फिचर

कोरोना कहरबीच सूचना प्रवाहमा यसरी डट्दैछन्‌ टेलिभिजन पत्रकार

भन्छन् : 'रिपोर्टिङ सजिलो छैन, तर हाम्रो कर्तव्य यही हो'

बैशाख ६, २०७७

    काठमाडौं : कोरोनाविरुद्ध लड्न सरकारले लकडाउन गरेको २५ औं दिन पुगिसकेको छ। विश्‍वभर कोरोनाको उच्च संक्रमण रोक्न धेरै देश अहिले लकडाउन छन्। यस बीचमा आम जनजीवन दैलोभित्र कैद जस्तै छ। सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारीसाधन चलेका छैनन्। सडकमा सुरक्षाकर्मी र पत्रकारलाई मात्रै देख्‍न सकिन्छ।

    सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि २५ लाख रुपैयाँसम्मको बीमा गरिदिएर कोरोनाविरुद्धको लडाइँमा हौस्याएको छ। उनीहरूलाई कोरोनाविरुद्ध 'अग्रपंक्तिकाका योद्धा' पनि भनिरहेको छ। यसरी नै अग्रपंक्तिमा लडिरहेका योद्धाहरू हुन्‌ : पत्रकारहरू। झिसमिसे बिहानदेखि मध्यरातसम्म कोरोनाको चुनौती झेल्दै पत्रकारहरू अहोरात्र मैदानमै खटिइरहेका छन्। 

    सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई यो लडाइँमा लड्न प्रोत्साहनका लागि सरकारले अनेक प्याकेज घोषणा गरेको छ। तर पत्रकारहरूका हकमा सम्बन्धित संस्थाले यसरी नै उत्साहित बनाउन सकिरहेको छैन। न नियमित तलब छ, न त अतिरिक्त भत्ता न नै! पत्रकारहरूको साझा संस्था भनिने पत्रकार महासंघले पनि अहिलेसम्म कोरोना संक्रमणविरूद्ध लड्न मैदानमा खटिरहेका पत्रकारहरूको भौतिक/आर्थिक र स्वास्थ्य सूरक्षाबारे ठोस प्रबन्ध मिलाइहाल्ने छाँटकाँट देखाएको छैन। 

    चैत ११ देखि देश लकडाउनमा गएपनि सञ्चारकर्मीले सूचना प्रवाहमा कुनै लकडाउन गरेका छैनन्‌। संस्थागत सुशासनको समस्या झेलेका बाहेक सबै सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू दिनरात खटिइरहेकै छन्‌। सञ्‍चारकर्मीको काम नागरिकलाई सूचना दिनु हो, एउटा पत्रकारका लागि नागरिकलाई सुसूचित गराउनु उसको धर्म र कर्तव्य दुवै हो।

    केही सञ्चारकर्मी घरबाटै सूचना सम्प्रेषणमा सक्रिय हुँदा केही सडकमा छन्। केहीले संकटको बेला पनि स्टुडियोमा आफूलाई खरोसाथ उतारिरहेका छन्। लकडाउनका कारण घरमा बसिरहेका जनतालाई निरन्तर ताजा र सही समाचार चाहिन्छ। त्यसको जिम्मेवारी सम्हालिरहेका छन् पत्रकारले। संकटको अवस्थामा अन्य माध्यमका तुलनामा टेलिभिजन पत्रकारिता चुनौतीपूर्ण छ। पत्रिका र रेडियोलाई सूचनास्रोत, सम्बन्धित जिम्मेवार निकाय र व्यक्तिहरूको उद्दरण चाहिएमा टेलिफोनबाटै काम चलाउन सकिन्छ, तर टेलिभिजनका लागि लेख्य र श्रव्य (अडियो) सामग्रीले मात्रै काम चल्दैन। सम्बन्धित व्यक्तिको भनाई (बाइट) सहितको दृश्यले टेलिभिजन पत्रकारितामा ठूलो महत्व राख्छ। द‌ृश्य सामग्री टेलिभिजनका लागि अत्यावश्यक हुन्छ, जसका लागि पत्रकारहरू स्थलगत रिपोर्टिङमै खट्नुपर्छ। 

