भन्छन् : जोखिम छ तर भागेर हुँदैन

|

काठमाडौ : अखबारका पानाहरूमा समाचारलाई प्रमाणित गर्ने फोटो देखिन्छन्। समाचारको विश्‍‍वासनीयतालाई थप मजबुत बनाउन फोटोको महत्व छुट्टै हुन्छ।

समाचारको 'कन्टेन्ट' अनुसार खिचिने कुनै फोटोले कहिलेकाहीँ मुटु नै हल्लाउँछ, कहिले खुशी बनाउँछ त कहिले दु:खी। आममान्छेलाई सोच्‍न बाध्य बनाउने ती फोटो समाचारलाई प्रमाणित गर्ने आधार पनि हुन्।

अहिले कोरोनाको त्रास विश्‍वभर फैलिइरहेको छ। यो त्रासबाट कुनै पनि क्षेत्रमा कार्यरत व्यक्ति अछुतो भने छैनन्। तर त्रासबीच पनि केही व्यक्तिहरु सडकमा दिनरात खटिएका छन्।

सुरक्षाकर्मी, स्वास्थ क्षेत्रका व्यक्ति, पत्रकारहरु अघिल्लो पंक्तिमा आउँछन। देशभर बिरामीका लागि स्वास्थकर्मी, सुरक्षाका लागि सुरक्षाकर्मी र सूचनाका लागि पत्रकार मैदानमा छन्।

सुरक्षाकर्मीसँगै रिपोर्टिङका लागि पत्रकारहरु पनि मैदानमा छन्। सडक बन्द हुँदा पनि समाचार लेखनमा कमी आएको छैन। डेस्कबाट समाचार लेख्‍ने पत्रकारलाई यो बेला केही सहज होला तर फोटो पत्रकारहरु फिल्डमै नउत्री फोटो आउँदैन। तर अहिलेको बेला कर्फ्यु या बन्द जस्तो होइन कोरोना भाइरसले जुनसुकै बेला आक्रमण गर्न सक्छ। कोरोनाको यही जोखिमबीच फोटो पत्रकारहरु निरन्तर मैदानमा छन्। 

सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको २५ लाखसम्मको बीमा गरिदिएको छ। साथमा भत्तासहितका सुविधा पनि छन्। पत्रकारलाई कोरोनाबाट सुरक्षित बनाउनका लागि न सरकारले न त पत्रकार महासंघले कुनै योजना ल्याएका छन्। यसका बाबजुद पत्रकारहरु खटिएका छन् मैदानमा।

नेपाल चैत ११ देखि लकडाउनमा छ। तर सञ्‍चारमाध्यमलाई यसले छोएको छैन। सञ्‍चारकर्मीहरु घरदेखि सडकसम्म निरन्तर सक्रिय छन्।लकडाउनका कारण घरमा बसिरहेका जनतालाई निरन्तर ताजा सूचना र समाचार चाहिन्छ। त्यसको जिम्मेवारी सम्हालिरहेका छन् पत्रकारले।

लेख, तस्बिर,अडियो, भिडियोमार्फत पत्रकारले लकडाउनबाट निरन्तर घरमा थुनिएका आमनागरिकसम्म सूचना पुर्‍याइरहेका छन्। यति हुँदाहुँदै पनि पत्रकारप्रतिको दृष्टिकोण सकारात्मक भएको पाइन्‍न। एक दुई गल्तीका कारण सबै पत्रकारलाई कतिपयले व्यङ्ग्य गरेको पनि सुन्‍न पाइन्छ।

'दिनभर समाचार लेख्ने र फोटो खिच्‍नका लागि पत्रकार सडकमै खुल्ला हिँडिरहेका छन्। यिनलाई रमाइलो छ,' यो व्यङ्ग्यले कतिपय पत्रकारको कामको अवमूल्यन गरिरहेको हुन्छ। आज हामीले लेखिरहेको यो कथा कोरोनाको संकटबीचमा पनि निरन्तर मैदानमा तस्विर खिच्‍नेहरुको हो। नेपाली सञ्‍चारमाध्यमका कयौँ फोटो पत्रकारमध्ये कोरोनाको संकटबीच मैदानमा निरन्तर सक्रियत चारजनाबारे लेख्‍ने कोसिस गरेका छौं।

१३ वर्षदेखि फोटो पत्रकारिता गरिरहेका प्रदीपराज वन्त कोरोनाको त्रासमा फोटो खिच्दै मैदानमा उत्रनु सहज नभएको बताउँछन। 'हामी घरभित्र बस्यौँ भने सूचना र समाचार मर्छ। मैदानमा उत्रनुको विकल्प छैन,' राष्ट्रिय समाचार समितिमा कार्यरत उनी सुनाउँछन्। 

कोरोनाको माहामारी हुनुअघि उनी युरोपमा थिए। युरोपमा त्यसबखत भर्खर फैलिरहेको कोरोनाको त्रासबीच उनले जर्मनी, बेल्जियम, नेदरल्यान्ड, स्विजरल्याण्डमा पनि रिपोर्टिङ गरे। त्यहाँ महामारी भएपछि उनी नेपाल फर्किए। एक महिनादेखि कोरोनाले पारेको प्रभावले आममानिसको जनजीविकाबारे तस्विर लिन ब्यस्त छन्। उपत्यका लगायत गोरखा,चितवन, नवलपरासी ,धादिङमा पनि फोटो खिच्‍न पुगे उनी।

