|

इलाम : देशमा कोरोना भाइरस संक्रमणका नयाँ मामिला भेटिरहँदा इलामका चिया किसानले व्यक्तिगत सुरक्षाका उपकरण नै प्रयोग नगरी चिया टिप्न थालेका छन्‌। सरकारले लकडाउन अवधिमा पनि उद्योग संचालनको अनुमति दिएपछि इलामका चिया किसान हरियोपत्ती टिप्न वगान पसेका हुन्‌।

सूर्योदय नगरपालिकाको आग्रहका कारण उद्योग संचालन हुने भएपछि आजदेखि किसान हरियोपत्ती टिप्नका लागि बगानमा व्यस्त छन्। आइतबार नगरपालिकामा चिया किसान, उद्योगी र जनप्रतिनिधिको छलफलमा नगरले सूर्योदय टि प्रोड्युसर्सलाई उद्योग संचालन गर्न निर्देशन दिएको थियो।

किसानले 'फस्ट फ्लस'को मुना हुर्किएर गएको गुनासो गरेसँगै उद्योगीले उद्योग चलाउन राजी भएका हुन्। आइतबार भएको छलफलमा नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, अर्थ समितिका संयोजक देवेन्द्र शर्माले तत्काल उद्योग संचालन गर्न एशोसिएसनसँग छलफल गरेका थिए। लकडाउनको समय उद्योग संचालन गर्न कठिनाई हुने भन्दै आएका उद्योगीहरुले नगरको आग्रहपछि सोमबारदेखि आंशिक रुपमा उद्योग संचालन गरिरहेका छन्। एशोसिएसनमा ६२ वटा उद्योग दर्ता भएका छन्। 

कोरोनाको असर चियासम्म : बगानमा ‘फस्ट फ्लस’ तयार, टिप्‍न नपाउँदा खेर जाने अवस्‍था

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरुलाई यथासम्भव पालना गरि उद्योग संचालन गरिने निर्णयमा उल्लेख छ। उद्योग संचालन हुने भएपछि अहिले किसानहरु हरियो मुना टिप्न बारीमा पसेका छन्।

तर उद्योग र चियाबारीमा व्यक्तिगत स्वास्थ्य सुरक्षाको कुनै पनि प्रवन्ध छैन्। किसान तथा मजदुरहरु मास्क, सेनिटाइजर विना चियाबारीमा हरियो मुना टिप्दै गरेकोदेखिन्छ। कतिपय किसान स-साना छोराछोरी बोकेर नै चिया बगानमा पत्ती टिप्दै गरेका भेटिए। व्यक्तिगत सुरक्षाका लागि नगरपालिकाबाट कुनै पनि प्रवन्ध नभएको कारण किसान र उद्योगमा काम गर्ने मजदुरहरु जोखिमका बीचमा काम गर्दै गरेका छन्।

चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकाले कार्यपालिका बैठकबाट चिया टिपाईका सुरक्षा सम्वन्धी १८ वुँदे मापदण्ड बनाएको छ। तर सुरक्षाको निम्ति किसान र उद्योगीलाई सहयोग गरेको छैन। मापदण्डमा मास्क र सेनिटाइजरको प्रयोगका साथै २ मिटर सामाजिक दुरी कायम गर्ने, २ बजेसम्म चिया टिपेर ४ बजेसम्म पु¥याउने लगायत छन्।

तर नगरले २० हजार मास्क र केही सेनिटाइजर खरिद गरेपनि किसानहरुसम्म ति सामाग्रीहरु पुग्न सकेका छैनन्। 

नगरसँग मास्क बाहेक सुरक्षाको उपकरण र प्रवन्ध केही छैन : नगर प्रमुख राई

स्थानीय सरकारसँग सुरक्षाको उपकरणमा मास्कको अतिरिक्त अरु केही प्रवन्ध नभएको सूर्योदय नगरप्रमुख रणबहादुर राईले बताए। नगरले मापदण्ड मात्र बनाउने भएकाले उद्योगी र किसानले आफनो सुरक्षाको प्रवन्ध आफै गर्नुपर्ने उनले बताए।

‘कोरोनो रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बनाएर मापदण्डको आधारमा स्थानिय सरकारले पनि केही मापदण्ड बनाएको छ। तर सुरक्षाको ग्यारेन्टी लिएको छैन। त्यो उद्योग र किसानको जिम्मा हो’ नगर प्रमुख राईले भने, ‘किसान र उद्योगबीचको समन्वयमा संचालन गर्ने हो, हामीसँग सुरक्षाको लागि मास्क बाहेक अरु केही छैन।’

नगरको एउटा वडाको चिया बगानमा अर्को वडाको बासिन्दाले समेत टिप्न नपाउने भएको छन्। ‘बाहिरको मान्छे ल्याएर टिपाउन पाइदैन्। नजिकै दुरी भए एक वडाबाट अर्को वडामा टिपाउन पाइन्छ तर नगर भित्रै पनि टाढाको र अपरिचित हुनु भएन।’ राईले भने किसानको हरियो चिया विक्रीको प्राथमिकता नजिकैको भुगोलमा रहेको उद्योग रहनुपर्ने राईले बताए। सम्बन्धित वडामा जानकारी गराएर मात्र चिया टिपाइ र प्रशोधनको काम गर्नुपर्ने र वडाले त्यसको अनुगमन गर्ने उनले बताए। 

उद्योगी भन्छन् : ‘तयारी चिया बिक्री नभए किसानलाई भुक्तानी गर्न सकिँदैन’

नगरको आग्रह अनुसार उद्योग संचालन भएपनि सुरक्षाको सामाग्री उपलव्ध नभएको उद्योगीहरुको गुनासो छ। उद्योग भित्र काम गर्ने मजदुरहरुलाई सामान्य माक्स उपलव्ध गराउन सक्ने भएपनि अन्य सुरक्षाको सामाग्रीको अभाव रहेको छ।

किसानहरुको समस्यालाई मध्यनजर गरेर उद्योग संचालनमा ल्याइएको एशोसिएनसका प्रवक्ता बुद्ध तामाङले जानकारी दिए। ‘किसानहरुको मारमा परेको देखेपछि उद्योग चलाउन राजी भएको हौ,’ उनले भने ‘किसानहरुबाट तयारी चिया विक्री भएपछि पेमेन्ट लिने भनेपछि उद्योग चलाएको हौ। संक्रमणले कस्तो रुप लिन्छ त्यस अनुसार आगामी निर्णय लिन्छौ’ चिया विक्री नहुँदा किसानहरुको हरियोपत्तीको मुल्य दिन नै समस्या हुने गरेको गुनासो छ।

नेपाली चियाको मुख्य बजार भारत हो। नेपाली तयारी चियाको ८५ प्रतिशत बजार भारत हो। अहिले कोरोनाको संक्रमणका कारण नेपाली उत्पादन भारत तर्फ निर्यात हुन सकेको छैन्। जसको चिन्ता उद्योगीहरुलाई छ। 

गत बुधबार बसेको सूर्योदय नगर कार्यपालिकाको बैठकले कोरोना भाइरसको संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान-उद्योगको काममा निरन्तरता दिने निर्णय गरेको थियो।

तर लगत्तै भालिपल्ट बसेको एशोसिएसनको बैठकले भने कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै नेपाल सरकारले लकडाउन गरिरहेका बेला उद्योग संचालन गर्न नसकिने निर्णय गरेको थियोे। ३ दिन अघि सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेसँगै नगरले चिया उद्योगीलाई उद्योग संचालनका लागि आग्रह गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.