|

हेटौंडा : देशमा लकडाउनको कष्टलाई अवसरमा लिएर बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानीको सडक खण्डलाई फराकिलो बनाइरहेको छ। लकडाउनमा सवारी साधनहरु नचल्ने भएर सडक धमाधम फराकिलो बनाइएको भौतिक पूर्वाधार मन्त्रालयका सडक विभागका निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए। 

प्रदेशसभा बैठकमा उक्त सडकखण्डमा हिँड्न नसक्ने स्थिति भएको भन्र्दै बारम्बार प्रश्नसमेत उठ्ने गरेको थियो। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सडक विस्तारका लागि दुई खण्डमा ३२ करोड रुपैयाँ बजेट छुट्याएर गत महिनादेखि काम सुरु गरेको थियो। सडक फराकिलो बनाउने काम भीमफेदी देउरालीसम्म एक खण्ड गरेर ८ किलोमिटर १७ करोड रुपैयाँ लागतमा फराकिलो भइरहेको छ भने देउरालीदेखि कुलेखानीसम्म साढे सात किलोमिटर १५ करोड लागतमा फराकिलो बनाउने काम भइरहेको निर्देशक भण्डारीले बताए। 

हाल करिब ४ मिटर मात्रै चौडाइमा साढे पाँच मिटर बनाउने र नाली थप्ने भण्डारीले बताए। सडकलाई २०७७ फागुनसम्म कालोपत्रे गरिसकिने उनले बताए। कामको जिम्मा मोतिदान कन्ट्रक्सन कम्पनीले लिएको छ। लकडाउनपछि कामले तीव्रता पाएको हो। लकडाउन अगाडि सवारीसाधन चल्दा दैनिक ३ देखि ४ घण्टा मात्रै काम हुने गथ्र्यो। तर अहिले दैनिक ८ देखि १० घण्टासम्म काम भइरहेको निर्देशक भण्डारीले बताए। 

अहिले अत्यावश्यक सवारी साधन र एम्बुलेन्सहरु चले पनि अब ती सवारी साधनहरुलाई भीमफेदीबाट कोगटे हुँदै सिस्नेरीतर्फ मोडेर दैनिक १३ देखि १४ घण्टा का गरिने बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले जानकारी दिए। बुधबार अनुगमनमा निस्केका मन्त्री फुँयालले निर्माण कम्पनीलाई निर्माण उपकरणहरु थपेर काम गर्न निर्देशन दिएका छन्। 

उनले कोरोना भाइरसको त्रासलाई याद गर्दै पञ्जा र माक्स अनिवार्य रुपमा लगाउन समेत निर्देशन दिएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा पर्ने उक्त सडक खण्डमा स्थानीय तहहरुले पनि सडक फराकिलो बनाउन साथ दिइरहेका भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.