    टेलिभिजनहरूले रातदित सूचना, समाचार प्रसारण गरिरहेका हुन्छन्। तिनै टेलिभिजनमा अहोरात्र खटिएका पत्रकारहरू अहिले कोरोनाको संकटमा पनि फिल्डमै अर्थात सडकमा छन्। उनीहरू सामान्य सुरक्षा प्रबन्धसहित नागरिकको टिभी सेटसम्म समाचारका खुराक पुर्‍याइरहन दौडिरहेका हुन्छन् निरन्तर। टेलिभिजन पत्रकारितामा हरेक सेकेन्टको महत्व हुन्छ। त्यही सेकेण्ड-सेकेण्डको समयमा समाचार पठाइरहन कोरोनाको महामारीबीच जोखिम मोल्दै धेरै पत्रकारले आफूलाई अब्बल सावित गर्दैछन्।

    टेलिभिजन सेटको काम अहिले मोबाइल सेटले नै गरिरहेको छ। संकटको अवस्थामा भिज्युअलसहितको सामग्रीबाट सूचना लिन मानिसले हातमा अट्ने डिभाइसदेखि भित्तामा टेलिभिजनका सेटसम्म नजर घुमाइरहेका हुन्छन्। तिनै नजरको समाचारको तिर्खा मेट्न टेलिभिजन पत्रकार चुनौतीसँग पौंठेजोरी खेल्दै मैदानमा छन्। कोरोनाको संकटमा टेलिभिजन पत्रकारले कसरी काम गरिरहेका छन् त? उनीहरूको अनुभव हामीले जान्‍ने कोसिस गरेका छौं।

    १५ वर्षदेखि नेपाली पत्रकारितामा लागिरहेका नवराज पाण्डे यतिखेर कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। रिपोर्टिङका क्रममा सावधानीका अनेक विधि अपनाउनु नै जोखिम न्यूनीकरणको पहिलो उपाय रहेको उनी बताउँछन्। कोरोनाको जोखिमबीच साविक अवस्थामा झैं फिल्डमा जान नसकिरहेको उनको भनाई छ। तर नागरिकलाई सुसूचित गराउनुपर्ने कर्तव्यलाई उनले संकटकै बीच पनि पालना गरिरहेका छन्‌। व्यक्तिलाई प्रत्यक्ष भेट्न नसकेपनि भाइवर र स्काइपबाट बाइट लिने काम गरिरहेका छन् उनले। 

    जस्तासुकै घटनामा पनि पत्रकार अघिल्लो पंक्तिमा हुनुपर्ने भएकोले निरन्तर रिपोर्टिङ जारी छ, यो जरुरी पनि छ। 'कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीलाई जस्तो जोखिम हामीलाई नहोला,' उनी भन्छन्‌, 'तर आफ्नै समाजले पनि हामीलाई सन्देहका साथ हेरिरहेको छ, किनकी कोरोना संकटमा निकटको भौतिक दूरीले जोखिम निम्त्याउन सक्छ।' बाहिर रिपोर्टिङमा हिँड्दा आफूलाई डर कम भए पनि परिवारबाट 'आफैँले संकट निम्त्याइरहेको' गुनासो आउने गरेको उनी बताउँछन्।

    अहिले रिपोर्टिङको अनुभव साह्रै दु:खलाग्दो छ। कोरोनाको संकटका बेला फिल्डमा खटिएका पत्रकारलाई सरकारले नहेरे पनि गाउँ फर्किन लागेका, भोकले अत्तालिएका जनतालाई सरकारले हेर्नुपर्ने उनी बताउँछन्‌। 'ठूलो अपेक्षा गरेर ती पीडितले हामीसँग गुनासो पोख्छन्, हामीले प्रसारण पनि गर्छौं, अर्को पटक तिनै जनता पुन: सडकमा देख्दा साह्रै भावुक हुने अवस्था आउँछ', उनी भन्छन्, 'जनताको पीडाको सरकारले सुनुवाइ गर्दैनऽ त्यसबेला उनीहरूका लागि केही गर्न नसक्दा निरीह पात्र जस्तो अनुभव हुन्छ।'

    टेलिभिजन पत्रकारिता सामूहिकरुपमा गरिने विषय हो। जुनसुकै पत्रकार फिल्डमा जाओस्। कार्यालयमा फर्किएर आएपछि सबैलाई जोखिम हुन्छ। उनी भन्छन्, 'काठमाडौं उपत्यकाका विभिन्‍न स्थानमा फिल्ड रिपोर्टिङमा जाने म लगायत सबै टिमलाई अहिले जोखिम छ, तर जोखिमबीच काम गर्नुमा पनि छुट्टै किसिमको आनन्द छ।'

