एकै परिवारका पाँचजना संक्रमित

|

उदयपुर : उदयपुर देशकै सबैभन्दाबढी कोरोना संक्रमित भेटिएका छन्। बुधबारसम्मको विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १६ जना भुल्केस्थित मस्जिदमा बसेका हुन्। 

मंगलबार एकैदिन (कोभिड-१९) का ११ जना संक्रमित थपिएका थिए। बुधबार त्यहाँ थप तीनजना संक्रमित भेटिए। यी सबै संक्रमित भुल्केको मस्जिद र आसपासका बासिन्दा रहेको पुष्टि भएको छ। ।

भुल्केस्थित मस्जिदमा मानिसहरू बसेका सूचनाका आधारमा प्रशासनले १२ जना भारतीय धर्मगुरू र चारजना नेपाली गरी १६ जनालाई नियन्त्रणमा लिई स्वाब परीक्षण गरेको थियो। विराटनगरस्थित पीसीआर ल्याबमा बैशाख ५ गते स्वाब परीक्षण गर्दा १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएसँगै सोही दिन राती नै प्रशासनले चारवटा एम्बुलेन्समा हालेर १६ जनालाई नै विराटनगर लगेको थियो। त्यसको भोलिपल्ट त्यही समूहका एक नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमित भेटिएपछि अहिले सिंगो भुल्के गाउँ नै सुरक्षा घेरामा राखिएको थियो। ६ गते प्रदेश सरकारको स्वास्थ्य टोली आएर मस्जिदसँगै यहाँ करिब ५० मुस्लिम समुदायको घर र गाउँका संक्रमितसँग हेलमेल भएका अन्य स्थानीयको समेत गरेर ६९ जनाको 'थ्रोट स्वाब' नमूना संकलन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।

६९ जनाको 'थ्रोट स्वाब' नमूना संकलन गरिएको थियो। कोशी अस्पतालको ल्याबमा आठजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुष्टि गर्नका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकम पठाइएको थियो। धरानमा पुनःपरीक्षण गरेपछि कोरोना संक्रमण पुष्टि भएको हो।

नेपाली सेनाको छाउनी अस्पतालले २५२ जनाको नमुना संकलन गरेको थियो। त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यस्तै बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परीक्षणमा थप तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ।

बुधबार पुष्टि भएकामा २४, ६० र ७२ वर्षीय पुरुष छन्। हिजो पुष्टि भएका संक्रमितहरूको उमेर १८, १८, २०, ३३, ४०, ४१,४१, ५२, ५८ वर्षीय पुरुष, ३६ वर्षीया महिला र अर्की एक महिलाको उमेर नखुलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एकै परिवारका पाँचजना संक्रमित

मंगलबार कोरोना पुष्टि भएका ११ संक्रमितमध्ये दुईजना महिला र नौजना पुरुष रहेका छन्। संक्रमितहरू एकै परिवारका पाँचजना र अरु अन्य परिवारका छन्। हिजो संक्रमित सबै भुल्केका स्थानीयबासी हुन्।

पाँचजनामध्ये एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्‍जा रहेका छन्। १८ वर्षीय छोरा भारतको उत्तरप्रदेशमा उर्दु भाषा पढ्न गएको खुलेको छ। उनी लकडाउनभन्दा केही दिनअघि मात्रै उनी घर आएको बुझिएको छ।

उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाईं लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घरमा बस्दै आएका थिए। व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका छिमेकीले बताएका छन्।

स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताएका छन्। गाईघाट बजार र बस्तीसमेत आउजाउ भएकाले संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

सुरक्षा सामग्री र जनशक्ति अभाव

उदयपुरमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको अभाव भएको छ। गत शुक्रबारदेखि दिनदिनै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपनि नियन्त्रणमा जुटिरहेका स्वास्थ्य र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री र जनशक्ति अभाव भएको हो। स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक सुरक्षा कवज पिपिई, सेनिटाइजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मोगनजस्ता उपकरण अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।

संक्रमितमा कोरोनाको लक्षण देखिँदैन

हालसम्म भेटिएका संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको चिकित्सकहरूले बताएका छन्। उदयपुरबाटै विराटनगर लगेर कारोना उपचार केन्द्रमा भर्ना गरिएका सबैमा कुनै लक्षण देखा नपरेपछि सामान्य वार्डमा राखेर उपाचार गरिएको छ। 

सामान्यतया: कोरोना संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने गर्छ, तर उनीहरूलाई त्यस्तो लक्षण देखा नपरेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन।

‘सामान्य वार्डमा राखिएका उनीहरूलाई थप समस्या भएमा आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी छ,’ उनले भनिन, ‘कोरोना पोजेटिभ देखिए पनि संक्रमितहरूको अवस्था अतिसामान्य छ र चिकित्सकीय निगरानीमा राखिएको छ।’

