विचार

अभिभावकले संरक्षक गुमाएको दृश्य कुरूप हुँदोरहेछ

विपत्तिमा जनताको आँसु नदेख्‍ने हामी खलनायक

बैशाख ८, २०७७

    काठमाडौ : अभिभावकले पनि अभिभावक गुमाएको दृश्य कस्तो हुन्छ? कहिल्यै कल्पना गर्नु भएको थियो? अहँ गर्नु भएको थिएन। कुरुप दृश्य कहिलेकाहीँ बाध्यताले पनि देख्नुपर्छ। कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले बिनातयारी गरेको लकडाउनपछि हरेक आमाबुवाले अभिभावक गुमाएझैँ पीडा भोग्‍नुपर्‍यो। 

    हरेक सन्तानका लागि अभिभावक नै संसारका सबैभन्दा धेरै बलशाली र विद्वान लाग्छन। किनभने सन्तानका हरेक प्रश्‍नको जवाफ उनीहरुसँग हुन्छ। जब अभिभावकमाथि नै समस्या आइलाग्छ अनि के हुन्छ? उनीहरुले प्रश्‍न उठाउने राज्यसँग हो। उनीहरुसँग हाम्रा अभिभावकको कुनै जवाफ छैन।

    सामान्यत: साना साना विपत्तिको बेला साथ दिने अभिभवक घरमा हुन्छन्। जसको आडमा उनका सन्तानले आफ्ना समस्या सजिलै पार लगाउँछन। अभिभावकको महत्व बिपत्तिका बेला झन् ठूलो हुन्छ। सबै कुरा कुरा ठीकठाक चलिरहँदा अभिभावक किन चाहियो? किन चाहियो सहारा? किन चाहियो राज्यको संरक्षण?

    हरेक परिवारमा सन्तानलाई पर्ने समस्यासँग जुध्‍न तिनका अभिभावक आफ्नो थातथलो छोडेर हिँडेका छन्। सन्तानले आफ्ना सबै समस्याको हल पूरा गरिदिने विश्‍वास आफ्ना अभिभावकमाथि गर्छन्। अहिले सम्पूर्ण विश्‍व कोरोनाले आक्रन्त छ। जसबाट नेपाल पनि अछुतो हुन सकेको छैन।

    कोरोना संक्रमणबाट रोक्न सरकारले लकडाउन गरिदिएपछि सबैभन्दा धेरै ती अभिभावक समस्यामा छन्, जो आफ्ना सन्तानको भविष्य खोज्दै शहर पसे। मुग्लान पसे। मुग्लान पस्‍नेहरु देश फर्किने आशामा पनि सरकारले पिसाव फेरिदिएको छ। सीमाबाट आफ्नो देशतर्फ हेरिरहेका ती तमाम टीठ लाग्दा अनुहारलाई राज्यले रोग बोकेर आएका ठानिदिएको छ।

    जवानी र पसिना विदेशमा पोखेर देशलाई सिँचाइ गर्नेहरूले राज्यप्रति असन्तुष्टि पोखिरहेका छन्। छिनेका चप्पलमा सुन्‍निएका खुट्टा घिसार्दै वैशाखको चर्को घाममा पसिना बगाउँदै सडक नापिरहेका अभागीहरुको पीडा सुन्‍न राज्यलाई ठूलै बल परेको छ। राज्यले समयमा जिम्मेवारी लिन नसक्दा ती टीठ लाग्दा अनुहारलाई देश सम्झिँदा भक्कानो छुट्छ, अभिभावक भनिएको राज्यले फर्केर नहेर्दा उनीहरुको देशप्रेम महाकालीसँगै बगेर गइरहेको छ।

    रेमिट्यान्सले पालिएको सरकारले तिनैलाई पाल्न सकेन, देशमा ल्याउन सकेन। देश भएर पनि देश नभएकाहरुको पीडा हो यो। सहरका गल्ली, नाका र देशका अन्य ठूला शहरमा आर्तनादले भरिएका जनताले देशभित्र देश नभएको अनुभूति गरिरहेका छन्। मजदुर किसानको सरकार भनेर भाषण गर्नेहरूलाई लाज लाग्छ कि लाग्दैन?

