|

मनाङ : यार्सागुम्बा टिप्ने सिजन शुरु भए पनि यस वर्ष रोक लगाइएको छ। विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश लकडाउन गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सा गुम्बा टिप्न रोक लगाएको हो।

संघीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुखहरुको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।  

महँगो र लोपोन्मोख बहुउपयोगी हिमाली औषधिय जडीबुटी यार्सागुम्बा टिप्ने सिजन भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले टिप्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। वैशाख दोस्रो सातादेखि जेठसम्म यार्साको सिजन मानिन्छ।

सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुनेगरी समूहमा नबस्न निर्देश गरेअनुरूप यार्सागुम्बा टिप्न रोक लगाइएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाइएको छ। 

मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङ जिल्लाबाट आउने भए पनि कोभिड-१९ को संक्रमण जोखिमले गर्दा यार्सा टिप्न नपाउने भएका छन्। नासों गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्याम लगायतका खर्कहरुमा यार्सा पाइन्छ।

आयस्रोतमा घाटा पुग्ने अनुमान

मनाङकै राजस्‍व संकलनमा टेवा पुर्‍याउने यार्सागुम्बा संलकनमा रोक लगाइएपछि आयस्रोत समेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति (सिएमसि) नासों गाउँपालिकाका अध्यक्ष याद घलेले बताए।

गतवर्ष स्थानीयलाई १० देखि १५ हजार रुपैयाँ पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यसवर्ष टिप्नै नपाइने भएको उनले बताए। ‘गतवर्ष जिल्ला बाहिर तथा व्यापारीले भने २० देखि ४० हजार रुपैयाँसम्मको कुपन लिएर यार्सा टिप्ने अनुमति लिएको थियो,’ उनले भने।

जिल्लामा यार्सा टिप्नका लागि अनुमति दिँदा स्थानीयवासी लगायत बाहिरबाट आउने मानिसहरुमा कोभिड १९ को संक्रमण हुन सक्ने र मनाङमा फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि यार्सा टिप्न निषेध गरिएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए।

मनाङको मुख्य आयस्रोतको रुपमा रहेको यार्सा गुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको तिरुवाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.