|

डोल्पा : कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम गर्न र फैलन नदिन लकडाउन घोषणा गरिएपनि डोल्पामा यसको प्रभाव निकै कमजोर देखिएको छ। 

जिल्ला सदरमुकाम दुनैलगायत आठवटै स्थानीयतहमा लकडाउनको पूर्ण परिपालना भएको छैन। प्रशासनले कडाई गरेपनि मेलापर्व सञ्चालन, समुहमा हिँड्ने, भीडभाड गर्ने, समुह बाँधेरै सार्वजानिक काममा निस्कने, बजारमा पसलहरु खोल्ने, अनावश्यक घुम्ने, घरमा नबस्ने, खेतीपातीको काममा निस्कने, जुवातास खेल्ने, समुहमा मादक पदार्थ सेवन गर्ने र मोटरसाइकलमा आवतजावत गर्नेलगायत लडाउन विपरितका कामहरू भइरहेको स्थानीयहरूले जानकारी दिएका छन्‌।

लकडाउनको पूर्ण पालना गराउन जनप्रतिनिधिको विशेष भुमिका हुने भएपनि डोल्पाका जनप्रतिनिधिले खासै चासो नदिएको र उनीहरु आफैंमा अन्धविश्वासी र धारणा व्याप्त रहेकाले समस्या भएको स्वास्थ्य सरोकारवालाहरू बताउँछन्‌।

त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय पूर्णकेशर न्यौपानेले भने, 'डोल्पामा लकडाउनपछिको अवस्था र लकडाउन नहुँदैको अवस्थामा खासै फरक पाइँदैन, बजार क्षेत्रमा समेत लकडाउनको पूर्ण पालना भएको छैन, जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई कोरोना भाइरस र लकडाउनबारे कुनै जानकारी समेत छैन।'

लकडाउनका बारे थाहा नभएकै कारण सर्वसाधारणहरु अघिपछि जस्तै खेतीपातीको काममा निस्किरहेको र मेला पर्व भइरहेको उल्लेख गर्दै न्यौपानेले प्रशासन र स्थानीयतहबाट सूचना प्रवाह नगर्दा समस्या भएको बताए।

प्रहरी प्रशासनले कडाइ नगर्दा जिल्लाका मुख्य बजारका रुपमा रहेका दुनै, त्रिपुराकोट र जुफालमा खाद्यान्‍न बाहेकका अन्य पसलहरु पनि खुला राखिएकाे छ। 'डोल्पाका स्थानीय प्रशासन, जनप्रतिनिधि र स्वयम्‌ सर्वसाधारणले लकडाउन आफ्ना लागि हो भनेर सोचेका छैनन्, सोही कारणले पनि यसको पूर्ण पालना भएको छैन्,' ठूलीभेरी नगरपालिकाका स्थानीय अमर कठायतले भने, 'रोगले सानोठुलो भन्दैन्, यसको पूर्ण पालना गर्नु जनताको कर्तव्य पनि हो, लकडाउन उल्लंघन गर्ने जोकोही लाई प्रहरीले कारवाही गर्नुपर्छ।'

डोल्पामा लकडाउनको पूर्ण पालना गराउनका लागि स्थानीय प्रशासन लागि परेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दावी गरे। उनले भने, 'लकडाउन आफ्नै लागि हो भनेर जनताले बुझ्नुपर्छ, आफैंले उलंघन गर्ने, प्रभावकारी पनि भएन भनेर पनि आफैं भन्‍ने !'

स्थानीयलाई जति सम्झाउँदा पनि नमान्ने र घरबाट निस्कने गरेको प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत सुरक्षाकर्मीहरु बताउँछन्। लकडाउन आफ्नै लागि हो भनी स्थानीयले नबुझ्दा बजार क्षेत्रमा समेत प्रभावकारी नभएको उनीहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.