|

गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदारलाई काम सुचारू गर्न धमाधम अनुमति दिन थालेको छ। सडक, पुल, खानेपानी, विद्युत तथा झोलुङ्गे पुलजस्ता आयोजनाका काम सुचारू गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन्‌।

गत चैत २० गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट निर्धारण गरिएको सीमा र सर्तमा रहने गरी काम सुचारू गर्न सिफारिस दिइएको हो। प्रजिअ पौडेलले भने, ‘काम सुचारू गर्दा स्थानीय स्तरमा कुनै विवाद हुनेछैन भन्ने स्थानीय तहको सिफारिस संलग्न गरी निवेदन दिएमा हामी काम सञ्चालन गर्न अनुमति दिन्छौं, सर्त र सीमाभित्र रही काम गर्ने प्रतिवद्धता जनाएमा भूकम्पपछिको निजी आवास पुनर्निर्माणको कामले पनि अब निरन्तरता पाउनेछ।’

मंगलबारसम्म निर्माण व्यवसायीहरूले २६ वटा आयोजनाका काम सुचारू गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लगिसकेका छन्। ‘११ किलो छेपेटार, भालुस्वाँरा बारपाक सडक योजना कार्यालयअन्तर्गतका ११ वटा सडक निर्माण तथा मर्मतका योजनाहरु सुचारू गर्न अनुमति दिएका छौं’, कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘जलस्रोत कार्यालयले १२ वटा योजना, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पश्चिम क्षेत्र सेक्टर नं. ४ ले तुरतुरे पुल निर्माणका लागि, सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकले गण्डकी गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि, मर्स्याङ्दी-काठमाडौं २२० केभी विद्युत प्रशारण लाइनको बिस्तारका लागि अनुमति लगिसकेका छन्।’ खानेपानी कार्यालयबाट पनि अनुमतिका लागि फाइल पेश भएको, तर कतिवटा योजना छन् भन्ने बारे अध्ययन भइरहेको उनले बताए।

आयोजना सञ्चालन गर्न चाहने आयोजना वा कम्पनीले श्रमिक तथा अन्य जनशक्तिलाई आवास र खानाको व्यवस्था गरेर बाहिरका कसैसँग पनि सम्पर्क गर्न नदिई कार्यस्थलमै राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। त्यस्तै कामदारबीच व्यक्तिगत दुरी कायम गर्नुपर्ने, दिनहूँ स्वास्थ्य परीक्षण गर्नुपर्ने, मास्क तथा सेनिटाइजरको व्यवस्था हुनुपर्ने, नियम पालना गरे नगरेको बारे नियमित रूपमा स्थानीय तहबाटअनुगमन गराउनुपर्ने व्यवस्था भएको छ।

अहिलेसम्म जिल्लामा कोरोना संक्रमित नभेटिएकाले गोरखालाई कम जोखिम भएको जिल्ला भन्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन्। जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गरी जिल्लाभित्रका भीडभाड कम हुने खालका कामलाई सुचारू गर्नेतर्फ छलफल भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.