|

इटहरी : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्यकर्मीहरुलाई ‘फ्रन्ट लाइनको सिपाही’ भन्दै आएको छ। कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई केन्द्र सरकारले ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने बताउँदै आएको पनि छ।

तर धरान उपमहानगरपालिकाले भने स्वास्थ्यकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउन सहयोग मागेको छ। उपमहानगरले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग राहत वितरणका लागि भन्दै चन्दा सहयोग मागेको छ। सरकारले लकडाउन घोषणा गरेसँगै राहत कार्यक्रम ल्याउनुपर्ने भएकोले आर्थिक सहयोग भन्दै उपमहानगरले पत्र नै काटेर सहयोगको याचना गरेको हो। 

पत्रमा प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न उपमहानगरले भनेको छ। धरानका मेयर तिलक राइले हस्ताक्षर गरेको सो पत्रमा दैनिक ज्याला मजदुरी गरिखानेका लागि राहत दिनुपर्ने भएकोले आर्थिक सहयोग गर्न भनिएको छ।

सोही पत्रमा उपमहानगरपालिकाका कर्मचारीको १५ दिनको तलब दिने निर्णय गरेको र प्रतिष्ठानले पनि दिनुपर्ने उल्लेख गरिएको छ। उता प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले भने आह्वान गरेर कसैलाई चन्दा दिनुपर्छ भन्न नसकिने बताएका छन्। कर्मचारी वा पदाधिकारीले व्याक्तिगत रूपमा दिन सक्ने तर प्रतिष्ठानले नमाग्ने उनको भनाइ छ। 

सामाजिक सञ्‍जालमा अहिले उपमहानगरले प्रतिष्ठानलाई काटेको पत्रको विषयमा तीव्र आलोचनासमेत सुरु भएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.