थाहा संवाद

योगा र व्‍यायाम नै डर भगाउने अचुक औषधि

लकडाउन आफैंले आफुलाई चिन्‍ने राम्रो अवसर

चैत २९, २०७६

    विश्‍वव्‍यापी महामारी कोरोना भाइरसको संक्रमणको जोखिमका कारण नेपाली पनि लकडाउनमा बसिरहेका छौं। केही मानिसले यो समयको सदुपयोग गरेका छन् भने केहीलाई तनाव र छट्पटी भएको छ। व्यस्त दैनिकीमा एक्कासि अवरोध आएको छ। कतिपयलाई त दिन बिताउनै मुस्किल परेको छ।

    आफ्नै लागि समय दिने, अध्ययन गर्ने, शरीर तन्दुरुस्त राख्ने, योग ध्यान गर्ने, थाती रहेका घरभित्रैका काम सम्पन्‍न गर्ने, परिवारलाई समय दिनेहरूलाई लकडाउन राम्रो अवसर बनेको छ। स्वाथ्य, सुरक्षा, सञ्‍चार, अत्यावश्यक सामान ढुवानी लगायतका क्षेत्रमा काम गर्नेहरूको जिम्मेवारी भने झन् थपिएको छ।

    लकडाउन लम्बिँदै जाँदा घरभित्रै बस्नुपरेका मानिसहरूमा बेचैनी बढ्ने गरेको भेटिएको छ। सामाजिक सञ्‍जालमा झुण्डिने, अनावश्यक गेम खेलेर समय कटाउने, मोबाइलमा साथीभाइसँग लामो कुरा गरेर हैरान बनाउने क्रम बढेको छ। लकडाउनलाई कसरी थप उपलब्धिमूलक बनाउने? मानसिक रुपमा कसरी स्वस्थ रहने? यसै विषयमा थाहासञ्‍चार नेटवर्ककी ईश्वरी बरालले मनोविद् अनन्त केसीसँग गरेको कुराकानीको सम्‍पादित अंश :

    बाह्य गतिविधि ठप्प पारेर मानिसहरू घरभित्रै बस्नुपरेको छ। यस्तो अवस्थामा मानसिक समस्याको जोखिम कत्तिको छ?

    अवश्य नै छ। दैनिकी फरक भएपछि यो स्वाभाविक हन्छ। दिनहुँ दौडधुप गरिरहेका मानिसहरू एक्कासि घरमा थुनिएर बस्नुपर्दा अत्तालिने छटपटी हुने समस्या आउँछन्। मानिसका आ-आफ्ना प्रकारका स्वभाव हुन्छन्। घरभित्रै बसेर पनि रचनात्मक, सकारात्मक काम गर्न सक्नेलाई कम छटपटी हुन्छ भने शारीरिकरूपमा चलायमान मानिसहरूलाई बढी उकुसमुकुस हुन्छ।

    विशेषगरी दैनिक ज्यालादारी गरेर खानेहरूलाई यतिबेला कस्ता मानसिक समस्या देखिन सक्छन्?

    दिनदिनै काम गरेर खानुपर्ने मानिसहरूलाई आयस्रोत ठप्प हुँदा तनाव हुन सक्छ। महामारीको समय चलिरहेकाले धेरैको डराउने आत्तिने स्वभाव हुन्छ। केही मानिसको चाहिनेभन्दा धेरै डराउने स्वभाव पनि हुन्छ। सानो खबरले पनि आत्तिने बानी भएका मानिसहरू दैनिक कामबाट टाढा रहँदा मानसिक समस्या पर्न सक्छ।

    महामारी वा विपद्को समयमा बालबालिकाहरू बढी नै विचलित हुन सक्छन भनिन्छ। यस्तो समयमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ?

    बालबालिकाको लागि यो राम्रो अवसर पनि हो। अन्य समयमा कामकाजको व्‍यस्तताका कारण बालबालिकालाई अभिभावकले समय दिन पाइरहेका हुँदैनन् भने बालबालिका पनि घरमा अभिभावकसँग रमाउन पाइरहेका हुँदैनन्। बालबालिकाहरू चुलबुले स्वभावका हुने भएकाले उनीहरू एकै ठाउँमा बस्न सक्दैनन्।

    श्‍वासप्रश्‍वास प्रणालीमा कमजोर भएका युवायुवतीलाई पनि कोरोनाले सताउँछ। यसबाट बँच्‍नका लागि स्वच्छ र खुला हावामा बसेर व्‍यायाम गर्नुपर्छ। जसले फोक्सो मजवुत बनाउँछ।

    यस्तो बेलामा अभिभावकहरूले रचनात्मक भूमिका खेल्नुपर्छ, हरेक दिन योजनाबद्ध हिसाबले अघि बढ्दा रचनात्मक  र सिर्जनात्मक काम गर्न सकिन्छ। व्‍यायाम, नाचगान, घरभित्रै खेल्नमिल्ने खेलहरू र अध्ययन अध्यापन गराएर बालबालिकालाई मनोरन्जन दिन सकिन्छ। साना बालकहरूलाई आफूसँगै राखेर कथा गीतहरू सुनाउन सकिन्छ। आफ्ना परिवारका सदस्यहरूसँग नजिकिने समय पनि हो।

    परीक्षा रोकिएर तनावमा परेका विद्यार्थीलाई के सल्लाह दिनुहन्छ?

