|

पर्वत : कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका पर्वतका २३ जनामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार लकडाउन सुरु भएबाट हालसम्म पर्वतबाट कुल २३ ओटा स्वाब परीक्षणको लागि पठाइएकोमा अब ९ वटाको रिपोर्ट आउन बाँकी रहेको छ।

उपचारका लागि कोरोनाको लक्षण देखिएकाहरू नआएका कारण परीक्षणको संख्या न्यून देखिएको डा देवकोटाको भनाई छ। १४ जना मध्ये पहिलो परीक्षण कतार एयरवेजमा आएका बागलुङका एक युवकको गरिएको थियो।

विदेशबाट फर्केपछि पर्वतको कुस्मामा बस्दै आएका उनको परीक्षणको नतिजा नेगेटिभ आएको थियो लगत्तै पर्वतकै विहादी गाउँपालिका बाच्छाकी एक महिलाको परीक्षण गरिएको थियो। उनका श्रीमान् केही दिन अघि मात्रै भारतबाट फर्केका थिए।

श्रीमान् बिरामी नभए पनि श्रीमती बिरामी हुँदा उनलाई कोरोनाको आशंका गरी परीक्षण गरिएको थियो। उनमा पनि संक्रमण भेटिएको थिएन। सम्भावित संक्रमितको खोजी गर्ने क्रममा पर्वतको जलजलाका धाइरिङका एक युवाको परीक्षण गरिएको थियो। उनी कतार एयरवेजमा आएकी बागलुङकी संक्रमित युवतीसँग

काठमाडौंदेखि पोखरासम्म विमानमा सँगै आएका थिए। उनको नतिजा पनि नेगेटिभ आएको थियो। यसैगरी बागलुङकी संक्रमित युवतीका नातेदार जलजला गाउँपालिका नाङलिवाङका युवामा परीक्षण गरिएको थियो। उनको नतिजामा पनि कोरोना संक्रमण पुष्टि हुन सकेन।

कोरोनाका सम्भावित संक्रमितको दायरा बढाउने क्रममा बागलुङकी संक्रमित महिलाका दुई नातेदारको पनि परीक्षण गरियो। उनीहरू दुवै कुस्मा नगरपालिका चुवाका बासिन्दा हुन्। उनीहरूमा पनि संक्रमण देखिएको थिएन। योसँगै पर्वतमा कोरोना परीक्षणको दायरा बढाउन दोस्रो चरणको अभियान सुरु भएको थियो। दोस्रो चरणअन्तर्गत जिल्ला भित्र विदेशबाट फर्केकाहरूको परीक्षण कार्य सुरु भएको छ।

सम्पर्कमा आएका तर परीक्षणका लागि नआएका तथा लक्षण नदेखिएकालाई पनि परीक्षणको दायरामा ल्याएर उनीहरूको समेत परीक्षणको काम यति बेला भइरहेको छ। उनीहरू मध्ये ८ जनाको परीक्षणका नतिजा पनि आएको छ। ती सबैको नतिजा पनि नेगेटिभ देखिएको अस्पतालले जनाएको छ। योसँगै पर्वत जिल्लामा १४ जनाको परीक्षण गरिएको र उनीहरु सबैको नतिजामा संक्रमण नभेटिएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.