|

म्याग्दी : जिल्लाका ६ वटै स्थानीय तहमा १ सय ७३ बेडका क्‍वारेन्टाइनबाट सोमबारसम्म ६९ जना घर फर्किएका छन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न उच्च सतर्कतासहित ८४ जनालाई क्‍वारेन्टाइनमा राखिएको थियो। घर फर्किएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए।

तीमध्ये विदेशबाट फर्किएर क्‍वारेन्टाइनमा बसेका ६९ जनालाई १४ दिन पुगेपछि घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विदेशबाट तथा अन्य जिल्लाबाट म्याग्दी भित्रिएका सहित अहिले धवलागिरिमा १३ र मंगला गाउँपालिकामा २ जना क्‍वारेन्टाइनमा रहेका म्याग्दीका सहायक प्रजिअ सुवेदीले बताए।

उनका अनुसार मंगलाको क्‍वारेन्टाइनमा रहेका दुई जना छिमेकी जिल्ला बागलुङबाट आएका हुन्। क्वारेन्टीनमा बसेर घर फर्किएकालाई एक हप्तासम्म घरमै बस्न सुझाव दिइएको छ। म्याग्दीमा बेनी नगरपालिकामा ५०, रघुगंगा गाउँपालिकामा ५०, धवलागिरिमा ४०, अन्नपूर्णमा १५, मंगलामा १० र मालिकामा ८ बेड क्षमताको क्‍वारेन्टाइन बनाइएको छ।

यसैबीच जिल्लामा ‘लकडाउन’लाई थप कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ। छिमेकी बागलुङ जिल्लामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएसँगै म्याग्दीमा उच्च सतर्कता अपनाइएको हो। म्याग्दीमा बाहिरी जिल्लाबाट आउन रोक लगाइएको छ भने स्थानीय सरकारहरुले पनि एक ठाउँबाट अर्को ठाउँमा जान निषेध गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.