भेन्टिलेटर धमाधम मर्मत गर्दै, एम्बुलेन्स चालकलाई पीपीई

|

काठमाडौं : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का सम्भावित संक्रमितहरुको परीक्षणका लागि थ्रोट स्वाब लिनका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बुथ बनाएर सञ्‍चालनमा ल्याएको छ। 

केन्द्रले पहिलो पटक कोरोना भाइरसका बिरामीका लागि स्वाब परीक्षण गर्न चिकित्सकले सुरक्षितरुपमा प्रयोग गर्न सक्ने गरी पीपीई बुथ बनाएर सञ्चालनमा ल्याएको हो। केन्द्रले आवश्यक परीक्षण गरेर यो बुथ सञ्चालनमा ल्याएको आवष्किार केन्द्रका प्रमुख इञ्जीनियर शंकर ढकालले जानकारी दिए। 

वीर अस्पताल र छाउनीमा राखिने

केन्द्रले गत बुधबारदेखि काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र वीर अस्पतालमा बुथ सञ्चालनमा ल्याइसकेको छ। 

‘छाउनीको सैनिक अस्पताल र वीर अस्पतालमा बुथ सञ्चालनमा भइरहेको,’ उनले भने, ‘बुथमा एयर प्रूफ, वाटर प्रूफ र आल्मुनियम प्रयोग गरिएको छ। बुथ भित्रबाट चिकित्सकले विरामीसँग कुरा गर्न सहज होस भनेर स्पिकर पनि जडान गरेका छौँ।’ 

काठमाडौँ बाहिर पनि तयार हुँदै

आविष्कार केन्द्रकै सहजीकरणमा काठमाडौँ बाहिरका ठुला शहरमा रहेका अस्पतालमा पनि बुथ निर्माण हुँदैछ। ढकालका अनुसार आविष्कार केन्द्रकै प्रावधान अनुसार अन्य समूहले काठमाडौँ बाहिरका १३ शहरमा बुथ निर्माण गरिरहेका छन्। 

‘यहाँ यो प्रभावकारी देखिएपछि हामीले अन्य शहरमा पनि सञ्चालनमा ल्याउन लागेका हौँ,’ उनले भने।

अटोमेटिक रेस्क्यूलेटर पनि बन्दै 

आविष्कार केन्द्रले बिरामीलाई नै लक्षित गर्दै रेस्क्यूलेटरसमेत बनाउँदै छ। केन्द्रका प्रमुख महाविर पुनले भने, ‘रेस्क्यूलेटर बनाउन मेकानिकल इन्जिनियर गणेश सिन्केमन, रितेश देव, गौरव दास,  सुरज कार्की, सञ्जय बहादुर ठकुरी र किरण रौनियारको समूह खटेको छ।’ 

पीपीई बुथ प्रभावकारी भएपछि केन्द्रले निर्माण गरिरहेको रेस्क्यूलेटर पनि प्रभावकारी हुने पुनको विश्वास छ। रेस्क्यूलेटर विरामीलाई एम्बुलेन्समा राखेर लामो यात्रा गराउँदा विरामीले श्वासप्रश्वासमा समस्या नहोस भनेर बनाउन लागिएको पुनको भनाई छ। यो अटोमेटिक श्वास फेर्ने रेस्क्यूलेटर भएको केन्द्रले जनाएको छ।  

अस्पतालको भेन्टिलेटर मर्मत गर्दै 

आविष्कार केन्द्रले प्रविधि आविष्कारसँगै विभिन्‍न अस्पतालमा रहेका भेन्टिलेटर पनि धमाधम मर्मत गरिरहेको छ। पुनले थाहाखबरसँग भने, ‘अहिलेसम्म हामीले वीर अस्पतालका ३ वटा र ट्रमा सेन्टरमा ७ वटा भ‍ेन्टिलेटर मर्मत गरेर काम गर्न मिल्ने बनाइसक्यौँ। टिचिङमा कति बिग्रेका छन् हेरेर बनाउने योजनामा छौँ।’  

एम्बुलेन्सलाई पीपीई बाँड्दै

केन्द्रले अहिलेसम्म ११८ बटा एम्बुलेन्सहरुले पीपीई वितरण गरिसकेको छ। एम्बुलेन्स चालकको स्वास्थ्यलाई ध्यानमा राखेर पीपीई निर्माण गरि वितरण गरेको पुनले बताए। 

उनका अनुसार दुईवटा चालक भएका एम्बुलेन्सलाई दुईवटै पीपीई वितरण भइरहेको छ। केन्द्रले अझै पनि आवश्यक भएकाहरुलाई सम्पर्क गर्न भनेको छ। पीपीईको दुरुपयोग हुने भन्दै केन्द्रले लिनका लागि चालकले एम्बुलेन्स लिएरै केन्द्रमा आउनुपर्ने नियम बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.