प्रशासनको बेवास्ता

गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्षलगायतका टोलीले मस्जिदको अनुगमन गर्दा मस्जिदमा १२ भारतीय र ४ नेपाली फेला परेका थिए। मस्जिद अनुगमन गरी लकडाउनभर त्यहाँभन्दा बाहिर नजान अनुरोध गरेको त्रियुगा नगरपालिका-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए।

तर प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै उनीहरू बाहिर निस्किएर घुमफिर गरेको स्थानीयले बताएका छन्। कोरोना संक्रमितसँगै अन्य मुस्लिमहरू पनि मस्जिदमा जाने-आउने गर्नुको साथै स्थानीय चियापसलमा खुलारुपमा चिया पिउने गरेको गरेको स्थानीयले बताएका छन्।

स्थानीयले अनुरोध गर्दा समेत अटेर गरेपछि वडाध्यक्ष, नगरपालिका र प्रशासनलाई जानकारी गराएको स्थानीय पत्रकार यदु ढकालले बताए। उनले भने, ’सम्बन्धित निकायलाई पहिले नै जानकारी गराएपनि खासै चासो नदिएकाले समस्या निम्तिएको हो।’

प्रदेश र केन्द्र सरकारले हेरेन : मेयर

महामारी फैलन नदिन नगरपालिकाले आपतकालिन बैठक डाकि केन्द्र, प्रदेश र सहयोगी निकायसँग सहयोगको अपिल गरेको तर, प्रदेश र केन्द्र सरकारले ध्यान नदिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए।

प्रदेश र केन्द्र सरकारलाई क्याम्प नै खडा गरेर करिव २५ हजार व्यक्तिको कोरोना परीक्षण गर्न माग गर्दा पनि कुनै त्यस्तो जवाफ नआएको मेयर चौधरीले गुनासो गरे। उनले भने, 'नगरपालिकाले केन्द्र र प्रदेश सरकारलाई पत्र पठाएर संक्रमित क्षेत्र त्रिनपा ३ भुल्के, वडा नं. १, २, ६ र १२ का २५ हजार सर्वसाधारणको स्वाब परीक्षण गरिदिन अनुरोध गरेको छ।’

मस्जिद क्षेत्रका ३२१ को स्वाब संकलन

भुल्केमा मस्जिद आसपासका ३२१ जनाको 'थ्रोट स्वाब' नमुना संकलन गरिएको छ। काठमाडौं छाउनीबाट खटिएको नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले २५२ जनाको र प्रदेश सरकारको स्वास्थ्य टोलीले ६९ जनाको स्वाब संकलन गरेको हो।

संक्रमितहरू पुगेको आशंका गरिएका गाउँका व्यक्तिहरूको पनि स्वाब लिइने जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

कोरोना संक्रमित भारतीयको ‘ट्राभल हिस्ट्री’

मुस्लिम भारतीय धर्म गुरूहरूको साथबाट डिसेम्बर १० तारिख अर्थात मंसिर २४ गतेको रेलको टिकट भेटिएको छ। उनी जोगबनी नाका हुँदै नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीको विभिन्न मस्जिदमा धार्मिक प्रवचन दिँदै उदयपुरको भुल्के आइपुगेका हुन्। 

फागुन २५ गते उनीहरू सप्तरीको फत्तेपुरमा आएका थिए। त्यसपछि उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा फागुन २९ गते र चैत्र १ गते त्रियुगा नगरपालिका २ मोथियाही मस्जिद आइपुगेको खुलेको छ। उनीहरू चैत्र ५ गते भुल्के आएका थिए। 

जिल्ला नै सिल

उदयपुरमा नै २४ जना संक्रमितको संख्या पुगेपछि प्रदेश १ सरकारले उदयपुर जिल्लानै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाउने निर्णय गरेको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार साँझबाट जिल्ला नै सिल गरेर उच्च निगरानी बढाएको जानकारी दिए।

‘भुल्के क्षेत्रलाई यसअघि नै सिल गरिएको थियो, मंगलबारदेखि उदयपुर नै सिल गरिएको छ,’ मन्त्री घिमिरेले भने, ‘अब उच्च निगरानी गर्दै सबैको परीक्षण गछौँ।’ सिल गर्ने निर्णय कार्यान्वयनबारे बुझ्‍न प्रमुख जिल्ला अधिकारीलाई पटक-पटक सम्पर्क गर्दा टेलिफोन नै उठ्दैन।

नेपालमा थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या ४५ पुग्यो

उदयपुरमा कोरोना जाँच उपकरण अभाव, खोटाङमा हिँडडुलमा रोक

उदयपुरमा सुरक्षा सामग्री र जनशक्ति अभाव

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.