सुरुवाती चरणमा कोरोनाको डर भएपनि अहिले अलि कम हुन थालेको अनुभव सुनाउँछन उनी। 'हरेक फोटो पत्रकारका परिवार छन्। सडकमा निस्किँदा डर त लाग्छ नै। तर पनि मनोबल उच्च बनाएर काम गरिरहेका छौँ। परिवारलाई 'कन्भिन्स' गराएका छौँ।'

कोरोनाको त्रास र ब्यस्तताबीच फोटो पत्रकार सुनिता डंगोललाई गते र बार थाहा पाउन पनि क्यालेन्डर हेर्नुपर्ने भएको छ। नेपाली फोटो पत्रकारितामा महिलाको उपस्थिति ज्यादै कम छ। तर उनी भने १४ वर्षदेखि फोटो पत्रकारितामा छिन्।

५ वर्षदेखि अन्‍नपूर्ण पोस्ट्मा कार्यरत डंगोललाई पनि कोरोना त्रास नभएको भने होइन। तर जहाँ भीड, जहाँ सम्मेलन, त्यहा पुग्‍नुपर्ने भएकोले सावाधानिपूर्वक पुग्‍ने गरेको बताइन्। माथि नै उल्लेख गरेजस्तो अहिले मास्क, ग्ल्बस र सेनिटाइजरको अभाव छ। पेट्रोल पनि अभाव रहेकाले फोटो पत्रकारलाई काममा खट्न सहज छैन।

अर्को कुरा घरबाट निस्किँदा सबै सावधानी अपनाउँदा पनि मनोवैज्ञानिक दबाब भने छ। दिनभर फोटोका लागि दौडधुप गरे घर फर्किँदा टाउको दुखे जस्तो, शरीरको तापक्रम बढे जस्तो अनुभव उनले गरिरहेकी छन्। 

उनी मुस्कुराउँदै भन्छिन्, 'जेसुकै भए पनि आखिर फोटो पत्रकारको जिम्मेवारी पूरा गर्नु त छँदैछ।' उनी ५ वर्षका छोराकी आमा पनि हुन्। 'छोरा पनि घरमा बस्दा बस्दा आफैसँग हिँड्न खोज्छ,' उनी भन्छिन्, 'उसलाई अहिले कोरोनाको संकटपूर्ण माहोलबारे थाहा छैन।'

यस्तै, १३ वर्षदेखि नेपाली फोटो पत्रकारितामा सक्रिय कृष्ण खड्का पनि अहिले फिल्डमै छन्। हाल रातोपाटीमा कार्यरत छन्। उपत्यकाका विभिन्‍न क्षेत्रमा पुगेर फोटो खिच्‍नु उनको दैनिकी हो। उनको तर्क पनि अन्य फोटो पत्रकारको जस्तै छ, 'जोखिमबीच फिल्डमा गएर तस्बिर खिच्नु नै फोटो पत्रकारको पहिलो धर्म हो।'

डरका बाबजुद सावधानी अपनाएर उपत्यकाका तीन जिल्ला घुमिरहेका छन् उनी। अतिसंवेदनशील क्षेत्रहरुमा अगाडि बसेर काम गर्नुपर्ने दायित्वले 'डरके आगे जित हे' सिद्धान्त अपनाएको बताउँछन उनी।

सरकारले पत्रकारलाई सडकमा आउन नरोके पनि विभिन्‍न क्षेत्रमा पुग्दा स्थानीयले प्रवेश निषेध गरेका छन्। यसलाई उनी सामान्यरुपमा लिन्छन्। भन्छन्, 'यो समय आफ्नै आफन्तलाई भेट्दा तर्किनुपर्ने बेला हो। स्थानीयले प्रवेश निषेध गर्नु सामान्य कुरा हो।'

कोरोनाको जनजीवन प्रभावित हुँदै गर्दा अनलाइन खबरका फोटो पत्रकार शंकर गिरि पनि निरन्तर मैदानमा छन्। कोरोनाले पारेको प्रभाव र आमामानिसको फोटो खिच्‍न उनी धेरैजसो समय सडकमै हुन्छन्। २ वर्ष देखि फोटो पत्रकारिता गरिरहेका उनी यो बीचमा भक्तपुरको खरिपाटी क्‍वारेन्टाइन, टेकु अस्पतालसहितमा पुगेर फोटो खिचिरहेका छन्।

उनी भन्छन्, 'पेशा नै फिल्डमा निस्किनुपर्ने हो हाम्रो। तस्बिर खिच्‍नु र समाचार विश्‍वासनीय बनाउनु हाम्रो जिम्मेवारी हो। यो जिम्मेवारीबाट भाग्‍नु कायरता हो। आफ्नो कामबाट भाग्‍नु पत्रकारिताको धर्म होइन।'

उनलाई पनि सुरुवातका दिनमा कोरोनाले त्रसित बनाएको थियो। जब तस्विर खिच्‍न टेकु अस्पतालका पुग्दा डाक्टर र नर्सको मनोविज्ञान बुझे तब उनीबाट बिस्तारै डरले छोड्दै गयो। अहिले उनमा त्यो त्रास छैन, तर जोखिम त उस्तै छ। 'उहाँहरु जसरी खटिरहनु भएको छ। त्यो देख्दा त्रास हट्दै गयो। अहिले सामान्य छ,' उनले अन्तिममा सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.