    ८ वर्षदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय रिया भण्डारी हाल न्युज २४ टेलिभिजनमा कार्यरत छिन्। भण्डारी पनि कोरोनाको त्रासबीच समाचार संकलन गरिरहेकी छिन्। अहिले रिपोर्टिङ एकदमै कठिन हुँदै गएको छ। रिपोर्टिङका क्रममा पुग्ने उपत्यकाका विभिन्‍न अस्पताल र अन्य क्षेत्रमा कोरोनाको त्रासले आम जनजीवन कष्टकर बन्दै गएको उनले अनुभव गरेकी छिन्‌। भण्डारी भन्छिन्‌, 'समाचार संकलन गर्नु हाम्रो काम हो, यो हुँदाहुँदै पनि मनोवैज्ञानिक रूपमा त्रास भने भइरहन्छ।'

    कोरोनाको डर आफूलाई भन्दा बढी परिवारलाई रहेको बताउँछिन् उनी। हप्ताको ६ दिन फिल्डमा हुने भण्डारीले भनिन्, 'अचेल परिवारले शनिबार कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्, एक दिन पनि बाहिर नजाँदा परिवारलाई ढुक्क हुँदो रहेछ।'

    यसबीच उनले गरेको अर्को अनुभव अलिक पीडादायक छ। रोगको प्रकोप एकातिर छँदैछ, त्यसमाथि सरकारले गरेको लकडाउनले आमजनतामा थप कठिनाई बढ्दै गएको छ। बिरामी भएका व्यक्ति सडकमा भेटिन्छन्। उनीहरूको उचित व्यवस्थापन हुन सकेको छैन। उपत्यकाबाट बाहिरिन चाहनेहरू लकडाउनले थुनिएका छन्। उनीहरूले रातमा उपत्यका छोड्ने गर्छन्। उनीहरूले सरकारले आफूहरूका केही नगरेको गुनासो गर्छन्। यी गुनासाहरू पत्रकारले जस्ताको त्यस्तै देखाइरहेका छन्‌।

    पीडितको पीडा देखाउँदा सत्तापक्षीय कार्यकर्ता पत्रकारमाथि खनिन्छन्। अनेक नकारात्मक टिप्पणी गर्छन्। भन्छिन्, 'कुनै व्यक्ति, सत्ता र प्रतिपक्षको नराम्रो देखाउने इच्छा हामीलाई छैन। उनीहरूको काम, उनीहरूका नीति, जनतासँग उनीहरूले गरेको प्रतिज्ञा र संकटमा जनतामाझ देखाउने अपनत्व जस्ताको त्यस्तै देखाउने काम मात्रै हामीले गरेका हौं।'

    कुनै पनि समाचारमा सत्ता पक्ष र प्रतिपक्षनिकट व्यक्तिहरूले गर्ने प्रतिक्रियाले पत्रकारहरूको मनोबल घट्ने बताउँछिन् उनी। स्वच्छ मनले आफ्नो काम गरिरहँदा उनीहरूले लगाइदिने ट्याग पत्रकारमाथिको अपमान हो उनको बुझाइमा। भण्डारी राज्यसँग प्रश्न गर्छिन्‌, 'अफवाह फैलाउने व्यक्ति पक्राउ पर्छन्, तर पत्रकारहरूमाथि तुच्छ टिप्पणी भैरहेको हुन्छ, यस्तो गर्नेविरुद्ध राज्यले कुनै एक्सन लिनुपर्छ कि पर्दैन?'

    शहर पुर्ण रुपमा बन्द छ। पत्रकारहरू भोकै कुदिरहेका छन्‌। भण्डारी भन्छिन्‌ 'आफ्नो भोकलाई नियन्त्रण गरेर अरू भोकाहरूको रिपोर्टिङ गर्नु त्यति सहज छैन, पहिले-पहिले  अस्पतालका क्यान्टिनमा खानेकुरा पाइन्थ्यो, अहिले त्यो पनि बन्द छ।' 

