असिनापानी सहेर तीनदेखि बसिरहेका थिए

|

तनहुँ : पर्सा जिल्लाको ठोरीका २५ जना मजदुरलाई उद्धार गरी बन्दिपुर गाउँपालिकाले घरसम्म पुर्‍याइदिएको छ। जिल्लास्थित इँटाभट्टामा काम गर्दै आएका उनीहरु तीन दिनदेखि लगातार असिनापानी र हावाहुरी सहेर बसिरहेका थिए। उनीहरु बसेको ठाउँ पनि हावाहुरीले भत्काइदिएपछि झनै बिचल्लीमा परेका थिए। गाउँपालिकाले उनीहरुलाई घरसम्म पुर्‍याउन गाडीको व्यवस्था गरिदिएको हो।  

वडा कार्यालयमा आएर उनीहरुले घरसम्म पुर्‍याइदिन पटकपटक आग्रह गरेका थिए। गाउँपालिकाले बजेट व्यवस्थापन गरी उनीहरुको उद्धार गरेको बन्दिपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । उनीहरुलाई दुई चरणमा जिपमा हालेर पठाइएको उनले बताए। इँटाभट्टामा निर्माण गरिएको स्याउली हावाहुरीले भत्काइदिएपछि उनीहरु वरपरका मानिससँग शरण लिई बसिरहेका थिए। 

हावाहुरी र असिना रोकिएपछि फेरि त्यही स्याउलीमा बसेको मजुदर माया तामाङले बताइन्। आकाश गर्जिने बित्तिकै वरपर भएका घरमा ओत लाग्नुपर्ने अवस्थामा आफूहरुले दिनरात काटेको उनले दुःख पोखिन्। ६ महिनादेखि उनीहरु स्थानीय यामलाल शाहीको इँटा भट्टा काम गर्दै आएका थिए। 

वडाध्यक्ष पोख्रलले भने, ‘उहाँहरुलाई यहीँ राख्न खोजेका थियौं, तर हाम्रो स्रोत साधनले भ्याएन।’ उनीहरुलाई राहतबापत एक बोरा चामललगायत अन्य खाद्यान्न सहयोग गरिएको उनले बताए। 

लगातार हावाहुरी आएपछि बस्ने स्थानसमेत नभएकाले तिनका बालबालिकाहरुको समेत बिचल्ली भएको थियो। गाउँपालिका कार्यालयसँग समन्वय गरी उनीहरुलाई घरसम्म पठाउने व्यवस्था गरिएको वडाध्यक्ष पोख्रेलले बताए। उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र सुरक्षित तरिकाले घर पठाइएको उनले बताए। 

करिब ७०÷८० जनालाई बन्दीपुर–१ स्थित डुम्रे बजारबाट घर पठाइएको भानु मुकाम डुम्रे प्रहरी चौकीका सई वीरेन्द्रप्रसाद खड्काले जानकरी दिए । उनका अनुसार सोमबार मात्रै करिब ४०÷४५ जनालाई पठाइएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.