालमै सबै औषधि उत्पादन गर्न हामीले पनि प्रयास नगरेको होइन। इन्जेक्सन ग्रुप लगायत अति आवश्यक पर्ने औषधि नेपालमै उत्पादन गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ। भारतले २६ प्रकारका औषधि नेपालतर्फ पठाउन बन्द गरिसकेको छ। यसले गर्दा नेपालको स्वाथ्य सुधारको क्षेत्रमा हामी ढलमलिएर पछि पर्नुपर्ने हुनसक्छ। सानो बजारमा लागत धेरै लगाएर उत्पादन गर्नु जटिल हुन्छ। खपत पनि कम छ तर यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ। 

महामारीको समयमा औषधि ब्यवस्थापनमा भोग्नुपरेका चुनौती के के छन् ? 

विश्व नै संकट र महामारीमा भएको बेला विभिन्न कारण र चुनौती देखाएर जिम्मेवारीबाट पन्छिनुभन्दा यसको ब्यवस्थापनलाई अझै चुस्त दुरुस्त पार्ने कोशिशा गर्दैछौँ। कोरोना भाइरसको संक्रमणका कारण भोलिका दिनमा मुलुकभर अप्ठेरो अवस्था आयो भने पनि औषधिको ब्यवस्थापनमा चुक्ने छैनौँ। स्वदेशी उत्पादनलाई प्रात्साहन र बढवा दिनुका साथै विदेशबाट पनि आयत गरेर औषधिको अभाव हुन दिने छैनौं। यसलाई सहज बनाउन सरकारसँग पनि छलफल गर्दैछौँ। इमर्जेन्सी बाहेक अन्य औषधि खासै अभाव हुने छैन। अभाव हुने सम्भावना देखिएका औषधिको ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौं। जस्तोसुकै संकट र महामारी आए पनि औषधि अभाव हुन नदिने विश्वाश दिलाउँछु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.