    हाम्रा अभिभावकले अभिभावक गुमाएका छन्। केही दिनअघि एकजना मन्त्रीले भावनामा बहकिएर नहुने बताएका थिए। अब भावनामा बग्‍नु पनि नसुहाउला। ती मन्त्रीको यो अभिव्यक्ति सायद ती चप्पल चुँडिएर कुर्कुच्चा फुटाउँदै गन्तव्यमा पैदल हिँड्नेहरुले आउँदो चुनावमा सम्झिनेछन।

    चुनावका बेला जनता भावनामा बहकिएका थिए। चुनाव जित्न जनताको भावनामा कसरी खेल्नुपर्छ, राजनीतिका खेलाडीले बुझेका छन्। समृद्धिका सपना,  त्यो भन्दा ठूलो अस्त्र त जनताका लागि आफूले भोगेको जेलनेल, युद्धका कथामा चिप्लिएर भावनामा बगेको सत्य हो। जसको परिणाम अहिले यो संकटमा भोगिरहेका छन्।

    मन्त्री निवासमा बसेर आमजनता बाध्यताले नभई रहरले आफ्नो गाउँ फर्किएको आशयका तर्क गर्छन्। अभाव र संकट टार्न अवसरको खोजीमा निस्किएका जनतालाई सहरले पानीसमेत पत्याएन, गाँस र बास त परको कुरा। कोरोना लाग्नुपूर्व भोकमरीले घाट पुर्‍याउउने डर थियो। शहरले अपनत्व महसुस गराउन नसकेपछि भोको पेट लिएर जीवनरक्षाका लागि आफ्नो गाउँ फर्किए उनीहरु।

    गरिबीले आक्रान्त बनेको गाउँमा परिवारको छाक टार्न शहर झरेकाहरु यो विपत्तिबीच पैतालाले तातो बाटो नाप्दै बाध्यताले गाउँ नै पुगेका छन्। तिनीहरुको घाउमा पुन: यो शहर र सत्ताले एकपटक अमिलो दलिदिएको छ।

    बेलाबखत शक्तिको गाडा बोकेर कुर्सी बचाउने महत्वाकांक्षाले सत्ता गाउँमा पुग्छ। सत्ता बचाउने जिम्मा पाएका जनता, आफ्नो दु:ख सुनाउन सत्तासम्म पुग्‍न सकेको छैन। मुस्किलले पुग्‍ने आवाज सुन्‍ने सत्ताको कान सधैं बहिरो बनेको छ। आज राजतन्त्र हटेको १५ वर्ष पुग्‍न आँट्यो। देशमा समृद्धिको उडान भर्छु भन्‍नेलाई अहिले प्रधानमन्त्रीका रुपमा पाएका छौं। उनका भाषण सुन्दा यस्तो लाग्छ, मानौँ यिनै हाम्रा समृद्धिका हिमायती हुन्, उनका कुरा पत्याएनौँ भने हामीले मर्दा पनि स्वर्गमा बास पाउन मुश्किल छ।

    गणतन्त्रका चर्का भाषण गर्ने र केन्दीकृत विकासलाई विकेन्द्रीकृत गर्न संघीयता ल्याएको भन्‍ने पार्टी र तिनका नेताले यो १५ वर्षको अवधिमा चुनाव जित्‍न जनतालाई भावनामा बगाउन वृद्धभत्ता बढाउने काम बाहेक के गरे? जनताले राजतन्त्र फालेर जनता छोरो सन्तान सत्तामा पुगेको अझै आभाष पाउन सकेका छैनन्।

    गरिब, किसानका सन्तान सत्तामा पुगेको भ्रमबाट मुक्त हुनुपर्ने भएको छ। हिजो जनताले पकाएको गुन्द्रुक र ढिडो खाएर परिवर्तनका डम्फु बजाउने पार्टीहरु आज कसरी राजकीय बने? माफियाको नाइके बन्‍नुअघि आफू त्यहाँसम्म कहा कहाँ कसरी कसरी कसलाई कसलाई सपना बाँडेको थिएँ भन्‍ने हेक्का छ? तिमीलाई सत्तामा पुर्‍याउन कतिले बलिदानी दिएका छन्, नेतृत्वलाई सम्झिने फुर्सद छैन।  

    आफ्नो धरातल भुल्न सक्ने संस्कार के तिमीलाई तिम्रो अभिभावकले सिकाएका थिए?