    विभिन्‍न आशंका र संशयका बीचमा १० गते साँझको मन्त्रिपरिषद् बैठकले देश लकडाउन गर्ने घोषणा गरेपछि नागरिक र सम्बन्धित निकायबीच सम्वाद र समन्वय गराउने उद्धेश्यले कोरोना कहर र एभिन्यूज पहल कार्यक्रम सञ्चालन गरेको विष्णु बसाैला ​ बताउँछन्। 

    अहिले पनि नागरिकका समस्या समाधान र सहजीकरणमा केन्द्रित रहेको बताउँछन् उनी। 'नागरिकले भोगिरहेको समस्या समाधान र सहजीकरणका लागि सम्वाहकको भूमिकामा रहन पाउँदा म खुसी छु', उनले सुनाए, 'युद्ध, महामारी, उत्सव र नागरिकका दु;ख-कष्टमा हाम्रो भूमिका अग्रपंक्तिकै हुन्छ, यो काम हामीले गरेका छौं भन्‍ने लागेको छ।'  

    लकडाउनमा बजार, पसल, अन्य कार्यालय बन्द छन्। आमदर्शकलाई अहिले सही र सत्य सूचनाको खाँचो छ। यो समयमा पत्रकारको भूमिका पनि अझै बढी महत्वपुर्ण रहेको छ। उनी भन्छन्, 'नागरिकलाई सही सूचना दिने र वास्तिवकता प्रस्तुत गर्ने हाम्रो पेशागत धर्म पनि हो, हामीले सरकारबाट आधिकारिक सूचनालाई मात्रै प्रस्तुत गरिरहेका छौँ, यो क्रम जारी छ।'

    सामाजिक दूरी बढाएर काम गरिरहेको बसौलाले बताए। उनी थप्छन्‌, 'केही मनो वैज्ञानिक त्रास हामीमा पनि छ, तर आत्मबल बलियो बनाएर काम गरिरहेका छौँ, अन्य पेशाका व्यक्ति कोठामा छन्, उनीहरूलाई झनै मनोवैज्ञानिक त्रास बढी छ, अभिभावकलाई पनि चिन्ता छ, सुरूमा मलाई पनि परिवारको धेरै फोन आइरहन्थ्योऽ दर्शकले पनि आफ्नो ख्याल गर्नु भन्‍ने सुझाव दिनुहुन्छ, यसले काममा ऊर्जा बढ्छ।'

    यस्तै, हिमालयन टेलिभिजनमा कार्यरत शिवनारायण गिरी पनि कोरोना संकटबीच रिपोर्टिङमा अनवरत खटिइरहेका छन्। दुई वर्षदेखि टेलिभिजन पत्रकारिता गरिरहेका गिरीले कोरोना भाइरसको जोखिमलाई लिएर सरकारले लकडाउन गरेपछि सुरूकै दिनमा काठमाडौंको विभिन्‍न स्थान पुगेर त्यहाँका अवस्थाबारे रिपोर्टिङ गरे।

    उनी पनि उपत्यकाका विभिन्‍न स्थानमा कोरोनाको असरबारे जनतालाई सुसूचित गराइरहेका छन्। पशुपतिनाथ, स्पयम्भू क्षेत्र, उपत्यकाका विभिन्‍न नाकामा पुगेर आम जनजीवनबारे सूचना प्रसारण गरिरहेका छन्। उनी भन्छन्, 'यी बाहेक केही फरक गरौं भन्ने मनसायले लकडाउनका कारण निष्क्रिय राजनीतिक नेताहरूको दिनचर्याबारे पनि जानकारी गराउने कोशिस गरेको छु, ती नेताहरूलाई जनताको वास्तविकता देखाउने कोसिस पनि गरिरहेको छु।'

    लकडाउनकै कारण दैनिक ज्यालादारी गरेर खाने मजदुरहरले भोगेको पीडाबारे नागरिकलाई देखाउन काठमाडौंबाट बाहिरीने विभिन्न नाकामा पुगे उनी। भोकै र प्यासै सडकमा आँसु बगाउँदै हिँडेका मजदुरको दु:खबारे सरकारका मन्त्रीलाई ध्यानाकर्षण गराउने काम पनि गरेका छन् उनले।

    उनी भन्छन्, 'हरेक दिन सूचनाको नजिक छु, विश्‍वमा कोरोना लागेर मृत्यु हुनेको भन्दा उपचारपछि घर फर्कनेको संख्या धेरै छ, यसले पनि आश जगाएको छ।' 

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]