|

म्याग्दी : समय वसन्त ऋतु। जंगलभरी ढकमक्क फुलेका लालिगुराँसले दुलही झैं सिंगारिएकी प्रकृति। सफा मौसम । निलो आकाशको छाना मुनि उत्तरतर्फ चाँदी झै टल्किएका हिमश्रृङ्खला। तर, सुनसान छन् अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख आकर्षण मानिएका पर्यटकीय स्थल घोडेपानी र पुनहिल।

यो समय (गुराँस फुल्ने) आफूले जान्ने भएदेखि नै पहिलो पटक घोडेपानी सुनसान भएको बताउँछन् घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा। बुद्धुजा भन्छन् ‘विगतमा यो समयमा दैनिक ५ सय भन्दा बढि पर्यटकहरुको भीड लाग्ने घोडेपानी अहिले सुनसान छ, मैले थाहा पाएसम्म घोडेपानीमा पहिलो पटक यस्तो सुनसान वातावरण भएको छ।’

घोडेपानी र पुनहिल मात्रै होइन म्याग्दीका प्रमुख पर्यटकीय स्थलहरुमा यतिबेला ढकमक्कै फुलिरहेका लालिगुराँसले पर्यटकहरुलाई पर्खिरहेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ (कोरोना) भाइरसको त्रास र लकडाउनका कारण पर्यटकहरु ती स्थानमा नगएपछि पर्यटकीय स्थलहरु सुनसान बनेका हुन्।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका ३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसे लगायतका म्याग्दीका पर्यटकीय स्थलहरुमा गुराँसको ठूला जंगल छन्।  नेपालमा पाइने ३२ प्रजातीकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। 

अघिपछि पर्यटक नआएकोमा चिन्तित हुने म्याग्दीका पर्यटन र होटल व्यवसायीहरु भने यसपटक पर्यटकहरु नआइदिएहुन्थ्यो भनेर गुराँस हेर्दै बसिरहेका छन्। पर्यटकसंगै कोरोनाको संक्रमण भित्रिने हो कि भनेर चिन्तित यहाँका व्यवसायीहरुलाई पर्यटक नआएकोमा कुनै दुखेसो छैन, बरु पर्यटकहरु आइहाले भने कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले सताएको छ।

‘कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउन घोषणालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा पनि कडाई गरेका हौं,’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर पुनले भने। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घर पर्यटक स्तरका होटल हुन्। पर्यटक नआउँदा होटलहरु रित्तै छन्।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभुमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि हिमालको साथै सुर्योदयको अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.