'गलत भएको रहेछ भने कारबाही हुन्छ' : प्रमुख जिल्ला अधिकारी

|

गोरखा: विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड (१९)को सम्भावित संक्रमण न्यूनिकरण गर्न सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ। 

यो समयमा मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा आवत-जावत नगरुन् भन्ने  उद्वेश्यले देशभरका प्रशासन कार्यालय र स्थानीय सरकारले अत्यावश्यक प्रयोजनका सवारीसाधन मात्रै चलाउन स्वीकृति दिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले पनि यस्तै पास जारी त गरेको छ, तर घरबाट बाहिर निस्कन र आफ्नो कामधन्दामा लकडाउनको प्रभाव पर्न नदिन नक्कली कारण देखाउने व्यक्तिहरूलाई पहुँचका भरमा पास दिइरहेको छ।

अहिले नक्कली विवरण देखाउँदै खासमा समस्या नै नभएका मानिसहरूले पनि सवारीपास लिइरहेको प्रशासनस्रोतले जानकारी दियो। नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, 'पहुँच र शक्ति हुनेहरू त कामै नपरेपनि प्रशासनबाट पास लिएर घुम्न निस्केका छन्‌, संक्रमणले यस्तो गम्भीर अवस्था श्रृजना गरेका बेला जान्ने बुझ्ने भनिएकाहरूले नै यस्तो गर्न नहुने हो।'

नक्कली कारण भन्दै, पास लिँदै

जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक कामको नक्कली विवरण देखाएर सवारी पास लिनेहरु पनि भेटिएका छन्। 

‘केही दिनअघि मेरै छिमेकीले बिरामीलाई जँचाउन लैजाने भनेर प्रशासनबाट सवारी पास बनाई चितवन गएर कोठा गरेर बसेकी छोरीलाई घर ल्याए’, गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारीका एक स्थानीयले भने, ‘बिरामी जँचाउन लैजानु छ भन्ने हो भने सजिलै सबैलाई पास दिन्छ रेन्त !’

तर साँच्चै समस्या पर्ने सर्वसाधारणले भने यतिखेर सकस भोगिरहेका छन्‌। एकातिर सवारीसाधन नहुने र अर्कातिर हिँडडुल गर्न पास चाहिने भएपछि अतिआवश्यक र संवेदनशील अवस्थामा समेत सम्झौता गरेर घरमै थन्किनुपरेको छ।

पास हुनेलाई कोरोना संक्रमण हुँदैन?

'ह्युमन ट्रान्समिटेड भाइरस' अर्थात मानिसबाट मानिसमा सर्ने कोरोना जिवाणु संक्रमणले अहिले विश्वभर महामारी फैलिएका बेला सकेसम्म घर बाहिर त निस्कनै नहुने हो। मानिसहरूबीच भाैतिक दूरी कायम गरेरै यो संक्रमणको महामारीबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन घोषणा गरेको हो। अत्यावश्यक कामै नपरी घरबाहिर ननिस्कन सरकार र सरोकारवालाले सबैलाई आग्रह गरिरहेका छन्‌। 

तर गोरखा जिल्ला सदरमुकाममा चाहिँ यस्तो अवस्था छैन। 'मानिसको भावभंगिमा हेर्दा कुनै समस्या परेजस्तो देखिँदैन, तर प्रशासनबाट जारी भएको पास देखाएर हाँस्दै बत्तिन्छन्‌,' सडकमा सवारी आवागमनको नियमन गरिरहेका एक सुरक्षाकर्मीले भने, 'प्रशासनबाटै जारी भएको पास देखाएपछि हामीले रोक्न पनि मिलेन, पास लिएर हिँड्नेहरूले आफूलाई कोरोनाले भेट्नै नसक्नेजस्तो व्यवहार गर्छन्‌।

' सडकमा एउटै पास बोकेर एकै दिनमा धेरै पटकसम्म सवारीमा आउजाउ गर्ने मानिसहरू निकै धेरै रहेको ती सुरक्षाकर्मीले बताए। उनले थपे, 'माथिल्लो निकाय बेलैमा गम्भीर नभए संक्रमणको जोखिम बढ्ने देखियो।'

नियममा के छ?

सरकारले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु तथा पशुपंक्षीका लागि आवश्यक खाद्यान्न ढुवानी गर्न, औषधी ओसार-पसार गर्न, बिरामी तथा किरीयापुत्री ओसारपोसार गर्न, विद्युत, खानेपानी, टेलिकम, प्रशासनका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई समेत सवारी पास लिएर मात्रै सवारी चलाउन अनुमति दिइरहेको छ। यस बाहेकका सवारीसाधन यतिखेर चलाउन पाइँदैन। अत्याश्यक काम हुनेले उचित कारण र सवारी पास देखाउनुपर्छ।

जिल्ला प्रशासन कार्यालयले वितरण गरिरहेको सवारी पास दुरुपयोग भए/नभएको बारे छानबिन गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन्‌। प्रजिअ पौडेलले भने, ‘गलत भएको रहेछ भने कारवाही हुन्छ, यस बिषयमा छानबिन गर्नेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.