|

दमक : झापाको विर्तामोडमा जारी दोश्रो संस्करणको झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो।

विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा मनाङको जितका लागि  ६३ औं मिनेटमा ओलावालेले गरेको गोल नै निर्णायक भयो। घरेलु दर्शकको साथ पाएको झापाले खेल समय अवधिभर धेरै गोलको मौका पाए पनि गोल गर्न भने सकेन।

जितसँगै मनाङले ७ लाख रुपैयाँ प्राप्त गर्‍यो। त्यस्तै आयोजक झापा ११ ले उप विजेतामा चित्त बुझाउदै ३ लाख ५० रुपैयाँ पाएको छ। आयोजकले झापा गोल्ड कपको दुई वटा संस्करणमानै उप विजेतामा चित्त बुझाएको छ। यस अघि पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो।

फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे। प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए। उनले यामाहाको मोटरसाइकल प्राप्त गरे।

हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङले १५/१५ हजार रुपैयाँ पाए। उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ, उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपानेले पनि १५/१५ हजार रुपैयाँ पाए। उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ बने। प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.