नेपालमा लक्षणबिना नै कोरोना पोजेटिभ

|

काठमाडौं : कोरोना भाइरसको प्रभाव रोक्न सरकारले पछिल्लो समय स्वास्थ्य परीक्षणको निति लिएको छ। सरकारले र्‍यापिड टेष्ट किट (आरडिटी) मार्फत देशभरका सबै जिल्लामा कोरोनाको परीक्षणको दायरा बढाएको छ।

 विश्‍व स्वास्थ्य संगठन मापदण्ड अनुसार नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ। कोरोना भाइरसका स्थानीय संक्रमित भेटिन थाल्नुलाई दोस्रो चरणमा प्रवेश गरेको मानिन्छ। त्यसपछि नेपाल सरकारले आरडिटी परिक्षणलाई प्राथामिकता दिएको हो।

पछिल्लो समय नेपालमा गरिएका आरडिटी परिक्षणमा धेरैलाई कोरोना पोजेटिभ देखिएको छ। आरडिटीमा पोजेटिभ देखिएका सबैलाई सरकारले पिसिआर परीक्षण गराएको छ। आरडिटीमा पोजेटिभ देखाएका बिरामीलाई पीसीआरमा नेगेटिभ देखाएपछि यसको विश्‍वासनीयतामा पनि प्रश्‍न उठ्न थालेको छ। 

केही दिनअघि यापिड टेष्ट किट (आरडिटी) मार्फत जाँच गराउँदा धादिङमा युवामा कोभिड-१९ पोजेटिभ देखियो। दक्षिण कोरियाबाट आएको ४२ दिनपछि जाँच्दा कोरोना पोजेटिभ देखिएका उनलाई पीसीआरमा भने नेगेटिभ देखायो। 

गत बिहीवार नै काठमाडौंको सनसिटी हाउजिङमा विदेशबाट नेपाल फर्किएको २८ दिनमा पीसीआर प्रविधिबाट जाँच गर्दा एकै परिवारका दुईजनाको कोभिड–१९ पोजेटिभ देखियो। तर उदयपुरको मस्जिदमा बसेका १६ जना सबैमा ‍र्‍यापिड टेस्टबाट नेगेटिभ देखिएको थियो। पीसीआरबाट परीक्षण गर्दा तीमध्ये १३ जनामा कोरोना पुष्टि भएको छ।

हाल  सरकारले र्‍यापिड टेष्ट किट र पीसीआर दुवै विधिबाट परिक्षण जारी राखेको छ। कोभिड-१९ पोजेटिभ देखिएका व्यक्तिहरु अधिकांशको ट्राभल हिष्ट्री हेर्दा कम्तीमा दुई हप्ता नाघेको पाइएको छ। अहिले नेपालमा १५ ठाउँबाट कोरोना परीक्षण भइरहेको छ। जबकि पहिलो संक्रमितको स्वाब हङकङ पठाएर परीक्षण गरिएको थियो। 

कति दिनसम्ममा भाइरस अर्कोलाई सर्छ?

चिकित्सकहरुले कोरोना भाइरस शरीरमा प्रवेश गरेको १४ दिनदेखि विभिन्‍न लक्षण देखाउने बताएका छन्। त्यस बेला परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखाउने भए पनि भाइरस शरीरमा छिरेको एक दुई दिनमानै अन्य व्यत्तिमा सार्न सक्ने चिकित्सकहरुले बताएका छन्। नेपालमा भेटिएका संक्रमितमा नेपाल आएको लामो समयपछि पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

चैत ४ गते नेपाल आएकी दोस्रो संक्रमितको २५ दिनपछिको जाँच पनि कोभिड-१९ पोजेटपभ नै आएको थियो। नेपालमा पुष्टि भएका अधिकांशमा लामो समयसम्म पनि पोजेटिभ देखिएसँगै संक्रमित व्यक्तिले कति समयसम्ममा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सक्छन्? कति समयसम्म अर्को व्यक्तिमा संक्रमण सार्न सक्छ भन्‍ने विषयमा चिकित्सकहरुनै अनुसन्धान गरिरहेका छन्।

यता विश्‍व स्वास्थ्य संगठनले २ देखि १४ दिनको बीचलाई संक्रमितले अन्य व्यक्तिहरुलाई सार्न सक्ने उच्च सम्भावना भएकाले १४ दिनसम्म क्‍वाररेन्टाइनमा बस्नु पर्ने बताएको छ।

