३६ सय मानिसमध्ये क्‍वारेन्टाइनमा जम्मा ८९ जना मात्र बसे

|

दाङ :  जिल्लामा विदेशबाट फर्किएका ३ हजार ६ सय बढी छन् । तर तीमध्ये ८९ जना मात्र क्‍वारेन्टाइनमा छन् । तीमध्ये पनि ४९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि डिस्जार्च गरिएको छ । 

बाँकी पनि धेरैजसो होम क्‍वारेन्टाइनमा रहेका कारण जिल्लामा स्थानीय तहले बनाएका धेरैजसो क्‍वारेन्टाइन रित्तै जस्तै छन् । आइसोलेसन कक्ष पनि खालि छन् ।फागुन २५ देखि चैत ११ सम्मको अवधिमा भारतलगायत तेस्रो मुलुकबाट ३ हजार ६ सय ३७ जना जिल्ला भित्रिएका स्थानीय तहको तथ्यांकले देखाएको छ । 

त्यसरी जिल्ला भित्रिनेलाई सरकारले अनिवार्य रुपमा क्‍वारेन्टाइनमा राख्न अनुरोध गरे पनि अधिंकाश मानिस घरमै होम क्‍वारेन्टाइन भन्दै बसेका छन् । तर हालसम्म कुनै त्यस्तो समस्या भने नदेखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङका सूचना अधिकारी विश्व अर्यालले बताए  । 

जिल्लाका १० वटा स्थानीय तह छन् । ती पालिकामा  ३ सय ४२ बेडको क्‍वारेन्टाइन र दाङको बेलझुण्डीमा १ सय बेडको कोरोना विशेष अस्पताल बनाइएको छ । त्यस्तै सबै स्थानीय तहमा गरी ६६ बेडको आइसोलेसन बेड तयारी अवस्थामा रहेको अर्यालले बताए । दाङमा भारतबाट मात्र ३ हजार ४ सय ९५ जना भित्रिएका छन् ।

सबै भन्दा धेरै दाङको बंगलाचुली गाँउपालिकामा १ हजार ४ सय १३ जना भित्रिएका छन् । तीमध्ये कोही पनि स्थानीय तहले बनाएका क्‍वारेन्टाइनमा बसेका छैनन् । सबै होम क्‍वारेन्टाइनमा बसेका बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । विदेशबाट आएकाहरु गाउँमा सबैसँग घुलमिल भइरहे पनि अहिलेसम्म कसैमा पनि समस्या नदेखिएको उनले बताए । 

घोराही उपमहानगरपालिकामा  १ हजार २ सय ६८ जना विदेशबाट भित्रिएका छन्। तीमध्ये केहीलाई क्‍वारेन्टाइनमा राखी परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको र केहीलाई होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको उपमहानगरका प्रवक्ता भरत अर्यालले बताए । उपमहानगरका जनप्रतिनिधिहरुले प्रत्येकका घरमा पुगेर शंकास्पद व्यक्तिलाई क्‍वारेन्टाइन र कोरोना विशेष अस्पतालमा पठाउने गरेको उनले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.