|

बैतडी : क्वारेन्टाइनमा बसेका मानिसहरूको 'थ्रोट स्वाब' नमूना संकलन गर्न स्वास्थ्यकर्मीको टोली आज बैतडीमा आउँदैछ। स्वाब संकलनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीहरुको टोली आउन लागेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए

स्वास्थ्यकर्मीको टोलीले बिहीबारै पुर्चौंडीका तीन ठाउँ गहताड, हाट र नकालीका बसेकाको थ्रोट स्वाब संकलन गर्नेछ। यस्तै पञ्चेश्वरको कुलाउमा पञ्चेश्वर, शिवनाथ र मेलौलीमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको 'थ्रोट स्वाब' संकलन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पहिलो चरणमा बिहीवार ३४४ जनाको नमूना संकलन गरिने भएको हो। 

दोश्रो चरणमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका सुर्नयाको नेपाल राष्ट्रिय मावि ग्वानी, सिगासको शिवलिंग र डिलाशैनीको पङसेरामा 'थ्रोट स्वाब' संकलन हुने भएको छ। 

'थ्रोट स्वाब' को नमुना संकलन गरी काठमाडौं लगेर केन्द्रीय प्रयोगशालामा परीक्षण गरिनेछ। 

संकट व्यवस्थापन केन्द्र गठन 

बैतडीको पाटन नगरपालिकाले संकट व्यवस्थापन केन्द्र गठन गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने उद्देश्यसहित नगरप्रमुख केशवबहादुर चन्दको संयोजकत्वमा ४ सदस्यीय केन्द्र गठन गरिएको हो। केन्द्रको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महरा, इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँद र पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा सदस्य रहेका छन्‌। 

केन्द्रले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्य गर्ने केन्द्रका सदस्य एवं प्रमुख प्रशासकीय अधिकृत महराले जानकारी दिए। यस्तै विदेशबाट नगरक्षेत्रभित्र आएका नागरिकहरुलाई २१ दिन सम्म क्वारेन्टाइनमा राख्नका लागि वडाहरुले पहल गर्ने र वडाहरुमा पनि वडास्तरीय संकट व्यवस्थापन केन्द्र गठन गर्ने निर्णय भएको छ। वडा अध्यक्षको अध्यक्षतामा वडामा त्यस्तो केन्द्र गठन गरिने छ। 

यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको आइसोलेसन कक्ष स्थापना गर्ने र खोड्पे बजारमा भएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत महराले जानकारी दिए। 

कांग्रेसद्वारा खाद्यान्न हस्तान्तरण

नेपाली कांग्रेस वडा कार्यसमिति पुर्चौंडी नगरपालिका ७ कोटिला बैतडीले क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई विभिन्न खाद्यान्न वस्तुहरु हस्तान्तरण गरेको छ।

क्वारेन्टाइनमा बसेका १६ जनालाई चाउचाउ, विस्कुट, चिउरा, स्याम्पु, फ्रुटी, साबुन र बदाम हस्तान्तरण गरेको कांग्रेसका वडा समिति सभापति समेत रहेका वडा नं ७ का वडा अध्यक्ष रामबहादुर ऐरले जानकारी दिए। 

क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्‌। यसअघि भूमिराजमा पनि कांग्रेसको वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई सहयोग गरेको थियो। यस्तै दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित सुशीला होमस्टेका सञ्चालक सुशीला मडैले साबुन वितरण गरेका छन्‌।

सित्तडमा रहेका दलित समुदायका ५० घरपरिवारलाई प्रति परिवार एकवटाका दरले साबुन वितरण गरिएको छ। कोरोना भाइरसबाट बच्न र बचाउन साबुन पानीले हात धुनुपर्छ भन्ने सन्देश दिनका लागि आफूले साबुन वितरण गरेको मडैले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.