|

  • भूपाल थापा-

कपिलवस्तु : नेपालका लागि भारतीय राजदूत रञ्जित रेले लुम्बिनीको बृहत्तर विकास प्रति भारत सरकार सकारात्मक रहेको बताएका छन्। बौद्धमार्गीहरुको प्रमुख गन्तव्य, बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजनाको गति सुस्त रुपमा अघि बढिरहेको बेला लुम्बिनीको समग्र विकासमा भारतीय चासो देखिएको हो।

भियतनामको नयाँ बर्षको अवसर पारी आइतबार भियतनाम बौद्धबिहारको निमन्त्रणामा आइतबार लुम्बिनी आएका राजदूत रन्जित रेले बिगतमा पनि भारत सरकारको पहलमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र लुम्बिनीको भवन बनाएकाले हाल आएर पनि वुद्धिष्ट सर्किटको निर्माण कार्य जारी राखेको जानकारी गराए।

उनले बौद्धगया, श्राबस्ती, कुशीनगर, लुम्बिनी जोड्न बुद्ध सर्किटको निर्माणसँगै रक्सौल र जोगबनी जस्तै पर्यटकहरुको टुरिजम भिसाको सहजताका लागि बेलहिया (सुनौली) बोर्डरमा अन्र्तराष्ट्रिय चेकपोष्ट बनाउने पहल भइरहेको समेत बताए। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएर मायादेवी मन्दिर परिसरमा रोपिएको बोधिबृक्षमा पानी हालेर मुलुकमा शान्तिसुरक्षा स्थापनार्थ प्रार्थना समेत गरे ।

पत्रकारको प्रश्नमा राजदूत रेले नेपाली जनताको इच्छा र आकांक्षा अनुसार संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाएमा नेपालको विकास निर्माण कार्यमा भारतको सहयोग रहने बताए। नेपालको विकासलाई भारत सरकारले अत्यन्तै महत्वका साथ हेरेको प्रतिक्रिया दिए।

नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको बताउँदै उनले भने, ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, समयसँगै द्विपक्षीय अझ प्रगाढ बनाउनुपर्छ।’ उनले सांस्कृतिक तथा आर्थिक रुपमा पनि नेपाल–भारत सम्बन्ध तिव्र गतिमा अघि बढाउने प्रयासहरु भइरहेको जनाए। 

उनले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागी कपिलबस्तुको तिलौराकोट, कुदान, निगालिकोट लगायतका स्थानको विकास हुनुपर्नेमा जोड दिए। अब छिट्टै तिलौराकोटको उत्खनन्, संरक्षणमा भइरहेका प्रयासको स्थलगत अवलोकनका लागि भ्रमण गर्ने तयारी गरिएको बताए।

भारतीय राजदूत रे लाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध र भियतनाम बौद्ध बिहारका भिक्षु डा.लाम, कोषका सूचना अधिकृत हरिध्वज राई, राजेश ज्ञवाली लगायत कोषका उच्च कर्मचारी तथा बिभिन्न बौद्ध बिहारका भिक्षुगणले खादा ओढाई स्वागत गर्नुका साथै बुद्धपूजा समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.