|

बारा : भारतसँग सीमा जोडिएको बारा जिल्लामा बारामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ।

सुरक्षा निकाय, जनप्रतिनिधि र सरोकारवालाको पहलमा सीमाक्षेत्रदेखि गाउँ-गाउँमा सतर्कता बढाइएको हो। कोरोनाको चपेटामा फसेको भारतसँग जोडिने जिल्लाको ६० किलोमिटर खुला सीमा र १६ वटै स्थानीय तहमा चार दिनदेखि सतर्कता बढाइएको छ।

गृहमन्त्री रामबहादुर थापा 'बादल'को निर्देशनपछि सीमा क्षेत्रमा खटिने सुरक्षा जनशक्ति समेत बढाइएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवंम् सुरक्षा निगरानी गरिरहेको छ।

विभिन्न जिल्लाबाट थप २०० जना सशस्त्र प्रहरी बारा आएपछि सशस्त्र प्रहरी बलले एक व्यक्तिले अर्को व्यक्ति देख्ने गरी दुरी कायम गरी सिमानालाई थप कडाई गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले जानकारी दिए।

सशस्त्र प्रहरी बलसँगै भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि सहकार्य गरिएको छ। हाल दुवै तर्फबाट हुने आवतजावत एवम् अन्य गतिविधिहरुलाई पूर्ण नियन्त्रणमा लिएको सुवेदीले बताए।

नेपालमा मजदुरी गरी बस्दै आएका भारतीयहरु रातीपख लुकिछिपी बाहिरिने र भारतबाट स्वदेश फर्किने क्रम नरोकिएपछि २४ सै घण्टा निगरानी बढाइएको सुराा अधिकारीहरूले बताएका छन्‌। सुवेदीले भने, ‘नेपालमा कार्यरत भारतीय मजदुरहरु खेतको बाटो हुँदै आवत-जावत गरिरहेको पाइयो, यसलाई रोक्न सीमा क्षेत्रमा २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ, हामीले साइकल, मोटरसाइकल र गाडीबाट समेत गस्ति गरिरहेका छौं।'

बस्ती र भूगोल हेरी सशस्त्र प्रहरीले १०० मिटरदेखि ५०० मिटरसम्मको दुरीमा एक एक जना सशस्त्र प्रहरी खटाई सीमाबाट हुने आवत-जावतमा पूर्ण प्रतिबन्ध लगाएको हो।

पक्राउ परेकालाई क्वारेन्टाइनमा राखिने

लुकिछिपी आ-आफ्नो देश प्रवेश गर्नेक्रममा प्रहरीले दुवै देशका मजदुरहरूलाई नियन्त्रणमा लिइरहेको छ। यसरी नियन्त्रणमा लिइएकाहरूलाई नजिकैको क्वारेन्टाइनमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। 

हालसम्म ११ महिलासहित १३६ जना व्यक्तिलाई क्वारेटाइनमा राखिएको छ। जिल्ला अस्पतालदेखि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो। कोरोनाको लक्षण नदेखिएपनि लकडाउनको समयमा संक्रमित क्षेत्रबाट नगर प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्न सुरू गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिए। 

दुवै छिमेकी जिल्लामा संक्रमित भेटिए

बाराका दुवै छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएका छन्। भारतबाट फर्किएका रौतहटका एक युवक र धार्मिक गतिविधिमा सामेल भएका तीन जना भारतीय मुस्लिम धर्मगुरूहरूमा कोरोना संक्रमण देखिएको छ।

गाउँ-गाउँमा सतर्कता

बाराको सदरमुकाम कलैय देखि जिल्लाका मुख्य बजार जीतपुर, सिमरा, निजगढ लगायतमा लकडाउनलाई अझ बढी सशक्त पारिएको छ। अत्यावश्यकीय सामग्री बोकेका बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन। पसल तथा बजार पूर्ण रुपमा ठप्प छ। 

गाउँगाउँमा स्थानीयले पुनः सडक अवरुद्ध गर्न थालेका छन्। सडकमा ढाड राखेर सडक प्रयोग गरेर गाउँमा बाहिरका मानिसको आवागमन रोक्न सडक अवरुद्ध पारिएको छ।

खाद्यान्न आपूर्तिमा रोक

कोरोना भाइरस विपद्‌ न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढले लकडाउन प्रभावकारी बनाउन नगरमा बाहिरबाट हुने गरेको सामग्री आयातमा प्रतिबन्ध लगाएको छ।

त्यसैगरि मोटरसाइकल लगायत अन्य सवारीसाधनहरु संचालनमा रोक लगाएको छ। औषधी बाहेक सम्पूर्ण पसलहरु बन्द गराइएको समितिका संयोजक एवं निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले बताए।

नगरपालिकाले लकडाउनमा कडाई गरेसँगै निजगढमा त्यसको प्रभाव देखिएको छ।

कृषिमा खुकुलो

निजगढ नगरपालिकाले कृषकहरुलाई लक्षित गर्दै कृषि उत्पादन बिक्री-वितरण गर्न सहज बनाउने तयारी गरेको छ। नगरपालिकाका जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुको छलफलले कृषकहरुलाई आफ्नो उत्पादन विक्री वितरण गर्न समय निर्धारण गरेको छ। 

शुक्रबारदेखि बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टा साईकल तथा दुग्धको क्यान मात्रै प्रयोग गरि किसानहरुलाई दुध तथा तरकारी विक्री वितरण गर्न व्यवस्था मिलाइएको प्रमुख खनालले बताए। 

त्यस्तै सम्बन्धित वडा कार्यालयसँग समन्वय गरि कृषिबाली लगाउन स्थानीय श्रोतसाधन, ट्रयाक्टर र परिवारका सदस्यहरु सहभागी हुनसक्ने उपप्रमुख लिलादेवी लामिछानेले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.