    विद्यार्थीहरूले यसलाई परीक्षा तयारीको थप मौकाको रुपमा लिनुपर्छ। आत्तिने, निराश हुनेभन्दा पनि परीक्षा कसरी राम्रो गर्न सकिन्छ भनेर लागिपर्नु पर्छ। परीक्षा रोकिएर तनाव लिनुभन्दा पनि विद्यार्थीहरूलाई परीक्षाका लागि थप तयारी गर्ने समय र अवसर मिलेको रुपमा यसलाई लिएमा तनाव कम र रचनात्मक बढी भइन्छ।

    एकपटक गरेको परीक्षाको तयारीलाई पटकपटक दोहोर्‍याउँदा पक्कै पनि त्यसले राम्रो फल दिन्छ। बिहान सबेरै उठ्ने गर्नुपर्छ। नित्यकर्मपछि व्‍यायाम र ध्यान गर्नाले सकारात्मक ऊर्जा दिन्छ। नकारात्मक समाचारहरू कम पढ्ने हेर्ने गर्नाले पनि मनमा शान्ति मिल्छ।

    मोबाइल, ल्यापटप र बसेर खेल्ने खेलहरू मात्रै खेल्नुभन्दा पुस्तक पढ्ने बानीले विद्यार्थीलाई बढी फाइदा दिन्छ। परीक्षाको तयारीका किताबहरूसँगै अन्य ज्ञानबर्द्धक पुस्तकहरूको अध्ययनले अध्ययनमा रुचि बढाउँदछ। दिनको एक वा दुईपटक समाचार हेर्ने गर्दा पनि मनमा शान्ति मिल्छ।

    अरू देशमा वृद्धवृद्धाको मृत्यु भएका खबरले नेपालका वृद्धवृद्धामा त्रास देखिन्छ। मनोबल बढाउन के गर्न सकिन्छ?

    कोरोना भाइरसले वृद्धावृद्धलाई आक्रमण गर्नुको कारण के हो भने उनीहरूको श्‍वासप्रश्‍वास प्रणालीमा ह्रास आइसकेको हुन्छ। श्‍वासप्रश्‍वास प्रणालीमा कमजोर भएका युवायुवतीलाई पनि यो रोगले सताउँछ। यसका लागि व्‍यायाम अपरिहार्य छ। व्‍यायामले फोक्सो मजवुत हुन्छ। स्वच्छ र खुला हावामा बसेर व्‍यायाम गर्नुपर्छ। कोरोना संक्रमणका कारण पाको उमेरका मानिसहरूको मृत्यु भएको खबर सकेसम्म वृद्धावृद्धहरूलाई सुनाउनु हुँदैन।

    घरमा हुने युवाहरूले वृद्धावृद्धलाई यस्तो खबरबाट टाढै राख्‍नुपर्छ। बरु त्यसको सट्टा मनोरन्जनात्मक कार्यक्रमहरू देखाएर राख्न सकिन्छ। कोरोनाको विषयमा धेरै चर्चा गर्नु हुँदैन। अत्याउने कुराहरू पनि गर्नु हुँदैन। वृद्धावृद्धाहरू पनि सबैजना आत्तिने, निराश हुने नभए पनि डर त्रास देखाउनु हुँदैन।

    एउटै विषयले पनि कोही मानिसलाई डर लाग्ने र कसैले सामान्य लिने किन हुन्छ?

    मानसिक रुपमा बलियो भएका मानिसलाई डर कम लाग्छ भने मानसिक स्थिति कमजोर भएका व्‍यक्तिहरूले बढी डर मान्छन्। मानसिक रुपमा दरिलो र सन्तुलित छौँ भन्ने कुराले पनि यसमा अर्थ राख्दछ। यो एउटा मानवीय स्वाभाव पनि हो। कोही मानिस दु:खदेखि आत्तिदैनन्, कोहि सानो समस्यालाई पनि पहाड ठान्छन्। यसको प्रमुख कारण मानसिक मजबुती नै हो। आँट बढाउनका लागि योग अचुक उपाय हो।

    अपांगता भएका, दीर्घरोगका बिरामी, गर्भवती, सुत्केरी अथवा विशेष अवस्थाका व्‍यक्तिहरूलाई तनाव हुन नदिन केके गर्न सकिएला?

