|

दमक : लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाएको भन्दै उर्जा मन्त्री जनार्दन शर्मा, मन्त्रालयका सचिव अनुपराज उपाध्य र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झापाको दमकमा नागरिक अभिनन्दन गरिएको छ।

नागरिक अभिनन्दन मूल समितिले लोडसेडिङको मारमा परिरहेको बेला तस्करी नियन्त्रण गरि लोडसेडिङ अन्त्य गरेकोमा मन्त्री शर्मा, सचिव उपाध्य र घिसिङलाई सम्मान गरेको हो। उनीहरुलाई नागरिकहरुले दोसल्ला ओढाएर तथा सम्मानपत्रले अभिनन्दन गरेका हुन्।

अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री शर्माले साउनको महिनामा लोडसेडिङ गर्ने सरकारका प्रमुख र मन्त्रीले आफ्नो आलोचना गर्दा दुख लागेको बताए। उनले भने ‘यो देशमा कुनै विद्युत पावर नथपि पनि लोडसेडिङ अन्त्य गर्न सम्भव थियो, हामीले जनवरीको पहिलो दिन देखि मात्र विद्युत थपेका हौँ, तर उहाँहरुले साउन महिनामै लोडसेडिङ गर्नुहुन्थ्यो।’

मन्त्री शर्माले देशैभरी लोडसेडिङ मुक्त गर्ने अभियान सुरु गरिएको बताए। ‘नेपालको पानी जनताको लगानी, लोडसेडिङमुक्त देश चाहन्छ नेपाली’ भन्ने अभियान मुलुक समृद्ध पार्नको लागि ल्याईएको भन्दै मन्त्री शर्माले हाइड्रो पावरमा लगानी गर्न सबै जनतालाई आह्वान समेत गरे।

आफू जनताको सेवा गर्न मन्त्री भएको बताउदै उनले जस्तोसुकै परिस्थितिमा पनि जनताकै पक्षमा काम गर्न बताए। मन्त्री शर्माले भने,‘ मैले मन्त्री हुने बेलामा देशलाई लोडसेडिङ मुक्त गर्छु भन्दा कसैले पत्याउनु भएन सबैले आलोचनामात्र गर्नुभयो, तर यो संभव भएरै छाड्यो।’ नेपाललाई उज्यालो बनाउन आफु उज्यालो नेपाल अभियाननै लिएर अघि बढेको समेत बताए।

अभिनन्दन कार्यक्रममा बोल्दै उर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्यायले मन्त्री शर्माको कुशल नेतृत्वमा आफूहरुले मुलुकलाई लोडसेडिङ मुक्त पार्न सकेको धारणा राखे। त्यसै गरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुले कुनै ठूलो काम नगरेर आफ्नो कर्तब्य मात्र पुरा गरेको बताए। मुलुकमै उपलब्ध बिद्युतलाई ब्यवस्थित रुपमा वितरण गर्दा लोडसेडिङको तालिका ल्याउनु नपरेको उनले बताए। सबैको सहयोगमा देशलाई लोडसेडिङ मुक्त बनाउन सम्भव भएको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.