यसरी एक हप्तामा ४ सय ७१ भारतीय नेपाल छिरे

|

बाँके : नेपाल–भारत सीमा नाका सिल गरिए पनि मानिसको आऊजाऊ रोकिएको छैन। मजदुरी गर्न भारत गएका नेपालीलाई स्वदेश फर्किन सकिरहेका छैनन्। तर तरकारी र खाद्यान्न ढुवानी गर्ने नाममा भारतीयहरु नेपाल प्रवेश गरिरहेका छन्। यो एक हप्ताको अवधिमा चार सय ७१ जना भारतीय नेपाल आएका खुलेको छ। उनीहरु अत्यावश्यक सामान ओसार्ने मालवाहक गाडी भएर नेपाल छिरेका हुन्। 

तीमध्ये मालबाहक गाडीसँगै दुई सय ४४ जना भने भारत फर्किएका छन्। अतिआवश्यक सामग्री लिएर सबैभन्दा धेरै २९ चैतमा भारतीहरु नेपाल आएका इलाका प्रहरी कार्यालय, जमुनाहको तथ्यांकले देखाएको छ। २९ चैतमा मालबाहक गाडीमा एक सय ५४ जना भारतीय नेपालगन्ज नाका भएर भित्रिएका छन्। 

त्यसैगरी २५ चैतमा एक सय ३८ जना नेपाल आएका थिए। २७ चैतमा ८८ जना, २४ चैतमा २४ जना, २६ चैतमा ५४ जना र २८ गते २२ जना भारतीय मालवाहक गाडी भएर नेपाल आएका जमुनाहका प्रमुख सई माधवप्रसाद रिजालले जानकारी दिए। २९ चैतमा आएका एक सय ५४ जनामध्ये ६६ जना भारतीय भने फर्किएका छन्।  

‘२५ चैतपछि मात्र एउटा मालबाहक गाडीमा दुई जनाभन्दा धेरै बस्न नपाइने नियम बनाइयो,’ रिजालले भने, ‘त्यसअघि एउटा गाडीमा कति जना आउँथे भन्ने ख्याल गरेनौँ।’ उनले मालबाहक गाडीको साथमा अनधिकृत रुपमा प्रवेश गर्न सक्ने अवस्था नरहेको बताए। भारतबाट आएका मालबाहक गाडीमा कति जना आए भन्ने रेकर्ड दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेको उनले बताए।  

गाडी, चालक र सहयोगीबाट कोरोना भित्रिने खतरा 

मालबाहक गाडीका चालक र सहयोगीमार्फत भारतबाट नेपालमा कोरोना भित्रिन सक्ने खतरा प्रवल रहेको चिकित्सकले बताएका छन्। मालबाहक गाडीका चालक र सहयोगी पनि संक्रमित हुन सक्ने भेरी अस्पतालका कोरोना भाइरस रोग फोकल पर्सनसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले बताए। 

उनले तरकारी र खाद्यन्न बिक्रीका नाममा नेपालगन्जलगायत बाँकेका अन्य सहरमा सर्वसाधारणको भीडभाड लाग्ने गरेको बताए। कोरोना सर्न नदिन सामाजिक दूरी बढाउनुपर्ने भए पनि यहाँ नियम पालना नभएको उनी बताउँछन्।

सेनिटाइज गरेर मात्र प्रवेश अनुमति : भन्सार प्रमुख निरौला

भारतबाट नेपाल आउने मालबाहक गाडीलाई सेनिटाइज गरेर मात्र प्रवेश गर्न दिइएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए। भारतबाट नेपाल प्रवेश गर्ने बित्तिकै भन्सार कर्मचारी र सशस्त्र प्रहरीको टोलीले गाडीमा औषधि स्प्रे गरेर गाडीलाई सेनिटाइज गर्ने गरेको निरौलाले बताए।बाहिर सेनिटाइज गरिए पनि भित्र गर्न सम्भव नभएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.