|

कञ्चनपुर : कोरोना भाइरस परीक्षणका लागि 'र्‍यापिड डाइग्नोष्टीक टेस्ट(आरडिटि)' विधिबाट कञ्चनपुरमा हालसम्म ४८३ जनाको परीक्षण गरिएको छ। नौ वटै स्थानीय तहले सञ्चालन गरेका 'क्वारेण्टाइन'मा बसेका र सुरक्षाकर्मीलगायतको 'र्‍यापिड टेष्ट' गरिएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरले तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको तीन-वटा टोली परिचालन गरी 'क्वारेण्टाइन'मा १४ दिन बसेका व्यक्तिहरुको रगतको नमूना लिई 'र्‍यापिड टेष्ट' विधिबाट परीक्षण गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।

'र्‍यापिड टेष्ट' विधिबाट परीक्षण गरिएका मध्ये स्वास्थ्य कार्यालयले ४०७ जना र भीमदत्त नगरको बैजनाथ माध्यमिक विद्यालयमा 'क्वारेण्टाइन'मा बसेका ७६ जनाको काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको हो। बैजनाथ माध्यमिक विद्यालमा बसेकाहरुको 'स्वाब' र 'र्‍यापिड टेष्ट'को नतिजा भने आएको छैन।

स्वास्थ्य कार्यालयले परीक्षण गरेका सबै जनाको रिपोर्ट 'नेगेटिभ' आएको छ। स्वास्थ्य कार्यालयले १३७ जना 'क्वारेण्टाइन'मा बसेका भारतबाट फर्केका व्यक्तिहरु र २०७ जना पश्चिमी सीमा नाका गड्डाचौकी र अन्य सीमा नाकामा रहेर भारतबाट फर्केकाहरुसँग प्रत्यक्ष रुपमा संलग्नभै कार्य गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीलगायतको 'र्‍यापिड डाइग्नोष्टीक टेस्ट' गरिएको स्वास्थ्य कार्यालय प्रमुख सुनारले बताए।

'भारतबाट फर्केका 'क्वारेण्टाइन'मा नबसेका व्यक्तिहरुको विवरण नौ वटै स्थानीय तहबाट माग गरेका छौं,' उनले भने, 'विवरण आएपछि भारतलगायत अन्य मुलुकबाट आएकाहरुको पनि र्‍यापिड टेष्ट विधिबाट परीक्षण गर्छौं।'

'र्‍यापिड डाइग्नोष्टीक' विधिबाट परीक्षण गर्ने किट थोरै मात्रै प्राप्त भएकाले धेरै प्रयोग भैसकेको र केही किट बिग्रिएकाले थप किट आवश्यक पर्ने उनले बताए। टेस्टका लागि आवश्यक किट प्राप्त भएमा परीक्षणको कार्यलाई पुन: अगाडी बढाइने उनले बताए।

र्‍यापिड डाइग्नोष्टीक टेस्ट विधिबाट कोरोना भाइरस परीक्षण गर्ने कार्यसँगै छुट्टै किटको माध्यमबाट 'क्वारेण्टाइन'मा बसेका र अन्यको मलेरिया परीक्षणको कार्यसमेत गरिएको छ। लालझाडी गाँउपालिकाका 'क्वारेण्टाइन'मा बसेका भारतबाट फर्केका दुई जनामा परीक्षणका क्रममा मलेरिया देखिएको सुनारले जानकारी दिए। मलेरिया देखिएकालाई नजिकैको स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा औषधी उपलव्ध गराउने व्यवस्था समेत गरिएको छ।

कञ्चनपुरमा 'क्वारेण्टाइन' बेड संख्या ४०८ रहेकोमा 'क्वारेण्टाइन'मा १३७ जनालाई मात्रै राखिएको छ। भारतलगायत अन्य मुलुकबाट फर्कनेको संख्या भने पाँच हजार ४६३ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.