|

डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेश सरकारले अतिविपन्‍न परिवारलाई तीन हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अतिविपन्‍न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई प्रतिपरिवार तीन हजारका दरले १६ करोड स्थानीय तहमार्फत राहत सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना भाइरस (कोभिडऔ१९) को उपचारमा खटिने स्वास्थ्यकर्मीको बिमामा १५ लाख दिने निर्णय गरेको छ। प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए। 

‘संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बिमामा प्रदेश सरकारले १५ लाख थप्ने निर्णय भएको छ,’ प्रवक्ता शाहले भने।

बैठकले सबै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीको लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ। सरकारले यहाँका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय गरेको छ। 

सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको लागि १५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता शाहले जानकारी दिए। 

मन्त्रिपरिषद् बैठकले कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरेको छ। प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि बैसाख मसान्तसम्म थप गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.