|

भद्रपुर : सरकारले कैदीबन्दीलाई उपलब्ध गराउँदै आएको दैनिक सिदा खर्च बापतको रकम रोकिदिएको छ। सरकारले लकडाउनकै समयमा कैदी बन्दीको सिदा रकम रोकी दिँदा कैदीबन्दी थप समस्या उत्पन्न भएको छ।

झापा जिल्ला कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित रहेका छन्। सरकारले प्रति कैदीबन्दीलाई दैनिक ६० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। कोरोना भाइरस सङ्क्रमण महामारीकै बेला सिदा रकम रोक्किदा कारागारभित्र भोकमरीको अवस्था सिर्जना भएको कैदीहरू स्वयं बताउन थालेका छन्। 

सरकारले गत फागुन १५ देखि कैदीबन्दीलाई सिदा बापतको रकम नदिएको उनीहरू बताउँछन्। सरकारले चामल उपलब्ध गराए पनि सागसब्जी, तेल, नुनलगायतको सामान कारागारभित्र अभाव भएसँगै भोकमरी सुरु भएको एक बन्दीले गुनासो पोखे।

‘चामल मात्रै खाएर बाचिँदैन। सरकारले सिदा रकम नदिँदा अन्य खाद्यान्न तथा तरकारी किन्न समस्या भइरहेको छ' एक कैदीले भने, ‘कारागारसमेत लकडाउन भएको अवस्थामा रकम उपलब्ध नगराएर सरकारले थप पीडा दिएको हो।’ 

‘लकडाउनले घरपरिवारबाट पनि खानेकुरा र पैसा आउन छाडिसकेकोले हामीलाई पीडा छ' उनले भने। ’सिदा खर्च बापतको रकम नआएपछि कारागारभित्र समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले स्वीकारे। उनले भने, ‘झापाका प्रमुख जिल्ला अधिकारी हुँदै गृह मन्त्रालयको कारागार व्यवस्था विभागसम्म यस समस्याका बारेमा पटक-पटक लिखित तथा मौखिक जानकारी गराइसकेका छौं।’ हाल फायल अर्थ मन्त्रालयमा अकडिएको हुनसक्ने उनको भनाई।

महिला कैदीको संख्या थोरै भएकोले आइतबार मात्र कार्यालयमा रहेको रकम खोजाखोज गरेर महिला बेसलाई दिएको उनले बताए। यता कारागारको समस्याको विषयमा मन्त्रालयमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

जिल्लाका सबै समस्या प्रशासन कार्यालयमै ठोक्किएको हुँदा सम्बन्धित कार्यालयको समस्याको बारेमा कार्यालयकै प्रमुख नै बढी जिम्मेवार हुनुपर्ने उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.