    अखबारका पाना र टिभीका पर्दाका समाचारमा देखिएका ती कारुणिक दृश्य भोलिका लागि दस्तावेज हुन्। २७ दिन देखि लकडाउनमा गाउँ फर्किन गरेको कसरत देख्दा पीडाबोध हुन्छ। सञ्चामाध्यममा देखिने र देखाइने केही तस्बिर र भिडियो अहिलेको महविपत्तीमा जनताले भोग्‍नुपरेको कारुणिक अवस्थाको सानो अंश मात्र हो। अधिकांश व्यक्तिका पीडा उनीहरु चर्किएको मनमा कैद भएका छन्। जुन आउँदा वर्ष हरेक दिन, हरेक पल, हरेक घडी बल्झिरहनेछ।

    नैतिकता गुमाउनेको नाममा

    पीडित व्यक्तिहरुका लागि राज्यको उपस्थिति कमजोर हुँदा सत्तालाई गाली गर्न हामी जनता पनि सिपालु छौँ। तर तिनै पीडितले विभिन्‍न जिल्लामा आफूहरुलाई लखेटिएको बताएका छन्। यसको जिम्मेवार को हो? सत्तालाई गाली गरेर असल नागरिक परिचय बन्दैन। यहाँ सरकारको मात्र कुरा छैन। जीवनको भिख माग्दै आफ्नै गाउँ फर्किएका आमव्यक्तिले राजमार्गमा भोगेको सास्तीको वर्णन गर्न सकिँदैन।

    एउटा भनाई छ, 'सक्छौ भने गर, सक्दैनौ भने साथ देऊ।'

    विडम्बना हामीले दुवै गरेनौँ। हामीले त झन् बाटोमा काँडेतार लगाइदियौँ। पुल भत्काइदियौँ। भोक र प्यासले अत्तालिएर कुनै चौतारीमा विश्राम गरेका यात्रीलाई लखेटिदियौँ। भोकले अतालिएका, जीवन र मरणबीच लामो यात्रा तय गरेर हाम्रो घर बाटो हुँदै आफ्नो गन्तव्यमा हिँडेका यात्रीलाई गर्नुपर्ने दायित्व यही हो। के हामीबीचको मानवता सकिएको हो? कि हामी पनि निर्जिव बनिसक्यौँ? सरकारले जनतालाई हेरेन।

    सत्ता र शक्तिको उन्मादमा रमाएको नेतृत्वको आँखा सुदूर गाउँसम्मको क्रोध देखेन। मानि लिनुस ठीक छ। सत्ताको कुनै दिन हिसाब हुन्छ। तर, हामी स्वय् जनताले पनि दु:खमा भएका जनताको साथ दिन अपवादबाहेक किन हिच्किच्यौँ। कुनै भोको र प्यासी व्यक्तिलाई एक छाक मात्र खाना खुवाउँदा, पानी दिँदा र पिंढीमा बास दिँदैमा हाम्रो दैनिकीमा उछाल आउने थिएन। गरिबी एकदिन हटेर जानेछ। यो विपत्तिमा हामीले देखाएको दरिद्रता वर्षौसम्म हाम्रो समाजको चित्रण हुने पक्कापक्की छ।

    हरेक विपत्तिले नायक र खलनायक निर्माण गर्छ भन्छन्। यो विपत्तिमा जनताको आँसु नदेख्‍ने खलनायक को हुन्? हिसाब गर्दै गरौँला। हामी जनता पीडितहरुका लागि नायक हुन सक्थ्यौं। अफसोस हामीले त्यो अवसर गुमायौं। नागरिकताको एउटा टुक्रो कागज मुधुसमा सुरक्षित राख्दैमा नागरिकको दायित्व पूरा हुन सक्दैन। हामीले नागरिकको सामान्य नैतिकता गुमाउन हुँदैन थियो।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]