कोभिड-१९ {अपडेट}

सय वर्षकी आमा र द‌ृष्टिविहीन छोराको दु:खमाथि दु:खको पहाड

चैत २७, २०७६

    पाल्पा : अग्लो डाँडा, डाँडाको टाकुरोमा सम्म परेको पाखोबारी। त्यहि बारीको बीचमा दायाँतर्फ दुर्गाको मन्दिर। बाँयातर्फ कान्लामा खनियाको रूख।

    त्यहि रूखले झापस दिएको एउटा टिनले छाएको पुरानो घर, जुन लिपिएको छैन्। भित्ताहरू उप्किएका, वरिपरी झारहरू उम्रिएको, भाँडाकुडा, लत्ताकपडा यत्रतत्र छरिएको अवस्था। त्यहि घरको पिँढीमा टुक्रुक्क बसेकी छिन्‌ एक वृद्धा। उनकै छेउमा एक दृष्टिविहिन बसेका छन्‌, जो तिनै आमाका छोरा हुन्‌।

    यो ठाउँ हो : पाल्पाको बगनासकाली गाउँपालिका–७ झाँक्रीस्थान। सय वर्षीया वृद्धा गोमता भट्टराई र उनका ७० वर्षीय दृष्टिविहिन छोरा बेदराजले शारिरिक अशक्तता कारण दु:ख त भोगिरहेका थिए नै, त्यसैमाथि अर्को दु:खको पहाड थपिदिन फैलिइदियो कोरोना भाइरस।

    माइतीघरमा आमाको निधन हुनुभन्दा पहिले छोरीको विहे गर्नुपर्छ भन्दै गोमातालाई करिब ९ वर्षकै उमेरमा विहे गरिदिए। विहे गरेको भोलीपल्टै उनकी आमाको निधन भयो।

    वियोगका बीच विहे गरेर पराइ घर आएपछि गोमताको जीवनमा दु:खका अनेक अध्याय शुरू भए। सानो उमेरमा नै छोराछोरीकी आमा बनिन्। ती छोराछोरी नहुर्कँदै उनको जीवनमा अर्को बज्रपात निम्तियो। श्रीमानको मृत्यु भयो। सहारा दिने श्रीमानको अल्पायूमै निधन भएपछि घरखर्च चलाउन उस्तै धौ-धौ! अब आफू बाँच्न र साना छोराछोरीलाई बचाउन डोको बोकेर माग्‍न हिँड्नु बाहेक अन्य विकल्प रहेन।

    पिठ्यूँमा डोको, त्यहिमाथि एउटा छोरा बोकेर गाउँभरी माग्न हिँड्दा सहयोग गर्नुको साटो उल्टै हेपचेप सहिन्‌ गोमताले। पाल्पासहित स्याङ्जाको विर्घा, मिर्मीसम्म माग्न पुगिन्‌। यसरी जीवन गुजारा गर्दै आएकी गोमतालाई फेरी अर्को दुखका दीनले घेर्‍यो। आफुलाई पाल्ने छोराले दुवै आँखाको नजर गुमाउन बाध्य भए।

    आँखामा सामान्य समस्या भोगेका बेदराजले लामो समयसम्म उपचार पाएनन्‌। अन्तत: दृष्टिविहन नै बन्नु पर्‍यो। घरमा पैसा नहुँदा आफूले उपचार नपाएको बेदराजको सम्झना छ। जुनबेला उनी अन्दाजी ७ वर्षका थिए। त्यहि समयमा बुबाको समेत निधन भएको थियो। 

    तीन भाइ छोरामध्ये दुइ भाईले आफ्नै घर व्यवस्था मिलाएर बसेका छन्। सानो छँदा मागेर हुर्काइएका दृष्टिविहिन छोराले नै अहिले मागेर आफुलाई पालिरहेको गोमताले बताउँछिन्‌। वृद्धा गोमता भित्रऔबाहिरसमेत गर्न सक्दिनन्। दृष्टिविहिन छोरा बेदराजले वृद्धा आमालाई हातले छाम्दै भित्र-बाहिर गराउँछन्‌। सकि-नसकी आफैंले खाना बनाएर खुवाउँछन्‌।