    शारीरिक अपांगता र तनावको कुनै सम्बन्ध छैन। अथवा दीर्घरोगका बिरामीलाई बढी तनाव हुन्छ भन्ने पनि हुँदैन। तनाव हुनु अथवा नहुन भनेको नितान्त मानसिक कुरा हो।

    बाहिरबाट हेर्दा स्वस्थ र हट्टाकट्टा देखिने, मोटो र ठूलो शारीरिक बनावट भएका  मानिसहरू समेत डराउन सक्छन्। पहलमान जस्ता मानिसहरू पनि डराउन सक्छन्। सानो शारिरिक कद भएका,लिखुरे मानिसहरूको आँट ठूलो हुन सक्छ। बलियो शरिर हुनेहरू सबै आँटिला नहुन पनि सक्छन्।

    समस्या जुनसुकै बेला पनि आउन सक्छ। हामी एक सय वर्ष पछाडि के हुन्छ भन्ने योजना बनाउछौँ तर एकैछिनपछि के हुन्छ होला भन्नेतर्फ कसैको ध्यान जाँदैन। 

    समाजका कुनै पनि घटनालाई उसले कसरी लिन्छ भन्‍ने महत्वपूर्ण विषय हो। तर, अनावश्यक र नकरात्मक समाचारबाट भने बच्नुपर्छ। अपांगता भएका व्‍यक्तिलाई कोरोना भाइरसको संक्रमण हुने भन्ने होइन। बरु दीर्घरोगका बिरामीलाई यसको संक्रमण हुने जोखिम भएकाले उनीहरूलाई बारम्बार नकारात्मक समाचारहरू देखाउन, सुनाउन हुँदैन।

    लकडाउनले आयस्रोत प्रभावित हुन थालेपछि सुरु भएको तनाव कम गर्न के गर्न सकिन्छ?

    यो एक जनालाई मात्रै परेको समस्या होइन। विश्वभरि परेको समस्या भएको कारण हामीले के बुझ्नुपर्छ भने यो मलाई मात्रै परेको समस्या हैन र समस्या भोग्ने म एक्लो मात्रै पनि हैन। यस्ता समस्याहरू आउँदा स्वीकार गरेर सहन सक्नुपर्छ। सहनशील र धैर्य हुन सक्नुपर्छ। खाना,बस्न नै समस्या परेका मानिसहरूको हकमा त सरकार र समाज जिम्मेवार हुनुपर्छ।

    आय आर्जन हुँदा नागरिकहरूले कर तिरेका छन्, देशका सेवा गरेका छन्। आज नागरिकलाई समस्या पर्दा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।  यसमा स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ। कोरोनाका कारणले भन्दा पनि नागरिकहरू खान नपाएर भोकमरीले ज्यान जाने अवस्था नआओस्। आफ्ना नागरिकको ख्याल गर्नु राज्यको दायित्वको विषय हो।

    विभिन्न रचनात्मक विषयमा आफूलाई व्‍यस्त राख्‍न सके तनाव कम हुन्छ भनिन्छ। त्यस्ता रचनात्मक काम के के हुन सक्लान्?

    सबै मानिस रचनात्मक नै हुन्छन् भन्ने छैन। मानिस  दुई प्रकारका रचनात्मक हुने गर्छन्। कोही व्‍यक्ति आफैँ मनोरञ्‍जनको नयाँ विषयवस्तु उत्पादन गर्छन् भने केही अरूको रचनामा रमाउँछन्। करिब पाँच प्रतिशत मानिस मात्रै नयाँ विषयवस्तुको रचना गर्न सक्छन्। बाँकी सबै अरूकै रचनामा रमाउने गर्छन्। यस्तो समयमा नाचगानमा व्‍यस्त रहनु असाध्यै राम्रो हुन्छ।

    अचानक आइपर्ने महामारी वा विपत्तिमा कसरी मानसिक अवस्था सन्तुलनमा राख्‍न सकिन्छ?

    समस्या जुनसुकै बेला पनि आउन सक्छ। हामी एक सय वर्ष पछाडि के हुन्छ भन्ने योजना बनाउछौँ तर एकैछिनपछि के हुन्छ होला भन्नेतर्फ कसैको ध्यान जाँदैन। हामीले के बुझ्नुपर्छ भने जीवनमा एकछिनपछि जे पनि हुन सक्छ त्यसलाई हामीले सहजरूपमा स्वीकार्नुपर्छ। यसका लागि धैर्यता पनि उत्तिकै आवश्यक पर्दछ भने आफूले आफूलाई चिन्न खोज्ने समय हो। हिजो परेको समस्याको आधारमा हाम्रा पुर्खाहरूले सन्ततिहरूलाई सिकाउँदै गएका शिक्षाबाट हामी अत्यन्तै धैर्य हुनु आवश्यक छ।

ईश्वरी बराल

थाहा सञ्चार नेटवर्कमा आवद्ध छिन्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]