एकातिर कोरोना त्रास, अर्कातिर खानेपानीको पीर

|

ओखलढुंगा : विश्व कोरोना भाइरसको त्रासमा रहेको बेला ओखलढुंगाका अधिकांश स्थानमा भने खानेपानीको चरम अभाव भएको  छ।

सुक्खायाम लागेसँगै पानीका मुहान सुकेका कारण जिल्लाको सिद्धिचरण नगरपालिका, चिसंखुगढी, सुनकोशी र चम्पादेवी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानी समस्या भएको हो।

सिद्धिचरण नगरपालिका-१ का १८० घरधुरीलाई खानेपानी चिन्ताले सताउन थालेको छ। कुँडुलेका १ सय ८० परिवारलाई एक गाग्री पानीका लागि करिब पाँच किलोमिटर टाढा रहेको अँधेरी खोला पुग्‍नुपर्ने स्थानीय राजु कटुवालले थाहाखबरलाई सुनाए।

उनले भने, 'एक गाग्री पानीका लागि रातभर जाग्राम बस्नुपर्ने हुन्छ, जो पहिले कुवामा जान्छ उसलाई मात्र पानी पुग्छ, धारामा रातभरि बस्दा पनि पानी आउँदैन।' खानेपानीकै धौधौ परिरहेको अवस्थामा कपडा धुन, नुहाउन र शौचालय जानका लागि त झन् पानी नै नभएको उनले बताए।

स्थानीय सरकारसँग आक्रोश

कोरोना संक्रमणको त्रासमा सरकारले लकडाउन गरेको यो समयमा हरेकपटक बाहिर जाँदा साबुन पानीले हात धुन भन्छ। तर, खानेपानी नै नभएको ठाउँमा हात धुने पानी कहाँ पाउनु? कटवालले प्रश्‍न गरे।

वर्षौंदेखि खानेपानीको समस्या देखेर पनि स्थानीय सरकारले वास्ता नगरेको उनको आरोप छ। खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाए पनि कतैबाट सहयोग नपाएको उनको दुखेसो छ।

दैनिक दुई गाग्री पानी

तर, खानेपानीको चरम समस्या भएपछि प्रतिपरिवारलाई दैनिक दुई गाग्री पानी वितरण गरिरहेको नगर कार्यपालिका सदस्य सर्मिला कटुवालको भनाइ छ।

करिब ३० किलोमिटर टाढाबाट खानेपानी ल्याउने काम भइरहेको पनि उनले बताइन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४ करोड बढी आर्थिक अनुदानमा खानेपानी ल्याउने काम भइरहेको पनि उनले सुनाइन्।

यता, छिपछिपे निशंखे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुष्प श्रेष्ठले भने एउटा टोललाई अँधेरी खोलाको पानी छाडेर कुँडुलेका सबैलाई पानी दिइने हुँदा उपभोक्तालाई नअत्तालिन अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.