|

बैतडी : नेपाली सेनाका एक जवानले बुधवार बिहान गरेको रक्तदानले सुत्केरीको ज्यान जोगिएको छ।  

शल्यक्रिया गरेर सुत्केरी भएकी  बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीकी २८ बर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो। सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधवार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन्।

सेनाका जवानले ४०० मिलीलिटर रगत दिएको डाक्टर जोशीले बताए। ‘चैत २४ गते अप्रेशनमार्फत बच्चा जन्माएकी  राजुको शरीरमा  मंगलवार राति रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौँ,’ डाक्टर जोशीले भने, ‘सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं।’ 

अहिले आमा अवस्थाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। बैतडीका रक्तरञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सेना, प्रहरीले रगत दिएर सर्वसाधरणको ज्यान बचाउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.