|

काठमाडौ :  'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ...', 'धेरै चोटि मरेँ...', 'झुमा झुम्कावाली...' लगायतका गीतकी सर्जक शीतल कादम्बिनी यतिबेला घरमै बसिरहेकी छिन्‌।

यो विपत्तिका सरकारले लागू गरेको लकडाउन पालना गरी घरमै बस्दै गर्दा कादम्बिनीलाई २०७२ सालमा भूकम्पीय झट्का मच्चिँदा मानिसहरू अहिले झैं नडराएको जस्तो लाग्छ। यो त्रासका बीच बस्नु साँच्चै कठिन काम रहेको उनले अनुभव गरिरहेकी छिन्‌।

कोरोना संक्रमणका बीच सकस गुजारिरहँदा उनले सृजना कर्मको नतिजा पाठकसम्म पुर्‍याउने काम पनि पर सार्नुपरेको छ। भन्छिन्‌, ' भुकम्प आउँदा ताका चितवनमा बसेर तयार पारेको उपन्यास थियो, वैशाखमा उपन्यास सार्वजनिक गर्ने योजना दशैँमा धकेलिएको छ।' कठिन अवस्थामा लेखपढ गर्नु चुनौतीपूर्ण हुने र सुत्नु, उठ्नु र फेरि सुत्ने अनौठो दिनचर्या चलिरहेको उनले बताइन्‌।

यो बीचमा गीत लेखम ठप्पप्राय: नै छ। त्रासले सृजनशीलता पनि गुमेको उनले बताइन। यद्यपि; सृजनात्मक अभ्यास भने जारी छ। लकडाउनकै समयमा उनले केही गीत लेखिसकेकी छिन्‌। 'कामना गरौं : कोरोना भाइरसबाट विश्व मुक्त होस्‌, हामी पुन: पुराना दिनमा फर्कन सकौं।' उनी भन्छिन्‌, 'मान्छे स्वाभावले वडो स्वार्थी प्राणी हो, विपदको समयमा सवैभन्दा पहिले आफ्नो र परिवारको ख्याल गर्नुपर्ने रहेछ।'

नदेखिने किरो (कोरोना भाइरस) ले देखिने गरि जनजीवन, स्वास्थ्य र अर्थतन्त्रमा पारेको तथा हुनसक्ने प्रभावलाई बिर्सने हो भने यो दैनन्दिन कामको धपेडी भोग्ने गरेको समयभन्दा यो अवधि आनन्दले दिन बितिरहेको शीतल गिरी बताउँछन्‌। 'म बिना कसै कसैलाई, मुस्किल छ पोखरामा...' जस्ता गीतका श्रजक गिरी प्रकृतिलाई मानवीकरण भन्छन्‌, 'यति वेला मेरा आँखाले चाउथे (पोखरा)को फराकिलो फाँटबाट कुनै मैलो नलागेक निलो आकास देखेका छन्, पर...सराङकोटभन्दा पनि पर...कास्कीकोटको डाँडो छर्लङ्ग देखिएका छन्‌, उत्तरमा मुस्कुराइरहेका हिमश्रृंखलाहरू देखिएका छन्‌, नाकले कुनै दुर्गन्ध नमिसिएको स्वच्छ स्वासको अनुभव गरिरहेछ, कानले चराहरूको चिर्विर आवाज मिसिएको शान्त ध्वनीको अनुभव गर्न पाएका छन्।' 

उनलाई आफूले माया गर्ने र आफूलाई माया गर्ने मान्छेको सामिप्यता मात्रै होइन, यतिवेला आफूले आफैंलाई भेट्न पाएको पनि अनुभव भएको छ। चाहेका कुरा पढ्न, संगीत सुन्न, चलचित्र हेर्न वा इच्छा अनुसारका कुरा सिक्न यतिवेला पूर्ण स्वतन्त्रताको अनुभव पनि लकडाउनले दिएको छ। भन्छन्‌, 'मेरी एक वर्षकी छोरी र सात वर्षको छोरासँग खेल्दै म आफ्नो वालापनमा फर्कन पाएको अनुभव भएको छ ।

साठी वर्षको उमेर काटेका बुबाआमासँग फुर्सदिलो बनेर कुरा गर्न पाउँदा गिरीलाई बेग्लै मज्जा लागेको छ। थप्छन्‌, 'घरभित्र बस्दा असुरक्षित महसुस गरी घर बाहिर खुल्ला चौर र खेतमा बस्नुपर्ने भूकम्पको अनुभव लिएका हामी यति बेला घरबाहिर निस्कनु असुरक्षित महसुस गरी घरभित्रै बस्नुपर्ने अवस्थामा छौं।' धेरै भोगाइले खारिँदै गरेको अनुभवी पुस्ता हुन पाएको महशुस भइरहेको छ उनलाई। अरू कुराका लागि त सिंगो जिन्दगी छँदैछ। यस्तै लागेको छ गिरीलाई।

नेपाली चलचित्र प्रसादको चर्चित गीतका सर्जक गणेश शाह पनि यतिखेर लकडाउनका क्रममा घरमाै बसिरहेका छन्‌। १८ दिनदेखी फुर्सद नै फुर्सदमा रहेका उनले फिल्मका लागी केही गीत सृजना गरेका छन। संगीतकार सुवास भुसालले उनको गीतमा संगीत कम्पोज गरिरहेका छन्‌। लकडाउनको समयमा पुस्तक पढेर समय कटाइरहेको उनले बताए।

भन्छन, 'बिहान अबेर उठ्छु, हिँडडुल गर्न पाइएको छैन, घरमै व्यायाम र योगा गर्छु।' यो बीचमा बच्चाहरूसँग रमाइरहेको उनी बताउँछन्‌। लकडाउनअघि किनेको पुस्तक पढिरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.