    ‘एक ठाउँमा राखेका सामग्री यताउता हुन भएन,’ बेदराज भन्छन्‌, ‘जहाँ राखेको हो, त्यहिँ भयो भने खोजेको सामग्री भेटाउँछु, जेनतेन खाना बनाएर आमालाई खुवाउँछु र आफुले खाने गर्छु।’ जंगलमा गएर दाउरा खोज्नेदेखि धारोमा गएर गाग्रीमा पानी बोकेर ल्याउनेसम्मको काम उही द‌ृष्ट्रिविहीन बेदराजले नै गरिरहेका छन्‌।

    चामल, तरकारी, नुन, तेल सँधै एकै ठाउँमा राख्ने गर्छन्‌। नुन र तेलबाहेक अन्य मर-मसाला, प्याज र लसुन तरकारीमा राखेको अनुभव उनको जीवनमा छैन। ‘मीठो बनाएर खान सामग्री किन्ने पैसा नै हुँदैन्, पकाएर खान पनि जानेको छैन्’ उनी भन्छन्‌, ‘मीठो खाने रहर त कसलाई हुँदैन् र?’ 

    'सरकार हाम्रो भगवान हो'

    सरकार आफूहरूको लागि भगवान सावित भएको बेदराजले बताए। ‘मान्छेको जुनी पाइयो, तर मान्छेले आनन्द लिने जिन्दगी पाइएन,’ उनले भनेऽ ‘सरकारले दिएको भत्ताले खानसम्म पाएका छौं।’ सरकारले दिएको भत्ताले विहान-बेलुकी दुईछाक खान जेनतेन पुगेको उनले बताए।

    उनका अनुसार बिरामी हुँदा उपचार गर्न समस्या पर्छ। लत्ताकपडा समेत किन्न पैसा अभाव छ। ‘जिउमा लगाउने राम्रो कपडा छैन्, न्यानोसँग ओढ्ने ओछ्याउने कपडा समेत छैन,' उनले घरभित्र देखाउँदै भने ‘भात पकाएर खाने भाँडो गतिलो भाँडा पनि छैन।’ आमा भुइँमा एउटा च्यातिएको म्याट्रेस बिछ्याएर सुत्ने गरेको उनले बताए। आफू भने नाङ्गनो खाटमा सुत्दै आएका छन्।

    पछिल्लो समयमा भत्ता नपाउँदा आफूहरूलाई खान समस्या भएको बेदराजले बताए। तिहारमा भत्ता बुझेका उनले त्यसपछि पाएका छैनन्‌। विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएपछि सरकारले भत्ता दिन सकिरहेको छैन। समयमा भत्ता नपाउँदा खानेकुरा किन्न नपाएको उनले बताए। कतै खानको लागि मागेर हिँड्न समेत नपाएको बेदराजको गुनासो छ। 

    गाउँपालिका खुला दिशामुक्त, बेदराज बारीको कान्लामुनि जान्छन्‌

    बगनाशकाली गाउँपालिकाले भव्य कार्यक्रमकाबीच खुला दिशामुक्त घोषणा भइसकेको धेरै वर्ष भयो। तर बेदराजका आमा-छोराले अहिलेसम्म पनि खुला स्थानमै शौच गर्दै आएका छन्‌। 

    उनीहरूको शौच गर्ने स्थान हो : घरको ढोकै अगाडिको कान्ला। ‘खुल्ला ठाउँ छ, कसैले देख्ने हो कि भनेर लाज लाग्छ,’ बेदराजले भने ‘राती नै शौचालय जान्छु, उज्यालो भयो भने अलि पर बारीको कान्लामा पुगेर शौच गर्छु।’

    होटल व्यवसायीको सहयोग

    स्थानीय होटल व्यवसायी बसन्त कुवँर र तानसेनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका लक्ष्मण बस्यालले अशक्त र द‌ृष्ट्रिविहीन भट्टराई आमाछोरालाई तीन महिना पुग्‍ने लागि रासन सहयोग गरेका छन्।

    स्थानीय पसलबाट खरिद गरी तीन महिनाको लागी पुग्ने आवश्यक खाद्य सामग्री उपलब्ध गराएको व्यवसायी बसन्त कुवँरले जानकारी दिए।

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]