|

विराटनगर : मोहियानी हक लुकाउन गरिएको जालझेल र षड्यन्त्रका कारण मोरङ विराटनगर–२२ का १ सय ७ घर परिवार बिचल्लीमा परेका छन्। २०२४ सालको मोहियानी हक छल्नका लागि विराटनगरका ठाकुर प्रसाद कोइरालाले आफ्ना भान्जा आनन्दप्रसाद अज्र्यालको नाममा जग्गा हस्तान्तरण गरेका थिए।

अज्र्यालले तत्कालै भारतीय नागरिक झरीलाल कायस्थलाई जग्गा बिक्री गरे। त्यसपछि मामा–भान्जा र खरिदकर्ता कायस्थको विवाद लम्बिँदै जाँदा अहिले त्यस ठाउँमा बसोबास गर्ने १ सय ७ घर परिवार लाजपूर्जा भएर पनि जग्गा छोड्नुपर्ने बाध्यताले पिरोलिएका छन्। कोइरालाको ४ विगाहा ९ कठ्ठा जग्गालाई २५ सालमा आएको नापीको टोलीले पुनः आनन्द प्रसाद अज्र्यालको नाममा सदर गरिदियो।

त्यसपछि आफ्ना बुबा कायस्थको जग्गा आफूले पाउनु पर्ने भन्दै झरीलालका छोरा सतिसचन्द्र कर्णले २७ सालमा मुद्दा हाले। जिल्ला तथा पुनरावेदन अदालतले सतिसको बुबाको विपक्षमा फैसला गरेपनि लामो समयपछि २०४९ सालमा सर्वोच्च अदालतले उनकै नाममा जग्गा रहेको भनि सदर गरिदियो। 

३ वर्षको हदम्याद राखेर फैसला भएको भएपनि कर्णले आफ्नो नामको लालपूर्जा नबनाएपछि पुनः अज्र्यालले आफ्नो दाबी गर्दै लालपूर्जा बनाए। आफ्नै नाममा लालपूर्जा बनाएपछि अज्र्यालले जग्गाको किनबेच गर्न थाले। सोही बेलादेखि त्यहाँ जग्गा किन्दै गएर बसेका सर्वसाधरणलाई भने त्यसबेला झड्का लाग्यो जतिबेला सतिसले पुनः ०७२ सालमा हालेको मुद्दाको फैसला जिल्ला अदालतले उनकै पक्षमा सुनाइदियो।

अदालतको फैसला भइसकेपछि सतिसले उक्त जग्गा हाल मिराकुमारी सिंह र अनिताकुमारी रौनियारको नाममा सारेका छन्। यता अज्र्यालबाट सोही जग्गा खरिद गरेर बस्ने सर्वसाधारण भने सिरानीमा लालपूर्जा राखेर बसेपनि सिंह र रौनियारले दिनदिनै दिने धम्की र त्रासका कारण विचल्लीमा परेका छन्।

आनन्द अज्र्यालले जबर्जस्ती गरेका कारण आफूहरु घरवास बिहीन हुनुपरेको सर्वसाधारण बताउँछन्। ‘उतिबेला १ लाख, ७० हजार रुपैयाँ कट्टाले खरिद गरेको जग्गाको भाउ अहिले १० गुणाले वृद्धि भएको छ,’ पीडित सर्वसाधरण शम्भु ठाकुर भन्छन्,‘आनन्द अज्र्यालले पुरानै रकम फिर्ता गरिदिन्छु भनेका छन्, त्यसरी हामीलाई कसरी न्याय हुन्छ?’

जग्गाको हदबन्दीबारे र मुद्दा मामिलाबारे जानकारी नराख्ने आफूहरुलाई अज्र्यालले फसाएको सर्वसाधरणको दाबी छ। ‘जग्गा खरिद गरेको १५÷२० वर्ष भयो, हामीले प्लाष्टिक टिपेर, रिक्सा चलाएर कमाएको पैसाले जग्गा खरिद गर्‍यौं,’ सर्वसाधारण रसिद मियाले दुखेसो पोखे,‘हामीसँग लालपूर्जा छ। नक्सा पास छ। हामीलाई सुख चयनले गरिखान दिएनन्। गरिबको विचल्ली पारिदिए।’

भू–माफीयाको चलखेलमा आफूहरु सिकार भएको बताउँदै उनीहरुले न्यायका लागि जान पनि आफूहरुको कुनै ठाउँ नभएको बताए।‘रिक्सा कुदाएर, प्लाष्टिक टिपेर जग्गा किन्यौं, अहिले श्रीमानको पनि मृत्यु भए, लालाबाला लिएर निस्कि भनेर धम्की दिन्छन्,’ सोही ठाउँकी पीडित नुजरेन खातुन लालपूर्जा देखाउँदै भन्छिन्, ‘घर डोजर लगाएर भत्काइदिन्छु भन्छन्, कहाँ जाउँ?’ 

‘आफूहरुलाई मोही लाग्छ या विवाद छ उजुर बाजुर छ भन्ने थाहा भएको भए जग्गा खरिद गर्दैनथ्यौं’, ६५ वर्षीय मोहम्मद तैयाव बताउँछन्,‘अज्र्यालको पार्टनर सतिसलाल कर्णले हामीमाथि अन्याय गरे।’ 

जिल्ला प्रशासनमा ज्ञापनपत्र 
यता, सोही ठाउँका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर शान्ति सुरक्षाको माग गर्र्दै ज्ञापनपत्र दिएका छन्। ज्ञापनपत्रमा सतिशचन्द्र कर्णले जग्गाको भाउ वृद्धि भएसँगै लोभ गरेर अदालतबाट आफ्नो पक्षमा फैसला गराएको दाबी गरिएको छ।

‘हामी बसी आएको घरमा बारम्बार प्रहरीहरु पठाई त्रसित बनाइरहेको हुँदा संविधानले दिएको बाँच्‍न पाउने तथा बासस्थान गर्न पाउने हकको उपभोग गर्नबाट बञ्चित छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘साबिक कित्ता नम्बर १८३ को कित्ताकाट भै कायम भएका कित्ताहरुमा भइरहेको घर समेत नदेखाई भित्र–भित्रै मिलीभगत गरी बिक्री गर्ने काम भएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.