स्वास्थ्यजाँच गरी ल्याउने प्रयास गर्दै बैतडी प्रशासन

|
फाइल फोटो

बैतडी : बाबु बितेको चार दिन भइसक्दा पनि भारतीय क्वारेन्टाइनमा रहेका तीन दाजुभाईले नेपाल प्रवेश अनूमति पाएका छैनन्‌। एकै परिवारका यी तीन दाजुभाई यतिखेर भारतको पिथौरागढस्थित गभर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्‌।

जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बाबुको निधन भएको चार दिन बितिसक्दा पनि नेपाल प्रवेश गर्न नपाएका हुन्। उनीहरूका बाबुको आइतबार निधन भएको हो।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ। उनीहरुलाई बुधबार (आज) नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

घरमा बाबु बितेपछि उनीहरूलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिसकिएको उनले बताए। स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रकृया पुर्‍याएर  नेपाल ल्याउन तयारी भइरहेको प्रजिअ पौडेलले थाहाखबरलाई जानकारी दिए। 

पाँचमध्ये तीन दाजुभाई कोरोना संक्रमण फैलिएपछि भारतबाट नेपाल फर्कँदै थिए। सोही समयमा नेपालमा लकडाउन घोषणा भएको थियो। नेपालमा लकडाउन लागेपछि उनीहरू भारतीय क्वारेन्टाइनमै रोकिएका हुन्‌।

यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई उनकी आमाको निधन भएको ६ दिनपछि नेपाल भित्र्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.