|

मनाङ : देश लकडाउनमा रहेका बेला दुर्गम जिल्ला मनाङमा औषधि अभाव बढेको छ। गर्मी बढ्दै गएपछि औषधिसहित लेक चढ्ने मनाङवासीहरूलाई औषधिको पुगेको छैन।

कोभिड १९ को संक्रमण फैलिन नदिन देश लकडाउन गरिए पनि मनाङमा विदेशीको आवातजावात बढी हुने ठाउँ भएकाले स्थानीयवासी त्रसित छन्।

यतिबेला मनाङको सदरमुकाम चामेलगायत माथिल्लो मनाङ, नार्पाभूमि लगायत जिल्लाको स्थानीय तहहरुमा नै औषधिको अभाव छ। औषधिको अभाव र कोभिड १९ को संक्रमणको मापनका लागि थर्मल गनसमेत नहुँदा समस्या परेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।

‘यहाँका नागरिकले सिटामोल, थर्मोमिटर, जस्ता सामग्री त उपलब्ध गराउन सकिएको छैन, कोभिड १९ विदेशबाट आउने व्यक्तिलाई मात्रै लागेको पाइएको छ, बढी विदेशीको आउजाउ हुने भएकाले यहाँ बढी संक्रमणको खतरा हुन सक्छ तर सरकारको साचो पुग्न सकेको छैन संक्रमण मापनका लागि प्रयोग गर्ने थर्मल गन खरिद गर्न खोज्दासमेत पाउन सकेको छैन,’ अध्यक्ष घले भन्छन्, ‘न त औषधि न त आधुनिक प्रविधिका उपकरण मनाङवासीलाई कसरी बचाउने भन्‍ने चिन्ता छ?’ उपकरण अभावले चिन्तित बनाएको अध्यक्ष घलेले बताए।

सरकारले प्रत्येक ठाउँमा थर्मल गन जस्ता कोरोना मापनका लागि यन्त्र उपलब्ध गराउने भनेको सुनेको भए पनि अहिलेसम्म मनाङको कुनै पनि स्थानीय तहमा नपुगेको उनको भनाइ छ। ‘केही विदेशी फर्किन नमानेर यही छन्, उनीहरु बिरामी परे सामान्य उपचारका लागि पनि औषधी छैन, कोरोनाको संक्रमण मापन गर्न हामीसँगै कुनैपनि औजार उपलब्ध छैन, उनीहरुको स्वाब परीक्षण के आधारले गर्ने ?,’ उनले भने। 

मनाङको सदरमुकाम चामेमा समेत औषधी अभाव रहेको छ। न त संघीय सरकार न त प्रदेश सरकारले मनाङको स्थानीय तहका लागि सामग्री उपलब्ध गराउन सकेको छैन। चामेभन्दा पनि विकट क्षेत्रबाट स्थानीयवासी बिरामी परेर आइहाले भने औषधी अभाव रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले बताउँछन्।

‘सामान्य उपचारका लागि सिटामोल जस्ता औषधीको अभाव छ, कोरोनाको संक्रमण फैलिए यहाँका मानिसलाई कसरी उपचार र परीक्षण गर्ने हाम्रो चिन्ताको विषय बनेको छ,’ घलेले भने। मनाङको नासों, चामे, नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा समेत औषधी अभाव रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.