|

हेटौंडा मकवानपुर जिल्लामा दूध बोक्ने अटोमा केही व्यक्तिले मदिरा ओसारपसार गरेको पाइएको छ। त्यस्तै एम्बुलेन्समा मेडिकल स्टाफ ओसार्ने गरेको पाइएको छ। 

दूधको स्टिकरमा मदिरा

मकवानपुर प्रहरीले दूध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दूध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो।

चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसँगै मदिराको जर्किन बरामद गरेको छ। अटोमा ३ वटा रित्तो दूधको क्यान र ६ वटा घरेलु मदिराको जर्किन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। बरामद जर्किनमा करिब एक सय ४० लिटर मदिरा रहेको जनाइएको छ। पाठकका अनुसार ना१ह ५३८९ नम्बरको अटोसहित चालक हेटौंडा ५ का ३३ वर्षीय फेन्जु लामालाई नियन्त्रणमा लिइएको छ। 
एम्बुलेन्समा ‘स्टाफ’
हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सले एक निजी अस्पतालका मेडिकल स्टाफ बोकिरहेको अवस्थामा प्रहरीको फन्दामा परेको थियो। 

लकडाउनको समयमा एम्बुलेन्सले बिरामी बोक्न छोडेर मेडिकल स्टाफ बोकिरहेका पाइएको हो। मेडिकल स्टाफका लागि कतिपय अस्पतालले छुट्टै गाडीको व्यवस्था गरे पनि केहीले भने एम्बुलेन्सलाई नै मेडिकल स्टाफ बोकेपछि रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान समस्या भइरहेको छ।  

संवेदनशील भएन प्रशासन   

लकडाउनको समयमा एम्बुलेन्स दुरुपयोग भएको घटनालाई प्रहरीले त्यसै छाडेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले एम्बुलेन्सको दुरुपयोग भएको पाइए पनि एम्बुलेन्सको विस्तृत विवरण भने टिपोट नगरिएको जानकारी दिए। बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्दा भने एम्बुलेन्स नपाउने अवस्था हुँदा एम्बुलेन्स यसरी दुरुपयोग भइरहेको छ। तर प्रहरीले भने यसलाई सामान्य विषय बनाएर छाडेको छ। यसअघि मकवानपुर प्रहरीले एम्बुलेन्सबाट लागूऔषध गाँजासमेत बरामद गरेको थियो। 

यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले ११ बजेबाट ३ बजेसम्म अत्यावश्यक सामाग्रीहरुको पसल खोल्ने निर्णय गरे पनि प्रशासनले अनावश्यक रुपमा हिँड्ने मानिसहरुलाई नियन्त्रण लिन सकेको छैन भन्ने अन्य जिल्ला तथा काठमाडौंबाट हिँडेर आउनेहरु अलपत्र पर्दा पनि प्रशासनले वास्ता गरेको छैन। 

अलपत्रलाई बेवास्ता गर्छ प्रशासन

काठमाडौंबाट हिँडेर आउने भारतीय मजदुर दैनिकजसो हेटौंडाको पेटीमा अलपत्र अवस्थामा देख्दा पनि प्रशासनले बेवास्ता गरेको छ। सञ्चारकर्मीहरुले जानकारी गराउँदा केही गर्न नसक्ने जवाफ मकवानपुर प्रशासनबाट आउने गरेको छ। हेटौंडाका स्थानीयले मकवानपुर प्रशासन संवेदनशील नभएको भन्दै गुनासो गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.