|

ताप्लेजुङ : चैत यता भारतसहित तेस्रो मुलकबाट ताप्लेजुङ आएका ६१ जनाको आरडिटी विधिबाट कोरोना भाइरस नमुना परीक्षण सुरु भएको छ। बैसाख ३ देखि ५ सम्म ५० जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए। 

फुङलिङ नगरपालिकामा २५, मेरिङदेन गाउँपालिकामा १५, पाथीभरा याङवरक गाउँपालिकामा ६ र फक्ताङलुङ गाउँपालिकामा चार जनागरि ५० जनाको आरडिटी गरिएको ल्याब असिस्टेन्ट विनिता थाम्सुहाङले जानकारी दिइन्। 

शनिबार सिदिंवा र सोमवार मिक्वाखोला गाउँपालिकामा परीक्षण गर्ने योजना रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक मादेनले जानकारी दिए। थुम्बेदिनको क्वारेन्टाइनमा रहेका एकजनाको भने केही दिनमा परीक्षण गर्ने योजना छ। 

७५ थान पिपिई उपलब्ध

ताप्लेजुङमा ७५ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) आइपुगेको छ। शुक्रबार हेलिकप्टरमार्फत पिपिईसहितका स्वास्थ्य सामग्री ताप्लेजुङ आइपुगेको हो। 

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनका अनुसार गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले पठाएको २५ थान पपिई र पुतली सहयोग योजनाले पठाएको ५० थान पिपिई हेलिकोप्टरबाट ल्याइएको हो। यस्तै पुतली सहयोग योजनाले मास्क र पञ्जा पनि उपलब्ध गराएको छ।

उक्त सामग्रीलाई शनिवार बस्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले आवश्यकताअनुसार जिल्लाका स्वास्थ्य संस्थामा वितरण गर्ने संयोजक मादेनले बताए। यसैबीच ५०० थान र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) किट माग गरिएको छ। माग अनुसारको किट ताप्लेजुङ ल्याउने तयारी भैरहेको मादेनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.