नेपालमा आएका संक्रमितको अवस्था हेर्दा विश्‍व स्वास्थ्य संगठनले भने अनुसार मिलेको देखिँदैन। तर, संक्रमितले एन्टीबडी तयार गर्ने क्रम भने त्यही १४ दिन भित्रैबाट सुरु हुने चिकित्सकहरु बताउँछन्। त्यही भएर नेपालमा १४ क्‍वारेन्टाइन र थप सात दिन होम क्‍वारेन्टाइन अनिवार्य बस्नुपर्ने नियम बनाएको छ। 

भाइरसको संक्रमणको कति दिनमा लक्षण देखिन्छ?

विश्‍व स्वास्थ्य संगठनले कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण भएको २ देखि १४ दिन भित्रमा लक्षण देखिने बताएको छ। तर पिन नेपालमा इनकुभेसन अवधि २१ दिन तोकिएको छ। स्वाब लिएर पीसीआर जाँच गरेका १६ जनामध्ये अधिकांश दुई हप्ताभन्दा बढी समयदेखि संक्रमति भएका छन्। दुई हप्ताभन्दा बढीदेखि संक्रमित रहेकाहरुको जाँचमा पोजेटिभ देखिएपछि नेपाल सरकारले शंकास्पद व्यक्तिले २१ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

नेपालमा तीनमा मात्रै लक्षण

नेपालमा देखिएका १६ जना संम्रमितमध्ये तीनजनामा मात्रै कोरोना भाइरसको लक्षण देखिएको छ। अन्यमा लक्षणबिनै कोरोना पोजेटिभ देखिएको छ। उदयपुरका १३ जनामै अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिको कोशी अञ्‍चल अस्पतालका डाक्टर दीपक सिग्देलले बताए।  

यस अनुसार चिकित्सकहरुले विश्‍वको अन्य देशमा र नेपालमा कोरोना भाइरस पोजेटिभ देखिने लक्षण फरक हुन सक्ने बताइरहेका छन्। हिजो पोजेटिभ देखिएका १४ जनाको भने चिकित्सकहरुले अध्ययन गरिरहेका छन्। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा पनि वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्कीले पनि कहिलेकाहीँ बिनालक्षण नै भाइरस देखिने बताएका छन्।

'कहिलेकाहीँ लक्षण नदेखिए पनि भाइरस संक्रमण भएको हुन्छ। यसरी लक्षण नदेखिने मानिसले पनि कोरोना भाइरस सार्न सक्छन्', उनले भने, '२० प्रतिशत मानिसलाई धेरै असर गर्छ। ८० प्रतिशतको शरीरमा भाइरस भए पनि लक्षण नदेखिने गर्छ।'

शुक्रारज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पनि लामो समयसम्म शरीरमा भाइरस रहे पनि कहिलेकाहीँ लक्षणबिना नै भाइरस देखिने बताए। उनले भने, 'शरीरमा लामो समयसम्म बिनालक्षण नै भाइरस रहन सक्छ। तर लक्षण भएको बेलासम्ममा अरुमा पनि भाइरस सर्छ। कहिलेकाहीँ नक्षण नदेखिएकोले पनि सार्न सक्छ।'

समुदायस्तरमा ठूलो संख्यामा एण्टीबडी परीक्षणको लागि र्‍यापिट टेस्ट सुरु भएको हो। हालसम्म नेपालमा २० हजार भन्दा धेरै र्‍यापिड टेस्ट गरिएको छ भने ७ हजार ६ सय ८८ जनाको पीसीआरमार्फत परीक्षण गरिएको छ ।

र्‍यापिड टेष्ट गरेकालाई किन पिसिआर?  

सरकाले धेरै भन्दा धेरैको मानिसको एण्टीबडी परीक्षणको लागि समुदायमा र्‍यापिट टेस्ट सुरु गरेको हो। हालसम्म नेपालमा १६ हजार ५ सय ६५ र्‍यापिड टेस्ट गरिएको छ भने ७ हजार ६ सय ८८ जनाको पीसीआरमार्फत परीक्षण गरि सकेएको छ।

विश्‍व स्वास्थ्य संगठनले कोरोना परीक्षणका लागि प्रमाणित नगरेको आरडिटी किटको भर पर्न नहुने भन्दै पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षणको रिपोर्टलाई नै अन्तिम मान्‍ने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.