|

बैतडी : क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। बिहीवार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो। 

स्वाब संकलन गरिएका नागरिकको स्वाबको काठमाडौंमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। पुर्चौंडी नगरपालिकाको हाटमा १५९ जना, नकालीमा ७१ जना र गहताडमा ११३ जनाको थ्रोट स्वाब संकलन गरिएको हो। यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। उनका अनुसार पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४ जना र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ जना समेत गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब संकलन गरिएको हो।

कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो। स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यर्मीको सहभागिता थियो। 

जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको पनि थ्रोट स्वाब दोश्रो चरणमा संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए। तर उनीहरूको स्वाब कहिले संकलन गर्ने भन्ने विषयमा टुंगो नलागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अहिले क्वारेन्टाइनमा बसेका ४ स्थानीय तहका नागरिकको थ्रोट स्वाब संकलन गरिएको छ। 

उनीहरूको स्वाब परीक्षणपछि कसैको रिपोट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गरिन्छ भने रिपोट नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए। बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.