प्रत्येक प्रदेशमा पाँच हजारका दरले र्‍यापिड किट पठाइयाे

|
फाइल फाेटाे

काठमाडाैं : आइतबारयता गरिएका कोरोना भाइरस परीक्षणमा कसैमा पनि संक्रमण नेदिखिएको सरकारले जनाएको छ। आइतबारदेखि बिहीबारसम्म कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको र ती सबै नेगेटिभ भएको पाइएको छ। 

गत शनिबारसम्म कुल १ हजार ४ सय ४१ जनाको थ्रोट स्वाब परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो। जसमध्ये एक जनालाई निको भइसकेको छ। शनिबार एकै दिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो।

बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनै पनि परीक्षणमा संक्रमण नभेटिएको बताएका छन्। उनले बिहीबारसम्म कुल २ हजार ८ सय ९५ परीक्षण भइसकेको जानकारी दिए। 

जसमध्ये उपत्यकामा  २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ। त्यसबाहेक बिहीबार थप १ सय ९३ परीक्षण भइरहेको उनले जानकारी दिए। उनले बिहीबार गरिएका परीक्षणसम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताए। त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए। 

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड टेस्ट किट पठाएको जानकारी दिए। यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल ७ हजार ९ सय ४० जना रहेको उनले बताए। 

प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यकाबाहिर ९९ जना गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको बताए। बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटीसम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको बताउनुभयो। उनले कल सेन्टरमा आएका ३ हजार ३ सय ९५ जिज्ञासालाई सम्बोधन गरेको समेत बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.