|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका ३ वारीवेनीका मजदुरहरु खर्च अभाका कारण राहत माग्दै सडकमा ओर्लिएका छन्। लकडाउनको कारण ज्याला मजदुरी गर्न जान नपाएपछि घरमा भएको खाद्यान्न सकिएको र किन्न नसक्दा बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरुले बताएका छन्। 

पर्वत बेनीमा ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका ३० जना बढी मजदुरहरु राहत माग गर्दै बुधबार घरबाट बाहिर निस्किएका हुन्। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न सकिएर आफूहरुकाे बिचल्ली भएकाे रामेछाप घर भई बेनीमा ज्यालामजदुरी गर्दै आएका आङदावा शेर्पाले गुनासो गरे।

'सरकारले राहत पठाएको थाहा पाएका छाैं, तर हामी मजदुरहरुलाई अहिलेसम्म दिइएको छैन, खाने कुरा सकिसकेको छ, कोरोनाले भन्दा भोकमरीले मरिने डर भयो’, उनले भने। दैनिक ज्याला मजदरी गरी भाडामा बस्दै आएका मजदुरहरुले लकडाउनलाई लक्षित गरी जम्मा गरेको खाद्यान्न सकिएको बताएका छन्। उनीहरुले सरकारले राहत पठाए पनि स्थानीय गाउँपालिका र वडा कार्यालयले राहत वितरण नगरेको दुखेसो पोखेका छन्।

वडा कार्यालय लगायतका तीन स्थानमा राहतको लागि नाम टिपाए पनि अहिलेसम्म कतैबाट पनि राहत नपाएको बेनी नगरपालिका–५ पुलाचौर घर भई बेनीमा बस्दै आएका मजदुर कमल परियारले बताए। ‘घरमा बालबालिका र सुत्केरी श्रीमती छन्न्, दुई साता भयो कतै काम पनि पाएको छैन, सरकारले राहत दिने भन्ने सुनेका छाैं, खै अहिलेसम्म हाम्रो हातमा परेको छैन्’,  उनले भने। 

धवलागिरि गाउँपालिका–७ ताकम घर भएर वारीबेनीमा बस्दै आएका टेकबहादुर घर्ती क्षत्रीले काम नगर्दा पैसा नभएको र पसलबाट पनि उधारो सामान नदिएपछि आफूहरु समस्यामा परेको बताए।

राहत नपाएपछि समस्यामा परेका मजदुरहरु बुधवार बेनीमा भेलासमेत भएका थिए। उनीहरुले कोरोनाको संक्रमण फैलन नदिन जारी लकडाउनको नियम पालना गर्दागर्दै पनि पेट भोकै राखेर नियम पालना गर्न नसकिने बताएका थिए।

यता जलजला गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारीले लकडाउनलाई मध्यनजर गर्दै गरिब विपन्न र मजदुरहरुको लगत संकलन भैरहेको र आवश्यकता अनुसार व्यवस्थित रुपमा राहत वितरणको तयारी भइरहेको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.