|

एजेन्सी : स्पेनिस ला लिगाका क्लब बार्सिलोना, एट्लेटिको मड्रिड र रियल मड्रिडमा प्रवेश पाउनु चानचुने कुरो होइन। त्यो पनि मुख्य प्रशिक्षक भएर। लिगमा हरेक वर्षको उत्कृष्ट तीनभित्र प्रायः यिनै टोली हुन्छन्। विश्व फुटबलका महान् प्रशिक्षक बनेकाहरु प्रायः कुनै न कुनै समय यी तीनै टोलीको प्रशिक्षण गर्न भ्याइसकेका हुन्छन्। यी तिनै टोलीको प्रशिक्षण गर्ने एक एक मात्र व्यक्ति हुन् राडोमिर एन्टिक।

खेलाडीको रुपमा स्पेनिस क्लबमा अवसर नपाए पनि प्रशिक्षको रुपमा ला लिगाका उत्कृष्ट ३ क्लबलाई प्रशिक्षण गर्ने भाग्यमानी प्रशिक्षक बन्न सफल भए। तर उनी अब प्रशिक्षकको रुपमा देखा पर्ने छैनन्। ३२ वर्ष प्रशिक्षकको रुपमा बिताएका एन्टिकको ७१ बर्षको उमेरमा सोमबार निधन भएको छ।

सन १९९० को दशकमा ला लिगमा उच्च प्रोफाइल बनाएका सर्बियन प्रशिक्षकको मड्रिड क्लिनिकमा निधन भयो। उनी लामो समयदेखि प्यानक्रियाइटिसबाट ग्रसित थिए। एन्टिकले एट्लेटिकोमा हुँदा ठूलो सफलता हात पारेका थिए। जहाँ उनले सन् १९९५–९६ को सिजन ला लिगा र कोपा डेल रे को उपाधि जितेका थिए। उपाधि दिलाएपछि उनलाई प्रशिक्षक तर्फको डन बेलोन अवार्ड दिइएको थियो।  एट्लेटिकोमा ५ वर्ष बिताउँदा क्लबले १ सय ८६ खेलमा ८७ खेलमा जित निकालेको थियो। उनी मार्च १९९१ देखि जनवरी १९९२ सम्म रियल मड्रिडको प्रशिक्षकको रुपमा रहेका थिए। 

सन् २००३ मा लुइस भान गाललाई क्लबले बर्खास्त गरेपछि एन्टिक बार्सिलोनाको पनि प्रशिक्षक बनेका थिए। जहाँ उनको प्रशिक्षणमा बार्सिलोना सातौँ भएको थियो र युइएफए कपमा छनोट भएको थियो। त्यसलगत्तै उनी सेल्टा भिगोको प्रशिक्षक बने।त्यसपछि उनले सन २०१० को विश्वकपमा सर्वियाको राष्ट्रिय टोली सम्हालेका थिए। 

दक्षिण अफ्रिका विश्वकपमा सर्विया समूह चरणबाट बाहिरिएपछि उनी बर्खास्तीमा परे।  सन २००९ मा उनी सर्वियन वर्ष प्रशिक्षकसमेत घोषित भए।  २ वर्ष सर्वियामा बिताएपछि चाइनिज सुपर लिग क्लब सेन्दोङ लुनेङ र चाइनिज लिग वान क्लब हेविइ जोङ्जीमा बिताए।

प्रशिक्षण करियर सुरु गर्नुअघि एन्टिकले लोबोदा उजिस, पार्टिजन बेलग्रेड, फेनरवाचे, रियल जारागोजा र लुटन टाउनलाई खेलेका थिए। १७ वर्षको क्लब करिअरमा उनले ३ सय ६७ खेल खेले जसमा २७ गोल गरेका थिए। सेन्टर ब्याकमा खेल्ने उनले युगोस्लाभियाका लागि समेत एक खेल खेलेका थिए। 

सन् १९७३ मा हंगेरीविरुद्ध बेलग्रेडमा भएको मैत्रीपूर्ण खेलमा फ्रान्जो भ्यालिदको स्थानमा उनले डेब्यु गरेका थिए। त्यसपछि उनी राष्ट्रिय टोलीमा देखिएनन्। ‘आज सबै एथ्लेटिको प्रशंसकहरु र फुटबल दुनियाँका लागि दुखद् दिन हो’, एट्लेटिको मड्रिडका अध्यक्ष एनरिक सेरेजोले एक विज्ञप्तिमा भने, ‘एक महान् व्यक्तिले हामीलाई र हाम्रो सुनौलो टिमलाई उनले छोडे। हामी उनको नेतृत्वमा जितेको लिगा र कोपा डेल रे ट्रफीलाई सधैं सम्झन्छौं, उनलाई चिनेकोमा मलाई गर्व छ।’

‘एट्लेटिकोका अग्रजले आज हामीलाई छोडेका छन्,’ क्लबका कप्तान कोके रेसेरेसियनले ट्विटरमार्फत भने, ‘क्लबको महानता सधैं उहाँजस्ता व्यक्तिहरूमा प्रतिनिधित्व हुन्छ।’ रियल मड्रिडले पनि एक विज्ञप्ति जारी गर्दै उनको परिवार र साथीहरुप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

बार्सिलोनाले पनि ट्विट गर्दै भन्यो,  ‘२००३ मा एफसी बार्सिलोनाको व्यवस्थापन गर्ने राडोमिर एन्टिक आज बित्नुभयो। फुटबलको दुनियाँमा धेरै माया गर्ने मान्छे गुमाउँदा बार्सा परिवार शोक व्यक्त गर्दछ।’ खेलाडी र प्रशिक्षक बाहेक एन्टिकले कमेन्टेटरको काम पनि गरेका थिए। उनले सेडेना एसइआर, कोपे र रेडियो मार्कामा कमेन्ट्रीको काम गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.